प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन

प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन आएको बताएका छन् ।

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विज्ञान र प्रविधिको विकास, सञ्चार माध्यममा आएको परिवर्तन, यातायातको साधनको सहजता लगायतका कारण अपराधका शैलीमा परिवर्तन आएको बताए । उनले यस्तो प्रवृतिले अपराध अनुसन्धान र अभियोजनमा जटिलता ल्याएको समेत बताए । उनले भौतिक उपस्थिति बिना एक देशमा रहि अर्को देशमा अपराध गर्ने प्रवृति बढेकाले थप चुनौति बढेको बताए ।

आधुनिक शैलीमा हुने अपराध नियन्त्रण गर्न परम्परागत अनुसन्धान र अभियोजनको शैली प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले विषयगत अनुसन्धान र अभियोजन गर्नुपर्ने आवश्यकता रहेको बताए । गृहमन्त्री थापाले सरकारले त्यसकोलागि ‘मुलुकी अपराध संहिता, २०७४’, ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ र ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४’ लगायतको कानून निर्माण गरेकाले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलले साझारुपमा कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकले लामो समयदेखि अपनाई आएको कनूनी प्रणालीलाई अधुनिकिकरण गर्ने उद्देश्य सहित जारी भएको मुलुकी अपराध संहिताहरुको कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सानालाई ऐन र ठुलालाई चैन भन्ने दिन सकिएको बताउँदै अव त्यस्तो अवस्थाआउन दिन नहुने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी र सरकारी वकीलहरुसँग भएका कानूनी र व्यवहारीक अनुभवहरूको विश्लेषण सम्मेलनमा भएकाले आगामी दिनमा न्याय निरुपणको प्रकृयालाई थप सहज र गतिशिल बनाउन सहायोग पुग्ने विश्वास व्यक्त गरे ।

सार्वजनिक शान्ति र व्यवस्था नै न्यायको आधार हो भन्ने मान्यता र विश्वास प्रकट गर्दै अपराध नियन्त्रणका लागि बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सहित सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरी मौलिक हकको कार्यान्वयन, स्वच्छ सुनुवाई र फौजदारी न्यायका मान्यता र सिद्धान्तको पालना गरी वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारीत अपराध अनुसन्धान र अभियोजन गर्ने प्रतिवद्धता सहित ३३ बुँदे घोषणापत्र समेत जारी गरेको छ । सम्मेलन पुष ४ देखि ६ गते सम्म काठमाडौंमा आयोजना भएको हो ।

Logo