संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको आग्रह

संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको आग्रह


काठमाडौं ।

पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।

संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाइ छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् ।

पूर्वसभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनु पर्ने बताइन् । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद अनिवार्य रहेको बताइन् । कोरोना महामारीको समयमा सबै राजनीतिक गतिविधि एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धि थप छलफल र बहस गरेर अघि बढ्दा अझ राम्रो हुने उनले बताइन् । जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन् । विधि विधान अनुसार एउटा प्रक्रियामा अगाडि बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन् ।

उनले भनिन् , ‘‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधान अनुसार एउटा प्रकृयामा अगाडि बढ्नका लागि पनि संसद चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ । जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद अनिवार्य छ ।’’

पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजेको दृष्टान्त भएको बताए । तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ । अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् । आकस्मिक रुपमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्ताधारीको मनोपोलीको दृष्टान्त हो । संसदको अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ । आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन हो । संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ । समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’

सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकार गरे । संसदको क्रियाशिलता कायम राख्न तत्काल संसद बोलाउनु पर्ने पक्षमा कांग्रेस रहेको उनले बताए । सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।

Logo