डिजिटल प्लेटफर्मले कलाकारको आम्दानी बढाएको छ -गायिका कला पंगेनी

डिजिटल प्लेटफर्मले कलाकारको आम्दानी बढाएको छ -गायिका कला पंगेनी


झन्डै डेढ दशक अगाडि देखि लोक गायनमा सक्रिय कला पंगेनीका पचास भन्दाबढी लोक तथा दोहोरी गीतहरू प्रकाशित छन् । साेमबार मात्र उनले बजारमा ल्याएको गीत “कलेजी छेउ खायो” चर्चामा छ । अहिले स-परिवार युरोपमा बसोबास गर्दै आएकी कला पंगेनीसँग केन्द्रबिन्दुको तर्फबाट पाँच प्रश्न-

१. भर्खरै पशुपति शर्मासँग गाएको नयाँ गीत सार्वजनिक भएको छ, यो गीतको बारेमा केही बताउनुस् न ।

-यो गीत अघिल्लो वर्ष नै रेकर्ड गरिएको हो । नेपाल आउँदा यौटा गीत रेकर्ड गरेर फर्कने रहर थियो । यत्तिकैमा यो गीतका म्युजिक एरेन्जर विश्वास नेपाल जी सँग कुरा हुँदा मलाइ मिल्ने भाका सुनाउनु भयो । भोलिपल्ट फर्कने टिकट थियो । साँझको समयमा पशुपति शर्मा जी लाई भोकलको लागि अनुरोध गरेको वहाँले पनि सहयोग गर्नुभयो अनि त्यही साँझ हामीले यो गीत रेकर्ड गरेको हो । रेकर्ड पछि झन्डै डेढ वर्ष अडियो स्टुडियो मै रह्यो, अहिले बल्ल यसको भिडियो बनाउने मौका मिल्यो ।

२. गीत सङ्गीतको क्षेत्रमा कसरी जोडिनुभयो, साङ्गीतिक यात्रा कस्तो चलिरहेको छ ?

-मैले स्कुल पढ्दा ताका नै स्टेज कार्यक्रमहरूमा गीतहरू गाउँथे । मेरो बिहेपछि मेरो गायन यात्रा रोकिएको थियो । पछि बच्चाहरू हुर्किँदै जान थालेपछि गीत सङ्गीत प्रतिको मेरो चासो बुझेर दुर्गा जी ले गीत रेकर्ड गराइदिनुभयो २०६५ साल मा । त्यसपछि नियमित रूपमा गीतहरू रेकर्ड गराउने स्टेज कार्यक्रमहरू गर्ने र दोहोरी प्रतियोगिताहरूमा गाउने क्रम जारी नै छ ।

हरेक मान्छे राम्रो भविष्यको खोजीमा बिदेसिन्छ । सुरुमा मलाइ पनि दुख लागेको हो तर प्रविधिको सहज पहुँच र सुधारिएको आर्थिक अवस्थाले गर्दा गीत सङ्गीत छोड्न परेन ।

३. देश छोडेर परदेसिनुभएको छ, अब गीत सङ्गीतको क्षेत्रमा कसरी सक्रिय रहनुहुन्छ ?

-ग्लोबलाइजेसनको यो समयमा कोही परदेसीनु सामान्य कुरा हो । हाम्रो देशबाट दैनिक हजारौँ युवाहरू विदेश गइरहेका छन् । कोही अध्ययनको लागि कोही रोजगारीको लागि मान्छेहरू विदेश गइरहेको देख्न सकिन्छ यो सामान्य कुरा हो तर जब एक जना कलाकार बिदेसिन्छ त्यो अवस्था अलिकति फरक हुँदो रहेछ । त्यहाँ उठ्ने प्रश्नहरू पनि अलिकति फरक हुँदा रहेछन् । हरेक मान्छे राम्रो भविष्यको खोजीमा बिदेसिन्छ । सुरुमा मलाइ पनि दुख लागेको हो तर प्रविधिको सहज पहुँच र सुधारिएको आर्थिक अवस्थाले गर्दा गीत सङ्गीत छोड्न परेन, यसलाई नेपालमा हुँदा जसरी नै निरन्तरता दिन सकिएको छ । युरोपमा पनि हामी कलाकारहरू प्रतिष्ठान मातहत एकताबद्ध भएका छौँ । प्रत्यक्ष दोहोरी गएर रेकर्ड गरिरहेका छौँ, गीत बजारमा ल्याएका छौँ । सङ्गीतको नियमित कर्म मै छु जस्तो लागिरहेको छ ।  

सङ्गीत रोयल्टीलाई व्यवस्थित गर्न सके नेपालमा सङ्गीत बजार राम्रोसँग स्थापित हुन सक्ने सम्भावना छ ।

४. नेपाली गीत सङ्गीतको ट्रेन्ड र बजार कस्तो देख्नु भएको छ ?

-गीत सङ्गीतको बजार राम्रै छ । पहिला जस्तो छैन, सोर्स अफ रिभेन्यु बिस्तार भएका छन् । धेरै डिजिटल प्लेटफर्महरूमा नेपाली सङ्गीत बिक्ने गरेको छ र त्यसले कलाकारको प्रत्यक्ष आम्दानी बढाएको छ जसले गर्दा कलाकारलाई गुजारा गर्न सहज मात्र भएको छैन । कलाकारले मनग्य आम्दानी पनि गरिरहेका छन् । अनि नेपालभित्र र बाहिर हुने सांस्कृतिक कार्यक्रमहरूमा जनाउन पाइने सहभागिता पनि आम्दानीको अर्को श्रोत हो । यी कुराहरूलाई व्यवस्थित बनाउँदै लैजाने र सङ्गीत रोयल्टीलाई व्यवस्थित गर्न सके नेपालमा सङ्गीत बजार राम्रोसँग स्थापित हुन सक्ने सम्भावना छ ।

गीत सङ्गीतको मौलिकता हराउँदै गयो भन्ने चासो रहनु राम्रो हो । नेपाली सङ्गीतको जननी मानिएको लोक सङ्गीतको मौलिकताको जगेर्ना हुनु आवश्यक छ ।

५. अन्त्यमा, गीत सङ्गीतको मौलिकता हराउँदै गएको छ भनिन्छ, के भन्नुहुन्छ ? 

-गीत सङ्गीतको मौलिकता हराउँदै गयो भन्ने चासो रहनु राम्रो हो । नेपाली सङ्गीत को जननी मानिएको लोक सङ्गीतको मौलिकताको जगेर्ना हुनु आवश्यक छ । यही बिचमा हामीले के पनि बिर्सनु हुँदैन भने हरेक कलाकारको आफ्नै निजी मौलिकता पनि हुन्छ । कलाकार द्वारा सिर्जित हरेक भाकाहरू मौलिक प्राय हुन्छन् । समय नै परिवर्तनशील छ, त्यसैले सङ्गीतको बजारले पनि अलिकति परिवर्तन खोजेको हुन्छ । थोरै परिवर्तित गीतहरू अत्यधिक रुचाइएको पनि देख्न सकिन्छ । लोक सङ्गीतको मूल मर्मलाई कायम राख्दै सङ्गीतको बजारीकरण हुनु आवश्यक छ जस्तो लाग्छ ।

अन्त्यमा, मेरो गीत प्रकाशित भएको अवसरमा मेरो कुरा अभिव्यक्त गर्ने मौका प्रदान गर्नुभएकोमा केन्द्रबिन्दुप्रति आभार व्यक्त गर्न चाहन्छु ।

Logo