थप उपलब्धिका लागि फेरि माओवादीसँग मिल्नुपर्ने स्थिति आयोः नेसपा सहअध्यक्ष श्रेष्ठ

थप उपलब्धिका लागि फेरि माओवादीसँग मिल्नुपर्ने स्थिति आयोः नेसपा सहअध्यक्ष श्रेष्ठ


नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको पहिलो पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ । सोमवार (भोलि)सम्म चल्ने सो बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको समाजवादी ध्रुवीकरण आजको आवश्यकता नाम दिइएको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकले मुख्यतः नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने विषयलाई टुंग्याउने छ ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच हुन लागेको एकताको सम्बन्धमा हामीले नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेका छौं । प्रश्तुत छ, श्रेष्ठसँग गरिएको उक्त कुराकानी-

नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकता गर्ने तयारी भइरहेको छ, माओवादीहरुले वाम एकता गर्ने भनिरहेका छन्, तपाईहरु समाजवादी केन्द्र बनाउने भनिरहनुभएको छ, कुन एकता गर्न लागेको हो प्रष्ट पारिदिनुस् न, एकताको तयारी कहाँ पुग्यो, कहिलेसम्म एकता भइसक्छ ?

-पहिलो कुरा, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण गर्ने हो । र जहाँसम्म नेकपा (माओवादी केन्द्र) ले अहिले वाम एकता, कम्युनिष्ट एकताको लागि भनेर पहलकदमी शुरु गरेको भनेर बाहिर निर्णयहरु सार्वजनिक भएका छन् । त्यो उहाँहरुले वृहत्तर ढंगबाट नेपालको सबै कम्युनिष्टहरुलाई एउटै ठाउँमा अथवा एउटै पार्टीमा ल्याउन सक्दा राम्रो भन्ने हिसावले गर्नुभएको होला । मेरो बुझाइमा कस्तो हो भने विचार मिल्ने, राजनीति मिल्ने, कार्यक्रमहरु मिल्ने, कार्यदिशा मिल्ने पार्टीहरुकाबीच अलग अलग चुलाचौका लगाइरहनु जरुरी छैन । उनीहरुको बीचमा तत्काल पार्टी एकीकरण नै गरेर जाने र जसको अहिले मुद्दा मात्रै मिलिराखेको छ, तर आधारभुत रुपमा विचारका कुरा, राजनीतिका कुरा, अरु कार्यक्रमका कुराहरु छलफल गर्नु आवश्यक छ । 

अहिले एउटा सामान्य लुज फोरम बनाउने र त्यो लुज फोरममार्फत छलफल गर्दै जाने र छलफल गर्दै गइसकेपछि भोलि हामीले जो अहिले समाजवादी केन्द्र निर्माणको कुरा गरेका छौँ । त्यो वातावरण बन्न त्यसले एउटा सहजीकरण गर्छ जस्तो लाग्छ । र सँगसँगै यहाँले जुन कुरा सोध्नुभएको छ कहिलेसम्म हुन्छ ? नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बीचको एकता छिटोभन्दा छिटो हुन्छ । किनकी नेकपा (माओवादी केन्द्र) ले वार्ता समिति निर्माण गरिसक्नुभएको अवस्था छ । नेसपाको पनि यतिखेर राजनीतिक समितिको बैठक बसिराखेको छ । त्यो राजनीतिक समितिको बैठकमा एउटा योजना यो पार्टी निर्माण सम्बन्धी पनि छ । त्यसो भएको हुनाले हामीले पनि पार्टीलाई एकीकरण गर्नको निम्ति एउटा वार्ता समिति हामी पनि बनाउँछौँ । यसरी दुईवटा वार्ता समितिका बीचमा बसेर आवश्यक गृहकार्य हुन्छ । सो आवश्यक गृहकार्य दुवै पार्टी कमिटीमा बुझाइसके पछाडी छिटोभन्दा छिटो निस्कर्षमा पु-याउँछौँ यो पार्टी एकतालाई ।

विगतमा माओवादी केन्द्रले पनि र तपाईहरु आवद्ध पार्टीले पनि दुई अध्यक्ष बनाएर पार्टी एकता गरेको थियो, दुई पार्टीबीच कसरी एकता गर्ने सोच्नुभएको छ ? दुई अध्यक्ष अथवा एकै अध्यक्ष ? डा. भट्टराईको भुमिका र वरियता के रहन्छ ?

