महानगरको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडान

महानगरको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडान


काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निशुल्क चिकित्सालयको ६४ औँ वार्षिककोत्सवको अवसरका काठमाडौँ महानगरका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गरेका हुन् । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।  

महानगरका प्रमुख शाक्यले काठमाडौँमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गरेको बताए ।  “काठमाडौँ महानगर क्षेत्रभित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन”्, शाक्य थप्छन्, “भित्री सहरका चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका हुन्छन् ।” महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व रहेको उनले बताए ।

उनले जति सहयोग आयो त्यतिको काम गर्ने र बाँकी योजना अधुरो छाड्ने नगर्न पनि सुझाव दिएका छन् ।  चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि महानगरले जानकारी दिएको छ ।  

३ सय बिरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिँदै आएको सो २५ शैयाको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए ।  

यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेको डाक्टर श्रेष्ठले बताए । भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको भन्दै सेवा विस्तारका लागि महानगरबाट प्राप्त सहयोगले अगाडि बढ्न ठूलो हौसला प्राप्त भएको उनले बताए ।

Skip This
Logo