धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश

धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश


धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ।

धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला बिहीबार जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो।

धादिङ उद्योग वाणिज्य संघले चैत १० देखि १२ गतेसम्म २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन गर्न सूचना जारी गरिसकेका अवस्थामा  चुनाव सार्न लागिएको भन्दै एमाले र कांग्रेस निकट ब्यवसायीहरु चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेका थिए। यसरी अदालत जानेमा एमाले निकट व्यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठ रहेका छन् । 

सूचना जारी भएसँगै धादिङ उद्योग वाणिज्य संघको चुनावको चहलपहल ब्यापक  भैसकेको थियो। कांग्रेस र एमालेको एउटा गठबन्धन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अर्को गठबन्धनबीच चुनाव हुने तयारी छ।

अधिवेशनमा कांग्रेस एमाले गठबन्धनले विष्णुप्रसाद थपलियालाई र माओवादी केन्द्र र एकीकृत समाजवादीले पूर्वअध्यक्षसमेत रहेका बोदनाथ दुवाडीलाई अध्यक्ष पदमा अगाडि सारेका छन्।

Logo