-यो त गृहकार्य गर्नका लागि जुन टिम बनिराखेको छ नि उहाँहरुको बीचमा । अर्थात दुईवटा जुन वार्ता समिति छ, उनीहरुको बीचमा औपचारिक ढंगले विचार, राजनीति, कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र व्यक्तिहरुको व्यवस्थापनको यि सबै कुराहरु त उहाँहरुले छलफल गर्नुहुन्छ नि । उहाँहरुले गृहकार्य गर्नुहुन्छ । त्यहाँ प्रचण्डको के हुने ? बाबुरामको के हुने ? अरु के हुने ? त्यो त समग्रमा उहाँहरुले गृहकार्य गर्नुहुन्छ । गृहकार्यपछि आवश्यकता अनुसार केन्द्रिय समिति वा राजनीतिक समितिको बैठक बस्ला वा पदाधिकारीको बस्ला र टुंग्याउँछ ।

माओवादी केन्द्र र नेसपाको एकीकरणपछि कम्युनिष्ट पार्टी बन्ने हो कि ? समाजवादी केन्द्र बन्ने हो कि ? अथवा अरु नै नाम राखेर जाने हो ? 

-अहिले हामीले वैचारिक रुपमा के भनिराखेका छौँ भने एकातिर साम्यवादी दर्शन बोकेका कम्युनिष्ट पार्टीहरु छन् । अर्कोतिर नवउदारवादी लोकतान्त्रिक विचार बोकेका पार्टीहरु पनि छन् । र यी दुईवटै पार्टीहरु नेपालमा कुनै न कुनै ढंगले पटक पटक सत्तामा पनि गए । पटकपटक उनीहरुले यो देशमा राज्य पनि चलाए । संसारभरको इतिहासमा पनि त्यस्तै हामीले देख्नसक्छौँ । उनीहरु दुईवटै पार्टी या दुईवटै दर्शनबाट गाइडेड पार्टी र उनीहरुले चलाएको सत्तामा समस्याहरु त देखियि नि त । पछिल्लो चरणमा आउँदाखेरी हामीले यसको समाधान भनेको साम्यवाद या उदार लोकतन्त्रको दार्शनिक, कार्यक्रमिक हिसावबाट समाधान भनेको त्यो समाजवाद हुन्छ भनेर भनेका छौँ । अहिले हामीले चाहेको कुराचाहीँ समाजवाद अर्थात समाजवादी केन्द्र बनाउने नै हो ।

माओवादी केन्द्र र नेसपाका बीचमा एकता गर्नैपर्ने जड के हो विचार, कार्यक्रम अथवा सिद्धान्तको हिसावले ? एकीकरण गर्नैपर्ने बिन्दुमा किन आइपुग्यो ?

-यसका दुईवटा पाटाहरु छन् । एउटा पाटो भनेको मैले अघि पनि भने पार्टी भन्ने बित्तिकै विचार, राजनीति, समाजशास्त्र, राजनीतिशास्त्रको कुरा आउँछ । सँगसँगै संस्कृति र मनोविज्ञानका कुरा पनि आउँछ । यि सबै अहिले हामीले हेर्दाखेरी नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले जुन औपचारिक रुपमा अंगिकार गरिराखेको छ, त्यसमा खासै तात्विक अन्तरहरु हामीले देखिराखेका छैनौँ । जस्तो दार्शनिक रुपमा हेर्दाखेरी हामीले पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मानेकै छौँ । नेकपा(माओवादी केन्द्र)ले पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मानेकै छ । त्यसलाई अझ समृद्ध गर्ने र मानवतावादसम्म पु-याउने हामीले लक्ष्य राखिराखेका छौँ । त्यस्तै राजनीतिक कार्यक्रमका हिसावले, एजेण्डाको हिसावले हेर्दाखेरी पनि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको कुरा गरेका छौँ । उहाँहरुले पनि गरिराख्नुभएको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा गरेका छौँ, उहाँहरुले पनि गरिराख्नुभएको छ । अरु थुप्रै राजनीतिक एजेण्डाहरु, मुद्दाहरुमा पनि समानता छ । सँगसँगै हामीले प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्त गर्नको निम्ति अलग अलग बसेर होइन, एकठाउँमा बसेर त्यो सम्भव हुन्छ भन्ने कुराको बुझाइमा उहाँहरुको पनि र हाम्रो पनि समानता छ । त्यसले गर्दा वैचारिक, राजनीतिक, सांगठानिक आदि हिसावले पनि हामी त्यतिधेरै फरक छैनौँ । जसले गर्दा हामी किन नमिल्ने भन्ने एउटा यो पाटो हो । 

दोस्रो पाटो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणामले हिजो दशवर्ष जनयुद्ध सञ्चालन गरेको नेकपा(माओवादी) या जनयुद्ध, जनआन्दोलन, मधेस बिद्रोह लगायत जतिपनि आन्दोलनहरु छन् । क्रान्ति या युद्धहरु छन् । त्यसको एकमुष्ट प्राप्ति भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । त्यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै यतिखेर आउँदाखेरी निर्वाचनको परिणामले संकटमा पर्ने त होइन भन्नेखालको एउटा सोचनिय स्थितिमा सबैलाई पु-याएको छ । किनकी हिजोका संर्वद्धनवादी शक्ति ०७४ सालको निर्वाचनमा राप्रपा १ सिट ल्याएर थ्रेसहोल्ड कटाउन नसकेर अस्तित्व संकटमा परेको थियो त्यो अहिले १४ सिटसहित पुनर्जागृत भएर आइराखेको छ । र हामी यो प्रदेशको संरचना मान्दैनौँ भनेर प्रदेशमा १ जनापनि सांसदको उम्मेदवार नदिने रास्वपा पार्टी अहिले २० सिट लिएर आइराखेको छ । अरु पनि केही त्यस्ता पार्टीहरु छन् । हिजो जो लडेका थिए 

एकातिर नेकपा (माओवादी केन्द्र)को कुरा गर्दाखेरी हिजो जनयुद्ध लडेको हो नि । यो देशमा गणतन्त्र, संघीयता ल्याउन सबभन्दा बढी रगत, पसिना बगाएको पार्टी भनेको त नेकपा(माओवादी केन्द्र) हो नि । त्यो पार्टीको भोट र रास्वपा पार्टीको भोट अहिले आउँदाखेरी केही हजार मात्रै फरक छ । उत्ति उत्ति नै छ क्या । यो कसरी भयो ? अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड काट्न नसकेको राप्रपा अहिले करिब ६ लाख भोट लिएर आइराखेको छ, यो त गम्भिर कुरा हो नि । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनको निम्ति जुन जुन शक्तिहरु मिलेर लडेका थिए, ति शक्तिहरु फेरि आज एक ठाउँमा आउनुपर्ने, यो संविधानको रक्षा गर्नुपर्ने, प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्ने, र यो संविधानको सफल कार्यान्वयन गर्दै बाँकी उपलब्धिहरु प्राप्त गर्नको निम्ति फेरि मिलेर जानुपर्ने जुन स्थिति आयो त्यसले गर्दा विचार मिल्नेहरु जति अहिले पार्टी एकता गरेर जाऔँ । नमिल्नेहरुका बीचमा पनि एउटा राष्ट्रिय सहमति कायम गर्दै, लुज फोरमहरु बनाउँदै प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जाऔँ भन्ने स्प्रिटका साथमा हामीले माओवादी केन्द्रसँग पार्टी एकताको पहल गरिराखेका हौँ ।

पार्टी एकता गर्दैगर्दा राजकीय पदहरु, संवैधानिक पदहरुमा तपाईंहरुको माग अथवा दाबी के छ ?

-हामी एकल चुनाव चिन्हमा गोलाकारभित्रको हँसियाहथौडा जुन नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह हो । त्यो चुनाव चिन्हमा हामी चुनावी प्रतिस्पर्धामा गयौँ । हामी केही संघमा र केही प्रदेशमा हामीले चुनाव पनि जित्यौँ । म स्वयं पनि वागमती प्रदेश सभामा सिन्धुलीबाट निर्वाचित भएको छु । गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हबाट नै । कानूनी हिसावले अहिले गोलाकारभित्रको हँसिया हथौडा माओवादी केन्द्रको भएको हुनाले मैले त्यो चुनाव चिन्हबाट लडेको हुनाले म बागमती प्रदेशमा वागमती प्रदेश सभाको सदस्य हुँदैगर्दा वागमती प्रदेश सभाको संसदीय दलको सदस्य माओवादी केन्द्रको म हो । मलाई ह्वीप लाग्छ । कानूनी हिसावले यो छ । त्यो भएको हुनाले स्वतः राजकीय पदको बाँडफाँटमा मेरो आफ्नो पनि त्यहाँनेर अथवा हाम्रो पार्टीको पनि त्यहाँनेर हक लाग्ने कुरा,अधिकार हुनेकुरा स्वतः हो ।

