कुन दलका नेता कहाँ के गर्दै छन् त ? [भिडियोसहित]

कुन दलका नेता कहाँ के गर्दै छन् त ? [भिडियोसहित]


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब १६ दिन मात्रै बाँकी छ । निर्वाचन आयोगले बिहीबारदेखि १ मंसिरसम्म प्रचारप्रसारका लागि समयावधि तोकेसँगै प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । कुन दलका नेता कहाँ के गर्दै छन् त ? 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा मतदाता भेटघाट र घरदैलोका लागि बुधबारै कैलालीको धनगढी पुगेका छन् । उनले सरकारी स्रोत–साधन प्रयोग नगर्ने गरी धनगढी हुँदै डडेलधुरा जान निर्वाचन आयोगबाट अनुमति लिएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली चुनावी सभाहरूलाई सम्बोधन गर्न शुक्रबार उपत्यकाबाहिर जाँदै छन् । उनी कम्तीमा २७ कात्तिकसम्म विभिन्न जिल्लाका ४० सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । दौडाहाको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । ओलीको दौडाहामा हेलिकोप्टर प्रयोग गर्न एमालेले बुधबार निर्वाचन आयोगबाट अनुमति लिइसकेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित छन् । बुधबार काठमाडौंमा भए पनि पार्टीको गोर्खा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा सहभागी भएर दाहाल पुनः केही दिन उम्मेदवार रहेको गोरखा २ मै केन्द्रित हुने माओवादीले जनाएको छ । नेता नेपाल रौतहटमै खटिएका छन् । मंगलबार धनुषाको जनकपुर पुगेका उनी क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र झाको निर्वाचन क्षेत्रमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी अझै केही दिन निर्वाचन क्षेत्र रौतहट १ र आसपासका जिल्लामा केन्द्रित हुनेछन् ।

सत्तारूढ गठबन्धनका प्रमुख नेताहरू भने कम्तीमा तीनदेखि चार दिन निर्वाचन क्षेत्रतिरै केन्द्रित हुने भएका छन् । माओवादीका कोषाध्यक्ष श्रीराम पौडेलले अहिलेसम्म माथिबाट चुनावी सभाको कार्यक्रम नराखेको, तर जिल्लाहरूले आवश्यक ठानेको अवस्थामा भने अध्यक्ष दाहाल सहभागी हुने बताएका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममै व्यस्त छन् । १९ कात्तिकमा काठमाडौं आउने यादवले २० कात्तिकमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी अन्य जिल्लाका चुनावी सभालगायतका कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन क्षेत्र महोत्तरी ३ को पूर्वनिर्धारित कार्यक्रममै व्यस्त छन् । उनी अझै केही दिन चुनावी क्षेत्रको जलेश्वर नगरपालिकासहित तीनवटा स्थानीय तहका वडामा घरदैलो कार्यक्रममै व्यस्त रहने कार्यक्रम छ ।

प्रचारका लागि क–कसले लिए हेलिकोप्टर प्रयोगको अनुमति ?
शीर्ष नेतालाई देशव्यापी प्रचारमा सहभागी गराउन एमाले र कांग्रेसले निर्वाचन आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन् । दुवै दलबाट आएको निवेदनमा बुधबार साँझ निर्णय गर्दै अनुमति दिइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ (च) र (छ) मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम बुझाउनुपर्ने र आयोगको अनुमतिमा उनीहरूले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । यसको खर्च दलले गर्न पाउने खर्चको सीमाभित्र पर्छ । एमालेले अध्यक्ष केपी ओली र कांग्रेसले सभापति शेरबहादुर देउवालाई मुख्य प्रचारक तोकेको छ । मुख्य प्रचारकलाई आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिन्छ । 

Logo