मेलामै उपस्थित भएर अवलोकन गरेजस्तो अनलाइनबाट हुँदैन -अध्यक्ष रञ्जितकुमार पोदार

मेलामै उपस्थित भएर अवलोकन गरेजस्तो अनलाइनबाट हुँदैन -अध्यक्ष रञ्जितकुमार पोदार


सूचना प्रविधिको क्षेत्रमा नेपाल विस्तारै अघि बढिरहेको छ । इन्टरनेटमा पहुँच बढ्दै जाँदा विश्वस्तरका प्रविधि र उत्पादनहरुको प्रयोगमा पनि नेपालीहरुको रुची बढ्दो छ । यसका लागि सूचना प्रविधि क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेको छ । नेपालको सन्दर्भमा कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यस्तैबीच नेपालमा ‘क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी माघ २४ गते मंगलबारदेखि सुरु भएको छ । मेलामा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । कम्प्युटर एशोसियसन नेपाल, महासंघले क्यान इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो र विगतमा गरिएका प्रदर्शनीमा भन्दा यसपटक के फरक छ ? यसै विषयमा केन्द्रविन्दुले क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोदारसँग गरेको कुराकानी-

सबैभन्दा फरक यस पटकको मेलामा प्रविधि र उपकरणहरु सार्वजनिक हुँदै होलान् त्यसको बारेमा बताइदिनु न ?
-सबै प्रदर्शकले त्यो कुरा गरिसकेको अवस्था छैन् । तर केही प्रदर्शकहरुले चाहिं धेरै प्रयोगकर्ता भएको वाईफाईलाई म्यानेज गर्ने डिभाइसरहेको जानकारी आएको छ । अर्को २६ वटा स्टलहरु स्टार्टअप कम्पनीहरुलाई दिएका छौँ । क्लाउड, हार्डवयर, सफ्टवेयरका कुरा छन् । 

यस पटक पनि दर्शकहरुले नयाँ कुरा हेर्न पाउनु हुन्छ ?
-अवश्य पाइन्छ । टेक्नोलोजी भनेको जतिपनि अएको छ सबै नयाँ हुन्छ । वर्षमा एक पटक हुने भएकाले वर्षमा टेक्नोलोजी कति अपडेट भएको छ त ? त्यो हेर्न पाइन्छ । 

आज भोलि प्रविधिको कुरा सबै गुगलमा भेटिन्छ । किन मेलामा जानु भनेको समयको नास मात्र हो भन्ने युवा वर्गलाई के भन्न चाहनु हुन्छ ?
‍-यो कुरामा सहमत छु । अनलाईनमा त्याे के हो भन्ने कुरा थाहा पाएपनि फिजिकल हेर्नको लागि त आउनै पर्छ । उहाँहरुले सोचेको जस्तो काम गर्छ कि गर्दैन, अर्डर गरेर राम्रो काम नगरे फिर्ता गर्न पर्ला । तर प्रर्दशनीमा आएपछि त प्रत्यक्ष देख्न र छुन पाइन्छ र कुन सामान उनीहरुलाई उपयुक्त हुन्छ त्यो थाहा पाउन सकिन्छ । त्यो हिसाबले पनि प्रदर्शन हेर्न आउनुपर्छ । 

यो मेलामा प्रविधि क्षेत्रका सबै संस्थाहरुले सहभागिता जनाएका छन् ?
-मेलामा सबै आए भने त ठाउँ नै पुग्दैन नि । हामीले सबै ब्राण्डलाई बोलाएका हुन्छौँ । कति आएको हुन्छ, कति नअटाउन सक्छ, कतिको विभिन्न कारणले नआउन सक्छन् । यसपटक एकदमै सानो समयमा यो मेला आयोजना गर्नुगर्यो । भर्खरै निर्वाचन भएर नयाँ कार्य समिति आयो । भृकुटीमण्डपमा एक वर्ष आगाडिदेखि बुक गर्नु पर्ने ठाउँमा यसपालि एक महिनामा सबै कार्य सक्नु पर्ने चुनौती थियो । अन्तर्राष्ट्रिय ब्राण्डलाई केही समय चाहिने रहेछ । त्यसैले समय नपाएर ती ब्राण्डहरु नआएको देखियो । यस पटक नै हो छोटो समयमा मेला आयोजना गरेको । 

मेलाका बारेमा थप केही भन्न चाहानु हुन्छ ?
-माघ २४ देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला आयोजना हुन्छ । यो समयमा दर्शकहरुलाई नयाँ टेक्नोलोजी र टेक्नोलोजीका पढाई सम्बन्धी एकै ठाउँमा आएर हेर्न अनुरोध गर्दछु । यो सँगै  प्रादेशिक तहमा पनि प्रदर्शन गर्न गइरहेका छौँ । फागुनको १३ गतेबाट सुदूरपश्चिम प्रदेशको धनगढीमा, फागुन ६ गतेबाट मदेश प्रदेशको वीरगञ्जमा, चैतको २ गतेबाट बागमती प्रदेशको हेटौडामा, फागुनको २६ गतेबाट गण्डकी प्रदेशको पोखरामा र प्रदेश १ को मोरङमा तयारी भइरहेको छ । यसरी नै यहाँ आउन नसक्ने प्रविधिप्रेमी जनसमुदायलाई सम्बन्धित ठाउँमा गएर अवलोकन गर्न अनुरोध गर्दछु ।

Logo