1
1
केन्द्रबिन्दु संवाद

माओवादीका उपमहासचिव पोखरेल भन्छन्- ‘एमालेसँग पुनः एकता पनि हुनसक्छ’

1
1
1

नेकपा (माओवादी केन्द्र)ले वाम एकताको लागि भन्दै एक कार्यदल गठन गरेको छ । शनिवार पार्टीको केन्द्रिय कार्यालयको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यहरुमा महासचिव देव गुरुङ र उपमहासचिवहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् । 

माओवादी केन्द्रले चाहेको वाम एकता कस्तो हो ? किन आवश्यक छ ? कोको सँग एकता हुन्छ र कहिलेसम्म एकता भइसक्छ लगायतका विषयमा हामीले कार्यदलका एक सदस्य गिरिराजमणि पोखरेलसँग कुराकानी गरेका छौं । प्रश्तुत छ, पोखरेलसँग गरिएको कुराकानीको सम्पादीत अंश-

कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो ?

-पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहहरुको बीचमा पहिले पनि वार्ता टोली थियो । एकपटक देव गुरुङजीको नेतृत्वमा थियो । पछि फेरि महराजीको नेतृत्वमा थियो । चुनाव अगाडी पनि थुप्रै समूहहरुसँग वार्ता ग-यौँ हामीले । अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडी बढ्ने वामपन्थी पार्टीहरुको बीचमा एउटा नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ । हाम्रो टोलीको बैठक बसिसकेको छैन । पार्टीले त्यो जिम्मेवारी त दियो । पहिले हामी आफैँ एकचोटी बस्छौँ । कार्ययोजना बनाउँदछौँ । त्यसो गर्दाखेरी चाहीँ कतिपय पार्टीहरुसँग हाम्रो विगतदेखि नै छलफलहरु चलिराखेको छ, उहाँहरुले पहिलो प्राथमिकता पाउनुहुन्छ । त्यसपछि क्रमशः संसदभित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरुसँग हामी छलफल गर्छौं ।

अहिले तुरुन्तका तुरुन्तै वाम पार्टीहरुको एकता गर्नुपर्ने आवश्यकता तपाईहरुलाई किन प-यो ? विगतमा तपाईहरुले गरेको एकता (एमालेसँग) त असफल भएको थियो नि ?

-असफल नभनौँ । एउटा अभ्यास गरिएको थियो । दृष्टिकोणगत कुराहरु पनि भए । विधिगत कुरा पनि भए । जनताले एकता गर भने । नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ । त्यसकारण त्यो अभ्यासहरु विफल भएका छन् । तर फेरि नेपालको समकालिन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरेपनि मिलेर जानुको अर्को विकल्प छैन । त्यसकारणले एकप्रकारले हामी जनताको अधिकारको लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनि अगाडी बढेका छौँ । हामी जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडी बढेका छौँ । मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ । एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन । अर्कोतर्फ बामपन्थीहरुको बीचमा पनि सहकार्य, कार्यगत एकता, एकिकरणका थुप्रै श्रृङ्खलाहरु पनि चलेका छन् । पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ । त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडी बढौँ भनेर सोचिएको हो । 

पार्टी एकता गर्न नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहीँ तपाईहरुको पहिलो प्राथमिकता हो त ?

-मोटो अर्थमा हामी सबै वामपन्थीहरुसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं । छलफल, संवाद गर्छौं । त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी त हामी मिलेरै चुनाव लडेका हौँ । अहिले एउटै संसदीय दल अन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ । पछिल्लो बेला पनि डा. साबले भेटघाटहरु तिब्र ढंगले अगाडी बढाउनुभएको छ । हाम्रो यो शिर्ष नेताहरुको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो । अर्को कुरा चुनाव अगाडी नै हामी एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो । उहाँहरुले पनि पार्टी एकता लगायतका विषयहरुमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ । स्वभाविक ढंगले प्राथमिकतामा उहाँहरु परिहाल्नुहुन्छ ।

अनि एमाले ?  

-अब हामीले छलफल गर्छौं । एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ । उहाँहरुको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो । हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन । पहिले पनि नेकपा बनायौँ । अस्वभाविक ढंगले त्यो टुटेको थियो । संसदबाहिर भएका थुप्रै पार्टीहरु हुनुहुन्छ, व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुसँग पनि हामीले छलफल गर्नुपर्छ । त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउनदिनुस्, प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ ।

अब पार्टी बनाउँदा कम्युनिष्ट पार्टी भनेरै बनाउने हो कि बाहिर कहिलेकाही चर्चा सुनिने जस्तो समाजवादी केन्द्र भनेर बनाउने हो ?

