महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी -दिनेश श्रेष्ठ

महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी -दिनेश श्रेष्ठ


नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । “यो क्षेत्रको  नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ  मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,” उनले भने । 

“यो क्षेत्रको  नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ  मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ”

हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरी यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशिल विषय बनेको पनि बताएका छन् । “देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु  जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन । नयाँ नेतृव चयनका लागि  सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुखः लाग्दो विषय हो,” उनले भने, “सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरोलागि पदभन्दा पनि  वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ । तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने  प्रयास गरेको छु ।”

सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफुले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । 

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए । सबै सदस्यहरुले पाउने सेवाहरु सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले महासंघले आफूहरु प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । 

जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको बताए । 

“साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ।”

“विगत छ सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ । जिल्ला नगरका साथीहरुले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो,” श्रेष्ठले भने, “जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ । त्यहाँका साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ।”

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए । कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् । 

पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए । व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाईरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

“लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै  गएको छ,” उनले भने, “यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी  दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउनका झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ ।”

महासंघ व्यक्तिका लागि नभई व्यक्ति महासंघका लागि हुनुपर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा महासंघको नेतृत्वमा बस्नेहरुको व्यक्तिगत लाभका लागि नभई सदस्यहरुको सामुहिक लाभ र समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाई छ । 

सरकार तथा राजनीतिक दलहरुमा सन्तुलित, निरन्तर र प्रभावकारी सम्बन्ध राख्न सक्रिय भूमिका निर्वाह गर्ने, महासंघलाई क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न सम्बन्धको विस्तार गर्नुका साथै राष्ट्रिय र  अन्तराष्ट्रिय वित्तिय क्षेत्र तथा दातृ निकायहरुसँग कार्यगत सम्बन्ध विस्तार गरि नेतृत्व श्रृङ्खलाको विकासमा आफुले पैरवीको काम गर्ने श्रेष्ठले बताए ।

महासंघले ठूला व्यवसायीको विषयमा वकालत गर्दै आएको बताउने श्रेष्ठ साना तथा आम व्यवसायीको विषयमा पनि महासंघ बोल्नुपर्नेमा जोड दिन्छन् ।

महासंघले ठूला व्यवसायीको विषयमा वकालत गर्दै आएको बताउने श्रेष्ठ साना तथा आम व्यवसायीको विषयमा पनि महासंघ बोल्नुपर्नेमा जोड दिन्छन् । “यस्ता विषय ठूलो सानो जे भए पनि महासंघले सैद्धान्तिक रुपमा उठान गर्नुपर्छ, त्यसमा मेरो जोडबल रहन्छ,” श्रेष्ठले भने ।

अर्थतन्त्र कमजोर अवस्थामा पुगेका बेला नीतिगत दरहरुलाई पनि खुकुलो बनाउनुपर्ने श्रेष्ठको भनाई छ । “अवस्था जटिल भयो भन्दै एक पछि अर्को गर्दै कडाईका साथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भिर बनेको छ,” उनले भने, “बैंक वित्तीय संस्थाका नीतिगत दरहरु हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुने मात्र नभई कारोबार चलायमा न बन्दा अहिलेको समस्या टर्न सक्छ । यसमा महासंघमा मेरो जोडदार पहल रहनेछ।”

यसका साथै जिल्ला नगरमा व्यवसाय सुरु गर्ने समयदेखि देखिने समस्या समाधानमा आफु लागिरहने पनि उनले बताए । महासंघ र स्थानीय निकाय, महासंघ र प्रदेश सरकार तथा महासंघ र केन्द्र सरकार मिलेर व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने गराउने सम्बन्धमा आवश्यक पहल गर्ने उनको भनाई छ । 

