‘शान्तिपूर्ण र निर्धक्क तरिकाले मतदान गरेर फर्कनसक्ने वातावरण बनाएको छौं’ -आईजीपी अर्याल

‘शान्तिपूर्ण र निर्धक्क तरिकाले मतदान गरेर फर्कनसक्ने वातावरण बनाएको छौं’ -आईजीपी अर्याल


यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । 

मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । 

निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा हामीले निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा शसस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः 

निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?

-निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकाले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुनजुन कुराहरु हामीले गर्नुपर्ने भन्नेछ, जस्तोः निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा । समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडी, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिसक्यो ।

निर्वाचनका लागि कस्ता खालका चुनौती आँकलन गरेका छौँ ? कसरी विश्लेषण गरेका छौँ ?

-सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा भयरहीहत रुपमा सम्पन्न ग-यौं । त्यसको अनुभवका आधारमा यसपालीको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतीहरुलाई मैले बनाएको छु । आन्तरिक र वाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दाखेरी सम्पूर्ण सिमा नाकाहरु निर्वाचनको दिनको ७२ घण्टा अगाडिबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । त्यो अवधिमा सीमा नाकाहरु बन्द गर्नुपर्ने र छिमेकी देशहरुबाट हाम्रो देशमा मान्छेहरु आउने क्रमलाई रोक्नुपर्ने, आवत्जावत् बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ । त्यो अवस्थामा मान्छेहरु आउँदाखेरी साना हतियारहरु लिएर आउने, अपराधिक मनोवृत्तिका मान्छेहरु भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्नसक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशको सुरक्षाकर्मीहरु सँग समन्वय गरेर । उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरु छन् भने त्यो २२० वटा बोर्डर आउटपोष्टहरु हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ । 

कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरु राखेका थियौँ । त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरुको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा वाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ । मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रुपमा, भयरहीत, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्था सम्मलाई उहाँहरुलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पु¥याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरु राखेर मतदातालाई ढुक्कसाथ निर्वाचन गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।

आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण विथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?

-निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसावले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिमपनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरु हुनसक्छ ? त्यहाँ दुई किसिमको घटनाहरु हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरुले गर्नसक्ने घट्ना हुनसक्छ भने अर्को राजनीतिक दलहरुको आपसी झडपको घटनाहरु पनि हुनसक्छन् । यो दुईवटै घटनाहरुलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।

मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरुको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?

-मतदान सकिएपछि मतपेटिकाहरुलाई सुरक्षितका साथ मत गणनास्थलसम्म पु-याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरुलाई सुरक्षितसाथ मतगणनास्थल सम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरु अपुग भयो भनेपनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुनेगरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रुपमा यहाँले मतदाताहरुलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?

-हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनैपनि किसिमको कमी कमजोरी हुन्न । मतदाता महानुभावहरु यहाँहरुले कुनैपनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनुहुने छैन । ढुक्कका साथ मतदान गर्ने वातावरण हुन्छ । त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागि हुनका लागि म यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।

Logo