अध्यक्ष डा. बाबुराम भट्टराईलाई कुनै संवैधानिक पदमा लान खोज्नुभएको हो ?

-यो हामीले भनेर मात्रै हुँदैन । अहिले जम्मा सातवटा दलहरु एकठाउँमा उभिएर गठबन्धन बनाएर अहिलेको सरकार बनिराखेको छ । हिजो विशेष गरेर पाँच दलको बीचमा गठबन्धन गरेर भएको थियो । अहिलेको गठबन्धनमा केही दलहरु थपिने सम्भावना अझैपनि छन् । जसले गर्दाखेरी अब यो राष्ट्रिय रुपमा नै संवैधानिक पदहरुको बाँडफाँटमा राष्ट्रपति कसको भागमा पर्ला ? उपराष्ट्रपति कसकोमा पर्ला ? सभामुख, उपसभामुख कसकोमा पर्ला ? मन्त्रीमण्डल बिस्तार हुन बाँकी छ । सात प्रदेश प्रमुख, सात मुख्यमन्त्री बाँकी छ । धेरै चिजहरु गर्नु छ नि त । त्यसले गर्दा अहिले व्यक्तिगत रुपमा कहाँ के कुन पार्टीको भनेर भन्नुभन्दा गठबन्धनको बिचमा छलफल हुन्छ । गठबन्धनको छलफलबाट कुन पद कुन पार्टीको भागमा रहन्छ ? त्यसपछाडी बल्ल व्यक्तिको पनि कुरा आउँछ ।

तपाईं वागमती प्रदेश सभा सदस्य हुनुहुन्छ, तपाई सरकारमा जाने, नजाने सम्बन्धमा तपाईको इच्छा, चाहाना अथवा दाबी चाहीँ के हो ? 

-सरकारमा स्वतः जाने नै हुन्छ । किनकी सरकारमा जाने या मुख्यमन्त्री, मन्त्री बन्ने भनेको जनतालाई डेलिभर गर्नका लागि हो । यहाँको विकास निर्माणको लागि हो । त्यो सांसद मात्रै भएर गर्नुभन्दा मुख्यमन्त्री या मन्त्री कार्यकारी पदसहित गर्दाखेरी बढी गर्न सकिन्छ । त्यसो भएको हुनाले नजाने भन्ने कुरा त भएन । त्यहाँ जाने नै हो । तर एउटा जटिलता व्यक्तिगत रुपमा मेरो हकमा कस्तो भयो भने हामीले पार्टी एकता बल्ल गर्नेतिर गइराखेका छौँ । त्यो प्रक्रिया अगाडी बढीराखेको छ । हिजो हामीले एकल चुनाव चिन्ह लिएर गयौँ । तर संसदीय दल निर्माणको हिसावले चाहीँ कस्तो हुँदोरहेछ भने म त नेपाल समाजवादी पार्टीको एउटा सहअध्यक्ष भएँ नि । 

नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्हबाट लडेपनि पार्टी त मेरो अलग छ । अहिलेको कानूनले के गर्दोरहेछ भने अलग दलको सदस्य अर्को अलग दलको संसदीय दलको नेता बन्न नमिल्दो रहेछ । त्यो भएको हुनाले मैले माग गरेको अथवा दाबी गरेको त हो । तर दाबी गर्दापनि कानूनी हिसावले नै जटिलता भएर नमिल्ने भएपछि मैले कि त कानून बदल्नतिर जानुप-यो । कि होइन भने अहिले छोडिदिनु प-यो । त्यसकारणले गर्दाखेरी अहिले म संसदीय दलको नेताबाट पछि हटेको छु । अरु विषयमा फेरि छलफल हुँदै जान्छ ।

Logo