स्वास्थ्य विशेष: कसरी खराब हुन्छ कलेजो ? यस्ता छन् जोगाउने उपायहरु (भिडियोसहित)

स्वास्थ्य विशेष: कसरी खराब हुन्छ कलेजो ? यस्ता छन् जोगाउने उपायहरु (भिडियोसहित)


हाम्रो शरीरका हरेक अंगको आ–आफ्नै महत्व र विशेषता छन् । त्यसमध्ये कलेजोले हाम्रो शरीरको लागि कैयौं काम गर्छ । हाम्रो पेटको माथि दाहिनेतर्फ रहेको कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । जसको लम्बाई लगभग ६ इन्च हुन्छ । यो नै शरीरको सबैभन्दा ठूलाे अंग पनि हो, जसको तौल सवा किलोदेखि डेढ किलोसम्म हुन्छ ।

कलेजोले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषालु पदार्थ अलग गर्ने सम्मको काम गर्छ । यसले हाम्रो शरीरमा एक पटकमा २ सय काम एकैसाथ गर्न सक्छ । कलेजोमा खराबी भए पाचन यन्त्र चुस्त हुँदैन । शरीरमा विषाक्त पदार्थ फैलन्छ र विभिन्न अंगमा त्यसको सोझो प्रभाव पर्न थाल्छ । यसले क्रमशः मिर्गौंला, मुटु सबैमा असर गर्न सक्छ । जीवनशैलीमा साधारण परिवर्तन गरेर पनि कलेजो सम्बन्धि समस्याबाट जोगिन सकिन्छ ।

के काम गर्छ कलेजोले ?

हाम्रो शरीरमा कलेजोका काम अनगिन्ती छन् । यद्यपी यसको मूख्य काम भनेको पाचन नलिबाट आउने रगतलाई शुद्ध गरेर पुरै शरीरमा संचार गराउनु हो । त्यस क्रममा यसले पित्त उत्पादन गर्दछ । पित्त एक तरल पदार्थ हो, जसले पित्तथैलीमा जम्मा भएको चिल्लो तथा वोसोलाई पचाउन मद्दत गर्छ । साथै यसले रगत छान्न समेत मद्दत गर्छ । विशेषगरी कलेजोले कार्बोहाइड्रट्सलाई ग्लाइकोजनको रुपमा जम्मा गर्छ र आवश्यकता परेको बेलामा त्यसलाई ग्लूकोजको रुपमा निकाल्दछ ।

साथै हामीले खाएका कतिपय खराब तत्वलाई निष्कृय बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण हुनबाट तथा रक्तश्राव हुनबाट जोगाउँछ । कलेजोमा नै शरीरका लागि आवश्यक पर्ने भिटामिन, मिनरल्स भण्डारण हुन्छ । कलेजोमा समस्या भएमा कैयौं किसिमका रोग जस्तै फ्याटि लिभर, लिभर इन्फेक्सन्, हेपाटाइटिस, जन्डिस आदि रोगहरु हुन्छन् ।

कलेजोले शरीरको पोषणको लागि पनि काम गर्छ, हामी जब कुनै चीज खान्छौं,  त्यतिखेर पाचन प्रणालीले यसलाई तुरुन्तै सानो सानो टुक्रा बनाइदिन्छ । यसपछि यो आहार रगतको साहाराले हेपाटिक पोर्टल सिस्टमको माध्यमबाट कलेजोसम्म पुग्छ । कलेजोले भोजनमा पनि सबै पोषकतत्व जस्तै भिटामिन, मिनरल्स एन्टिअक्सिडेन्ट्स आदिलाई अलग अलग गर्दछ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अंगमा पुर्याउँछ ।

यसले केही पोषक तत्वहरुलाई भण्डारण गर्छ ताकी यसले ऊर्जाको तुरुन्त आवश्यकता हुने अवस्थामा प्रयोग गर्न सकोस् । यदि कुनै स्थितिमा कलेजोलाई काम गर्न समस्या आयो भने भोजनबाट लिइएको पोषक तत्व शरीरका सबै अंगले ठिकसँग प्राप्त गर्न सक्दैनन् । 

शरीरका विषालु पदार्थलाई अलग गर्छ

हाम्रो शरीरमा सबै रगत कलेजो भएर नै जाने गर्छ । रगतमा हुने विषालु तत्व र हानीकारक तत्व अर्थात टक्सिन्सलाई कलेजोले अलगअलग गरेर शरीरबाट बाहिर निकाल्ने भएकोले सबै रगत कलेजो भएर नै जाने गर्छ । शरीरमा खानपिनको क्रममा यस्ता कैयौं टक्सिनहरु प्रवेश गर्छन् । जसले शरीरलाई नोक्सान हुन सक्छ । यी टक्सिन शरीरमा रहनाले यसले कोषहरुलाई नोक्सान गर्छ । साथै प्रोटिन र हार्मोनलाई नोक्सान पुर्याउँछ ।

