‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने

‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने


काठमाडौं ।

नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पुर्याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राति ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन्’ कार्यकारी निर्देशक कँडेलले भने – ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’ हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्नेछ ।

‘सक्किगोनी’ को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ । आज आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजनबिच उक्त सम्झौता गरिरहेको छ ।

साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खवर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।

Logo