माओवादी नेता महरा पनि सुन तस्करीकाे अनुसन्धानमा तानिने

माओवादी नेता महरा पनि सुन तस्करीकाे अनुसन्धानमा तानिने


राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच बसेको बैठकले माओवादी नेता कृष्णबहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानविन गर्ने सहमति जुटाएका छन् । 

बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखीअवैध पैठारी गरिएको घटनामा पनि छानविन गर्ने सहमति जुटाएको हो । 

इलेक्ट्रिक सिगरेट भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिदै आएको छ । चिनियाँनागरिक लीहानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । 

भेपभन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो । स्थानीय बजारको भेप लगेर फेर्नुअघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी,सुन ल्याउने चिनियाँनागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ । 

यस प्रकरणमा महराको नाम बारम्बार जोडिँदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन् ।

Logo