पोषक तत्वको भण्डारण कक्ष

कलेजोले आफूभित्र आइरन, आवश्यक भिटामिन वा मिनरल्स स्टोर गर्ने काम गर्छ । त्यसैले कलेजोले शरीरको सबै काम गर्ने तागत दिन्छ । कलेजोले आफूभित्र ऊर्जा उत्पादन गरेर राख्छ ।

कलेजोले मेटाबोलिज्म नियन्त्रण गर्छ

कलेजोको काम पुरै शरीरको मेटाबोलिज्मलाई नियन्त्रित गर्ने हो । हामीले जे खान्छौं वा पिउँछौं सबै यससम्म पुग्छ र फेरि कलेजोले त्यसबाट आवश्यक तथा अनावश्यक तत्वको रुपमा बाँडेर त्यसको प्रयोग सुनिश्चित गर्छ । कलेजोले आवश्यक तत्वलाई रगतको माध्यमबाट शरीरको अन्य भागसम्म तथा अनावश्यक तत्वलाई शरीरबाट बाहिर निकाल्नको लागि उपयुक्त अंगमा पुर्याउँछ । कलेजो बिना शरीरका अनावश्यक पदार्थहरुलाई बाहिर निकाल्न धेरै मुश्किल हुन्छ ।

किन खराब हुन्छ कलेजो ?

शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण कलेजो खराब त्यसबेला हुन्छ, जब हाम्रो खानपान र जीवनशैली प्रतिकूल बन्छ । युनिभर्सिटी अफ पेनसिल्वेनिया स्कुल अफ मेडिसिनको एक अध्ययन अनुसार हाम्रो खराब जीवनशैलीको सोझो असर कलेजोमा पर्छ । औसत ४० बर्षको उमेरसम्म कलेजोको प्रणालीमा २० प्रतिशतसम्म गिरावट आइसकेको हुन्छ । तर, शरीरमा धेरै मात्रामा टक्सिन भयो भने कलेजो खराब हुन्छ ।
 
कलेजो खराब हुने कारण

१. अत्याधिक मात्रामा वोसोयुक्त आहारको सेवनले रक्तनलीमा वोसो जम्ने गर्छ र कलेजोले सही तरीकाले काम गर्न नसक्दा शरीरमा विकार जम्मा हुने गर्छ । अझ खानामा पनि एनिमल फ्याटको अधिक सेवनले कलेजोको आर्टरी मोटो हुने गर्छ, जसका कारण पित्तथैलीमा पत्थरी हुने सम्भावना हुने गर्छ ।

२. धेरै गुलियो खानेकुरा कलेजोको लागि अनुकुल हुँदैन । कलेजोले गुलियो पदार्थ एवं चिनीलाई बोसोमा बदल्ने काम गर्छ । जब हामी धेरै चिनीजन्य खानेकुरा सेवन गर्छौं, कलेजोलाई दवाव पर्छ । र, अतिरिक्त वोसो कलेजोमा जम्मा हुन्छ । यसले कलेजोलाई खराब गर्छ ।

३. लामो समयसम्म वा धेरै मात्रामा पेनकिलर तथा पारासिटामोल सेवन गर्दा पनि कलेजो खराब हुन सक्छ । 
४. मदिराजन्य पदार्थ कलेजोको शत्रु नै हो । जब हामी मदिरा पिउँछौ, शरीरमा विषाक्त पदार्थ बढी जम्मा हुन्छ र शरीरमा टक्सिनको मात्रा बढ्छ । यसले कलेजोलाई नराम्ररी क्षति पु¥याउँछ ।
५. कम समय सुत्नु वा कम निन्द्रा लिनु पनि कलेजोको लागि राम्रो होइन । कम सुत्दा कलेजोले बोसोको प्रक्रिया पूर्णरुपले गर्न पाउँदैन, परिणामस्वरुप उक्त बोसो कलेजोमा जम्मा हुन्छ र यसले कलेजोमा नोक्सान पु¥याउँछ । 

६. चिकित्सकको परामर्श बिना सप्लिमेन्ट खासगरी भिटामिन ए लिनु कलेजोलाई हानी पु¥याउनु हो ।
७. कोल्ड ड्रिंकमा कृतिम चिनी र रंग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोजो जम्मा हुन्छ । रंगको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ ।
८. नियमित मात्रामा अस्वस्थ्यकर खानेकुरा जस्तै बर्गर, स्यान्डविच, पिज्जा जस्ता खानाले कलेजोको कार्यक्षमतामा ह्रास ल्याउँछ । शरीरमा न्युट्रिशनको कमी हुन्छ । यसले कलेजोमा असर पु¥याउँछ ।
९. चुरोट सेवन एवं धुमपानले कलेजोलाई सोझै क्षति गर्छ । चुरोटमा केहि टक्सिक केमिकल हुन्छ, जो कलेजोमा पुगेर तयसको सेल्सलाई नष्ट गर्छ ।

कसरी गर्ने कलेजो शुद्धीकरण ?

मानिस कलेजो बिना जीवित रहन सक्दैन । यो यस्तो अंग हो, जुन अलिकति पनि लापरवाही वा हेरचाहमा कमीका कारण सजिलै बिग्रन सक्छ । कलेजोलाई स्वस्थ राख्ने हो भने आहारविहारमा सावधानी अपनाउनै पर्छ, जीवनशैलीमा सात्विकता अँगाल्नै पर्छ । केही त्यस्ता खाद्य पदार्थका छन् जसले कलेजोलाई स्वस्थ राख्न मद्दत पु¥याउँछ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमशः सफा हुँदै जान्छ ।

बेसार
बेसारमा करक्युमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सही र सफा राख्न मद्दत गर्छ । बेसारले कलेजोको क्षतिग्रस्त कोषिकाहरूलाई पुनर्निर्माण गर्न सहयोगी हुन्छ । 

लसुन
लसुनमा सेलेनियम तत्व हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

अदुवा
अदुवामा एन्टी भाइरल, एन्टी इन्फ्लेमेटरी र एन्टी माइक्रोबियल गुण पाइन्छ । यसले कलेजोलाई सुन्निन दिँदैन र रक्तसञ्चार वृद्धि गरेर कलेजोबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ भने धमनीहरूमा रक्त प्रवाह ठीक तुल्याएर रगतमा कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्न सहयोग गर्छ ।

दालचिनी
यसमा ग्लुकोज र फ्रक्टोज तत्व हुन्छ, जो कलेजोलाई स्वस्थ राख्न आवश्यक हुन्छ ।

चुकन्दर
चुकन्दरले रगत निर्माण गर्छ । यो कलेजोको स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ । यसमा पर्याप्त मात्रामा फ्लेबोनाइड्स एवं बिटा क्यारोटिन पाइन्छ जसले कलेजोलाई राम्रोसँग काम गर्न सहयोग गर्छ । 

कागती
कागतीले सम्पूर्ण शरीरलाई फाइदा गर्छ । कागतीमा साइट्रिक एसिड र एन्टी अक्सिडेन्ट डी लिमोनेन भन्ने एक प्रकारको तत्व पाइन्छ जसले शरीरमा राम्रा एन्जाइमहरूलाई सक्रिय तुल्याउँछ । जसका कारण कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

ओखर
ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

स्याउ
स्याउमा प्रशस्त मात्रामा प्याक्टिन (एक किसिमको घुलनशील कार्बोहाइड्रेट) नामक तत्व र फ्लेवोनाइड्स पाइन्छ, जसले पाचन प्रणाली राम्रो बनाउनुका साथै कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । यसले कलेजोलाई बढी काम गर्नबाट जोगाउँछ । स्याउमा पाइने म्यालिक एसिडले रगतमा भएको कार्सिनोजनलाई टाढा राख्छ । दैनिक एउटा स्याउ खाँदा निकै राम्रो फाइदा पुग्छ ।

हरिया सागसब्जी
हरिया पात हुने सागसब्जी पनि कलेजोबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोगी हुन्छन् । यिनमा विद्यमान क्लोरोफिलले कलेजोमा हुने खतरनाक रासायनिक पदार्थहरूको प्रभावलाई कम गर्छ । पालुङ्गो, बन्दागोभी, करेला आदि सब्जीहरू पित्त संश्लेषणका लागि निकै फाइदाजनक मानिन्छन् ।

जैतुनको तेल
जैतुनको तेल मुटु तथा कलेजोको स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक मानिन्छ । नियमित एक चम्चा जैतुनको तेल सेवन गर्दा लिभर एन्जाइएम एवं बोसोयुक्त कोषिकाहरू राम्रा हुन्छन् र कलेजोमा रक्तप्रवाह सुचारु हुन्छ ।

ग्रीन टी
ग्रीन टीले शरीरको विषाक्त पदार्थ अथवा टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ । यसो हुने बित्तिकै कलेजोको काम स्वतः कम हुन्छ ।

कफी 
पर्याप्त कफी पिउनु कलेजोको स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक छ । मोटोपनाको समस्याले कलेजोमा समेत बोसो जम्ने समस्या अर्थात् फ्याटी लिभर डिजिजको खतरा बढ्छ तर कलेजोमा बोसो पदार्थ जमेर हुने यस्तो खतरालाई कम गर्नका लागि कफीको नियमित सेवन गर्नु आवश्यक छ । साथै हानिकारक तथा विषालु पदार्थहरु आन्द्राबाट सोसिएर रगतमा जाने र कलेजो खराब गर्ने जोखिम घट्दछ ।

Logo