उद्योगी व्यवसायीका समस्या समाधानका लागि मात्र नभई नयाँ आउने उद्यमीलाई समेत आवश्यक सूचना दिन उद्योग वाणिज्य संघहरुलाई सबल बनाउन जरुरी रहेको उनको बुझाई छ । जिल्ला नगरका समस्या ठूला उद्योगी व्यवसायीका लागि सानो हुने गरेको भन्दै श्रेष्ठले यस्तो अवस्थाको अन्त्य गरिनुपर्नेमा जोड दिए । “ठुला व्यवसायीलाई सानो समस्याले खासै असर नगरे पनि साना तथा मझौला उद्यमीका लागि यस्ता समस्या ठूला हुन्छन् भन्ने कुरालाई बुझिदिनु पर्छ,” श्रेष्ठले भने । 

देशैभर सञ्जाल रहेको उद्योग वाणिज्य महासंघले एक स्थानको उत्पादन सहज रुपमा अर्को स्थानका बिक्री गर्ने वातावरणको विकास मात्र गर्न सक्ने हो भने ठूलो काम हुने बताएका उनले आफुले त्यसका लागि तिब्र लबिङ गर्ने बताए ।

सरकारी संयन्त्रका कर्मचारीले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिएका श्रेष्ठले ऐन कानुन उद्योगी व्यवसायीलाई नियन्त्रण गर्ने किसिमको हुने गरेको भन्दै त्यसमा सहजीकरण गर्न पनि पहल गर्ने बताए । छुट्टै चेम्बर ऐन, क्रेडिट ऐन, व्यवसायीको लगानी सुरक्षित हुने गरी सुरक्षित कारोबार ऐन जरुरी रहेको उनको भनाई छ । 

“अहिले कारोबार ऐन छ तर, त्यसका केही प्रावधानहरु गलत छन् । राज्य संयन्त्रका कर्मचारीले हामी प्रति देखाउने ब्यवहार गलत छ । यसकारणले पनि व्यवसायीहरुले नचाहेर पनि गलत बाटो अपनाएर व्यवसाय गर्नुपर्ने अवस्था छ । यसको अन्त्य हुनुपर्छ,” श्रेष्ठले भने ।

“अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ त्यसले उद्योगी व्यवसायी समस्यामा पर्ने मात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाईरहेको छ । यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ ।”

करका दरहरु धेरै हुँदा चोरी पैठारी बढिरहेको श्रेष्ठको बुझाई छ । कोरोनाकाल पछि चोरी पैठारी दिनदिनै बढिरहेको सन्दर्भमा विभिन्न उपकरणका माध्यमबाट चोरी पैठारी रोक्नुपर्ने उनी बताउँछन् । “अहिले जुन किसिमले चोरी पैठारी बढिरहेको छ त्यसले उद्योगी व्यवसायी समस्यामा पर्ने मात्र नभई राज्यले समेत ठूलो मात्रामा राजश्व गुमाईरहेको छ । यसलाई नियन्त्रण गर्न महासंघ नेतृत्वले पनि पहल गर्नुपर्छ,” श्रेष्ठले भने ।

करसँगै भन्सार, रोजगार तथा बैंकका सम्बन्धमा धेरै समस्याहरु रहेको भन्दै श्रेष्ठले यस्ता समस्याहरुलाई समाधान गर्नका लागि महासंघमा आफुले पहल गर्ने बताए । समग्र अर्थतन्त्रलाई चलायमान बनाउन जिल्ला नगरमा सञ्चालित उद्योग व्यवसायको ठूलो योगदान रहेको बताउने श्रेष्ठ उनीहरुको राय र सुझाव लिएर महासंघ अघि बढ्नुपर्नेमा जोड दिन्छन् । यसका लागि अहिलेको कार्यकालमा आफूले धेरै प्रयासहरु गरेको र आगामी दिनमा झनै तिब्र रुपमा लबिङ गर्ने उनले बताए ।

सवल, सक्षम र समृद्ध जिल्ला नगर उद्योग वाणिज्य संघको  निर्माण गर्ने प्रतिबद्धता पनि श्रेष्ठले जाहेर गरेका छन् ।

Logo