-वार्ता टोलीमा भएको कारणले अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन । किनभने हाम्रो पनि छलफल बाँकी छ । हामीले कम्युनिष्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरुको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहीँ हामी प्राथमिकतामा राख्छौँ ।

सरकारले पूर्णता पाइसकेको छैन, तपाईहरु वाम पार्टीहरुका बीचमा एकता गर्नुपर्छ भनेर लाग्नुभयो, संसदीय अंकगणितमा दुई, चार सिटको लोभमा, सरकारलाई स्थायित्व दिन सकिन्छ कि, प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ कि भन्ने लोभले हतारो गर्नुभएको हो ?

-यो शब्द उपयुक्त भएन । लोभ त भइहाल्छ नि अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्ण अवधि अगाडी बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो । त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितिय हिसावमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजो मात्रै नेतृत्वसहित बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसैपनि हस्ताक्षर गर्नु नै भएको छ । अरुलाई पनि आह्वान गर्ने, अपील गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ । अर्को कुरा यो तात्कालिक मात्र कुरा होइन । चुनावको जनादेशलाई ठिक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलहरुप्रति विकर्षण पनि पैदा छ । अरु शक्तिहरु पनि देखापरेका छन् । हामीले एउटा सहि दिशामा समाजलाई अगाडी बढाउने हो भने हामीले वाम,लोकतान्त्रिक, देशभक्तहरुको धारलाई मजबुत बनाउनेगरी पनि त काम गर्नुपर्ने हुन्छ । त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो । दीर्घकालिन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ । र चुनाव अगाडी गरौँ भनेका कुराहरु चुनाव पछाडी स्वभाविक ढंगले अब प्राथमिकतामा आइप-यो ।

तपाईहरु वामपन्थी पार्टीहरु बीचमा एकता हुनेभयो, प्रचण्डको नेतृत्वमा गर्नुहुन्छ अथवा अरु नै नेताको नेतृत्व स्वीकार्नुहुन्छ ?

-अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन । समाजवादलाई केन्द्रबिन्दुमा राखौँ पहिलो कुरा । दोस्रो कुरा तत्कालिन राजनीतिलाई कसरी अगाडी बढाउने भन्ने कुरा पनि गरौँ । दीर्घकालिन ढंगले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ । नेतृत्वको कोणबाट पनि छलफल हुन्छ । अहिलेको आन्दोलनलाई अगाडी बढाउने एउटा मुख्य नेता भएको कारणले गर्दाखेरी नेतृत्वको ठिक ढंगको स्थापनाको प्रश्न हाम्रो अगाडी आइपुग्दछ । हामीले एक ढंगले उपाय खोजि ग-यौँ विगतमा । दुईदुई वटा अध्यक्ष बनाएर एउटा प्रयो ग-यौँ । अरु अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नभएका अभ्यासपनि ग-यौँ । हामी टुट्यौँ पनि अहिले फेरी परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो । हामीले अहिले यो शर्त मानेर मात्र एकता हुन्छ भनेर भन्दैनौँ । तर स्वभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठिक ढंगले लैजाने, अहिलेको बदलिएको विश्वपरिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रो अगाडी छ । एउटा लिडरशिपको प्रश्न मात्र हाम्रो अगाडी छ भन्ने लाग्दैन ।

अन्त्यमा, वर्तमान सत्तारुढ गठबन्धन कति लामो समय जान्छ ? सरकारको स्थायित्वको सम्बन्धमा मान्छहरुले आशंका पनि गरिरहेका छन्, के भन्नुहुन्छ ?

-पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ । दोस्रो, अहिले जुन ढंगले छलफलहरु शुरु भएका छन् देशलाई स्थायित्व चाहिएको छ । विकास चाहिएको छ । जनअधिकारको रक्षाको कुरा छ । उपलब्धिहरुलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ । त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि शुरु हुन्छ । संसद पनि कार्यकारी भएर जान्छ । मलाई के लाग्छ भने आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन । स्वभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरुलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरुपको भुमिका खेल्न हाम्रो पार्टी लागि पर्छ ।

प्रकाशित: २४ पुष २०७९ १९:०७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी