गुणात्मक परिवर्तनका लागि महासचिव पदमा उम्मेदवारी दिएको छुः अधिवक्ता बाबुराम अर्याल

गुणात्मक परिवर्तनका लागि महासचिव पदमा उम्मेदवारी दिएको छुः अधिवक्ता बाबुराम अर्याल


आजभन्दा २३ वर्षअघि २०५७ तिरबाट पत्रकारिताबाट पेशा शुरु गरेका अधिवक्ता बाबुराम अर्याल २०६१ सालदेखि भने निरन्तर कानुन व्यवसायमा छन् । नेपाल ल क्याम्पस, काठमाडौंबाट कानुनमा स्नातक अधिवक्ता अर्यालले भारतको प्रतिष्ठित पुणे विश्वविद्यालय (हाल सावित्रीबाई फुले पुणे विश्वविद्यालय)बाट कानुनमा स्नातकोत्तर गरेका छन् । सूचना प्रविधि, दूरसंचार, मिडिया, अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कानुनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका अधिवक्ता अर्यालले हालै “इन्फोर्समेन्ट अफ इन्टरनेशनल कन्ट्याक्टः अ केस स्टडी अफ नेपाल” शीर्षकमा विद्यावारिधीको शोधपत्र पेश गरिसकेका छन्-

अक्सफोड विश्वविद्यालय र पेन्सिलभेनिया विश्वविद्यालयको अक्सफोर्डमा संचालित “मिडिया पोलिसी” सम्बन्धी विशेष कोर्ष तथा संयुक्त राज्य अमेरिकाको “युनाइटेड स्टेट्स टेलिकम ट्रेनिंग इन्स्ट्यिूट” वासिंगटन डी.सी.बाट साइबर सेक्युरीटीमा डिप्लोमा कोर्ष समेत गरेका छन् । संयुक्त राष्ट्रसंघले “रिखक्नाइज” गरेको एसिया प्यासेफिक रिजनल इन्टरनेट गभर्नेन्सका पूर्वउपाध्यक्ष अधिवक्ता अर्याल एसिया प्यासेफिक स्कूल अन इन्टरनेट गभर्नेन्सका उपाध्यक्ष समेत हुन् । अधिवक्ता अर्याल डेल्टा ल फर्मको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।  

नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यालय स्तरदेखि नै सक्रिय अर्यालले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनसँग आवद्ध भई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, काठमाडौं शाखाको कोषाध्यक्ष भई कार्य गरिसकेका छन् । अहिले अधिवक्ता बाबुराम अर्याललाई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औैं महाधिवेशनको चटारो लागेको छ । पटक पटक स्थगित हुँदै आएको महाधिवेशन यस पटक चितवनमा यहि जेठ २६ र २७ गते हुने गरी समय तोकिएको छ । कानुन व्यवसाय, न्यायपालिका तथा डिएलए महाधिवेशनको सेरोफेरोमा रहेर केन्द्रबिन्दू डटकमका प्रधान सम्पादक विदूर खतिवडाले उनै अर्यालसँग कुराकानी गरेका छन् । सोही कुराकानीको सम्पादित अंश हामीले यहाँ प्रस्तुत गरेका छौं ।  

झण्डै दुई दशकदेखि कानुन व्यवसायमा हुनुहुन्छ, वकिल हुन कत्तिको सजिलो छ ?

कानुन व्यवसाय एउटा “टफ जब” हो । अधिकतम समय झगडियासँग वा उनीहरूको फाइलसँग रहनु बस्नु त्यति सजिलो होइन । अमेरिकन बार एसोसिएसनले सन् २०१६ मा गरेको एउटा सर्वेक्षणमा नशा तथा मानसिक असन्तुलनको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको थियो । पन्ध्र वटा कानुन विद्यालयका ३३ सय विद्यार्थीमा गरिएको उक्त सर्भेमा २५ प्रतिशत विद्यार्थी रक्सी सेवनको लत बसेको तथा १७ प्रतिशतमा “डिप्रेशन” देखिएको थियो । ३७ प्रतिशतमा हल्का तथा गम्भीर प्रकृतिको चिन्ता (Anxiety) देखिएको उल्लेख थियो । अझ कहाली लाग्दो तथ्य त के थियो भने ६ प्रतिशत कानुनका विद्यार्थीमा पछिल्लो वर्ष मात्रै आत्महत्याको विचार आएको उल्लेख थियो । 

योभन्दा पनि गम्भीर परिणाम कानुन व्यवसायीमा देखिएको थियो । जम्मा १३ हजार कानुन व्यवसायीमा गरिएको सर्वेक्षणमा २८ प्रतिशत कानुन व्यवसायीमा “डिप्रेशन” पाइएको थियो भने र १९ प्रतिशत कानुन व्यवसायीमा गम्भीर प्रकृतिको चिन्ता  (Anxiety) देखिएको उल्लेख थियो । कानुन विद्यार्थीको तुलनामा कानुन व्यवसायीमा झण्डै दोब्बर अर्थात ११.४ प्रतिशत कानुन व्यवसायीले पछिल्लो बर्ष आत्महत्याको विचार आएको उल्लेख गरेका थिए । 

अधिक समय व्यतित गर्नुपर्ने, हरेक मुद्दामा उत्तिकै अध्ययन गर्नुपर्ने र परिणाममा सधैं “रिस्क फ्याक्टर” रहि रहने हुँदा उनीहरूको जिन्दगी यान्त्रिक जस्तो भएको हुन्छ । यसले उनीहरूको पारिवारिक तथा सामाजिक जीवनमा समेत प्रभावित पारिराखेको हुन्छ । हामी कहाँ यस्ता विषयलाई सम्बोधन गर्ने संस्थागत पहल भएका छैनन् । 

तर, यसको मतलब वकिलको जिन्दगी पुरै निरस नै हुन्छ भन्ने होइन । वकिलहरु आफ्ना पक्षलाई अप्ठ्यारोबाट निकाले जस्तै विस्तारै आफू पनि “टफ” बन्दै गएका हुन्छन् । आफ्ना पक्षलाई न्याय दिन सकेको पाउँदा आफैं पनि रोमान्चित भइएको हुन्छ । बार एसोसिएसन तथा डिएलए नेपाल जस्ता संस्थाहरुले यसतर्फ थोरै पनि पहल गर्ने हो भने यस पेशालाई अझ मजबूत गर्न सकिन्छ । 

यस्तो “टफ जब” मा नयाँ पुस्तालाई कसरी प्रोत्साहन गर्न सकिन्छ त ?

“ल प्राक्टीस” अब पहिलाको जस्तो मात्रै रहेन । पहिला पहिला सीमित सन्दर्भ सामग्रीले पनि काम चल्थ्यो । अब प्रविधिले समेत कानुन व्यवसायीलाई चुनौति दिन थालेका छन् । युरोप, अमेरिका तथा विकशित मुलुकमा अब सूचना प्रविधिले विस्तारै वकिललाई विस्थापन गर्न थालिसकेका छन् । “भर्चुअल लयर” को अभ्यास शुरु भैसकेको छ । हामी कहाँ पनि ढिलो चाँडो त्यो अवस्था आउने नै छ । प्रविधिको सहायताले गैर वकिलले पनि अदालतमा बहस गर्न जाने बाहेकको काममा हस्तक्षेप गर्न थालिसकेका छन् । यस्तो अवस्थामा हाम्रा कानुन व्यवसायीहरूलाई प्रविधिप्रति थप अभ्यस्त गराउनु जरुरी भैसकेको छ । 

प्रविधिको सहायताले गैर वकिलले पनि अदालतमा बहस गर्न जाने बाहेकको काममा हस्तक्षेप गर्न थालिसकेका छन् । यस्तो अवस्थामा हाम्रा कानुन व्यवसायीहरूलाई प्रविधिप्रति थप अभ्यस्त गराउनु जरुरी भैसकेको छ । 

यस्तो परिवेशमा नयाँ तथा युवा कानुन व्यवसायीलाई प्रोत्साहन गर्नु जरुरी छ । यस सम्बन्धमा सवैभन्दा महत्वपूर्ण विषय अभिभावकीय वातावरण हो । नव प्रवेशी युवा कानुन व्यवसायीलाई कानुनी अभ्यास (लिगल प्राक्टिस)मा लाग्न अधिकतम प्रेरित गर्ने अभिभावकीय वातावरण अहिलेको महत्वपूर्ण आवश्यकता हो । यसका लागि हामी डिएलएसँग आवद्ध तथा सद्भाव राख्ने बरिष्ठ कानुन व्यवसायी तथा स्थापित ल फर्मसँग समन्वय गरी कानुनी अभ्यास (ल प्राक्टिस)को उपयुक्त वातावरण वनाउन सकिन्छ ।

यसका लागि हामीले एउटा “मेन्टरसीप” प्रोग्राम सुरु गर्न सक्छौं जसले युवा कानुन व्यवसायीहरूलाई थप अनुभवी कानुन व्यवसायीहरूबाट सिक्न र उनीहरूको क्यारियरमा सफल हुन आवश्यक सहयोग प्राप्त गर्न मद्दत गर्न सक्छ । अर्को कुरा, युवा कानुन व्यवसायीहरूका लागि निरन्तर कानुनी शिक्षाको थप अवसर सिर्जना गर्नु जरुरी छ । यसले उनीहरुलाई नवीनतम कानुनी घटनाक्रमहरूमा अद्यावधिक रहन र उनीहरूको सीप सुधार गर्न मद्दत गर्न सक्छ ।

युवा पुस्तालाई कानुनी अभ्यासमा प्रवद्र्धन गर्न कानुनी प्रणालीमा सुधार गर्नु जरुरी छ । यस्तो सुधारले युवा कानुन व्यवसायीलाई थप पहुँचयोग्य र उनीहरुको समय किफायती बनाउँछ । यसले कानूनी सहायतामा पहुँच विस्तार गर्ने र कानुनी शुल्कको लागत घटाउने जस्ता कुराहरूमा परिवर्तन ल्याउँछन् । 

कानुनी पेशामा युवा कानुन व्यवसायीहरूको भूमिकालाई बढावा दिने अर्को महत्वपूर्ण “एप्रोच” भनेको उनीहरूलाई कानुन सम्वद्ध संघ संस्थाको नेतृत्वमा प्रोत्साहन गर्नु । नेपाल बार एसोएिसन (विभिन्न ईकाइ समेत) र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन र अन्य कानुनी संगठनहरूको विभिन्न पदमा उम्मेदवार हुन युवा कानुन व्यवसायीहरूलाई प्रोत्साहन गर्ने जस्ता कुराहरू समावेश हुन सक्छन्।

कानुनी शिक्षा व्यवहार सापेक्ष नहुनु कानुन व्यवसायको अर्को समस्या हो । हामी कहाँ कानुन पढ्नेको ठूलो जमात छ । तर, यसको गुणस्तरमा कसैको ध्यान छैन ।

तपाईंको विचारमा नेपालमा कानुन व्यवसाय क्षेत्रको समस्या के-के हुन् ?

  • यो निकै समय खर्चिलो पेशा हो । यसले निरन्तर अनुसन्धानको माग राख्दछ । अनुसन्धान, अध्ययन र झगडियाबीचको समयका कारण पारिवारिक समय एक दम कम दिन सक्ने अवस्था हुन्छ । झगडिया वा सधै तनावकै बीचमा रहनु पर्ने बाध्यताले उनीहरुको मनोवृत्तिमा पनि गम्भीर असर पारिराखेको हुन्छ । आफूलाई प्रष्ट रुपमा दोषी रहेको थाहा हुँदाहुँदै पनि दोषी पक्षको हीतमा काम गर्नुपर्ने हुँदा आचरणमा समेत नकारात्मक प्रभाव पर्ने अवस्था हुन्छ । यसले ल्याउन सक्ने नकारात्मक परिणामको बारेमा हामी तयार छैनौं । समय व्यवस्थापन र मानसिक सन्तुलन यो पेशाको महत्वपूर्ण पाटो हो । 
  • कानुनी सेवामा गरिने खर्च अपव्ययको रुपमा लिने प्रवृत्ति नेपाली समाजमा छ, चाहे संस्थागत होस वा व्यक्तिगत । यसले यो पेशालाई उद्योगको रुपमा लिन सकिराखेको छैन । कानुन व्यवसायीहरु सानो सानो फर्म खोलेर बसेका छौं । यसले एकातिर लागत ठूलो भईराखेको छ भने अर्को तिर अत्यन्तै प्रतिस्पर्धात्मक वातावरण विकास भएको छ । कर्पोरेट फर्मको अभावले कतिपय काम ठूला कम्पनीले भारतीय फर्महरुलाई दिने र उनीहरुले नेपालका फर्महरुलाई थोरै रकममा काम लगाउने पनि गरेका छन् । 
  • कानुन व्यवसायमा अब प्रविधिले हस्तक्षेप गरिसकेको छ । बाह्य (अदालत ट्रिब्युनल आदि) र आन्तरिक (फर्म म्यानेजमेन्ट तथा अनुसन्धान)मा भएको विकास हामीले नेपालमा उपभोग गर्न सकिरहेका छैनौं । अहिले आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग सँगै सकारात्मक तथा नकारात्मक असरको मुल्यांकन हामीले गर्न सकिराखेका छैनौ, यो सवालमा हामी निकै पछि छौं ।
  • कानुनी शिक्षा व्यवहार सापेक्ष नहुनु कानुन व्यवसायको अर्को समस्या हो । हामी कहाँ कानुन पढ्नेको ठूलो जमात छ । तर, यसको गुणस्तरमा कसैको ध्यान छैन । पास हुने र लाईसेन्स लिई/दिइ हाल्नेको हतारोले कानुन व्यवसायीहरु सक्षम हुन सकेका छैनन् । व्यवहारगत शिक्षण पद्धतिमा ध्यान पुग्न सकेको छैन । कानुन शिक्षणका लागि आवश्यक पूर्वाधारको पनि कमी रहेको छ । कानुन क्याम्पसको र बार काउन्सीलको समन्वय छैन, यसले योग्यताको “स्ट्याण्डराइजेसन” मा समस्या छ । लाईसेन्सको प्रक्रियामा नै “मेन्टरसीप” अभ्यास हुनु जरुरी छ । 
  • सेवाको गुणस्तर पहिचान गर्ने अभ्यास नहुनु अर्को समस्या हो । ज्ञानमा आधारित पेशा व्यवसाय भएकोले यसका मापदण्ड तय गर्न सजिलो छ छैन तर जसरी भए पनि काम गरे पुग्छ भन्ने मानसिकताले कानुन व्यवसायीलाई काम सक्न दबाब छ, गुणस्तरको लागि होइन । 

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन घोषणा भएको छ, यसपटक हुन्छ त ? 

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) को महाधिवेशन विविध कारणले हुन सकिरहेको थिएन । चितवनको रत्ननगरस्थित होटल स्टारमा तयारी भईरहेको जानकारी पाएको छु । हामी लोकतन्त्रमा विश्वास राख्ने मान्छे, यस पटक महाधिवेशन हुन्छ भन्ने विश्वास छ । अझ, म आफैं उम्मेदवार, निर्वाचन हुन्छ भन्ने विश्वास सहित तयारीमा छु । 

आफैं उम्मेदवार भन्नु भयो, कुन पदमा उम्मेदवारी छ तयारी ?

मैले करिब दुई अढाई वर्षदेखि नै आफूलाई महासचिव पदको “अन्कन्भेन्सनल” उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएको छु । खास गरी, सूचना प्रविधिको जमानामा परम्परागत संगठन संचालन विधिबाट बाहिर आई काम कारवाही संचालन गर्नु पर्ने तथा परम्परागत रुपमा संचालित पेशालाई आधुनिकीकरणमा लैजादै संगठन तथा यस सम्बद्ध सदस्यहरुको हित प्रवद्र्धन गर्न सक्ने नयाँ नेतृत्व आउनु पर्छ भन्ने मेरो मान्यता हो । 

त्यसो भए एजेण्डाहरू के-के छन् त ?

  • संगठनको आधारभूत संरचना सुधार गर्नेः– संगठनको आधारभूत संरचनालाई बलियो बनाउनु मेरो प्राथमिक एजेण्डा हो । संगठनको आधारभूत संरचनालाई हामीले चुस्त दुरुस्त बनाउन सक्यौं भने अन्य कार्यक्रममा “फोकस” गर्न सक्छौं । विद्यार्थी काल देखिनै नेपाल बार एसोसिएसनमा डिएलए नेपालको उम्मेदवारहरुको पक्षमा विभिन्न फ्रन्टमा काम गर्दे आएको भए पनि यस पटक नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए नेपालको नेतृत्वमा रहेको उम्मेदवारको चुनावी अभियानमा नेपालभर साथ दिने /संयोजन गर्ने अवसर मिलेको थियो । यस अभियानको दौरानमा पनि केही पाठ सिकेको छु । एउटा सिंगो अभियान संस्थाको “लिगेसी” भन्दा पनि उम्मेदवारको व्यक्तिगत ताकत र अनौपचारिक संरचना (नेटवर्क) ले “गाईड” गर्ने रहेछ । संस्थालाई जुन हिसाबबाट परिचालन हुन पर्ने हो त्यस्तो हुन नसकी रहेको अवस्था महशुस भयो । जस्तो कि, सदस्यहरुको सम्पर्क “च्यानल”, टेलिफोन नं. अनि सामाजिक सञ्जाल जुन रुपमा हुनु पर्ने त्यस्तो नरहेको अवस्था पाएँ । यसलाई आमूल परिवर्तन ल्याउन जरुरी छ । यसका लागि सदस्यहरुको डेटाबेस चुस्त बनाउने र आवधिक सदस्यता प्रणालीभन्दा पनि नियमित सदस्यता प्रणालीमा ध्यान दिनु जरुरी छ । यसमा मेरो प्राथमिकता हुनेछ । यो मेरो व्यक्तिगत क्षमताको क्षेत्र पनि हो । 
  • पेशागत क्षमता अभिवृद्धि गर्नेः– संगठनका सदस्यहरुको पेशागत क्षमता अभिवृद्धिमा जोड दिनु मेरो अर्को महत्वपूर्ण प्राथमिकता हुनेछ । कुनै पनि संगठनको मूल उद्देश्य यसका सदस्यहरुको हीत संरक्षण हुनु पर्छ । क्षमता अभिवृद्धि सदस्यहरुको हितमध्ये प्राथमिक हित हो । संगठन यसैका लागि चाहिन्छ । डिएलए नेपालका संस्थापकहरुले यस संगठन संस्थापित गर्दा यो एउटा प्राथमिक विषय रहेको कुरा दस्तावेजहरुले भन्छन् । म अहिले पनि कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । म जहाँ पनि कार्यक्रम लिएर जाँदा डिएलए नेपालका सदस्यहरुलाई प्राथमिकता दिने गरेको छु । यसको विस्तारको रुपमा प्रत्येक प्रदेशमा पेशागत भविष्य नै नयाँ ढँगले लैजान सक्ने कमसे कम एक–एक वटा गरी कम्तीमा ७ वटा विशेषज्ञ तालिम  कार्यक्रम तथा केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको कानुन सम्बन्धी एक सम्मेलन डिएल नेपालको तर्फबाट गर्ने कार्ययोजना मैले “भिज्युलाईज” गरेको छु । मेरो विगत र वर्तमानले यो कुनै महत्वाकांक्षी प्रस्ताव नभएको पुष्टि गर्छ ।
  • पेशागत सुरक्षा प्रत्याभूतिः– कोभिड–१९ कालमा कानुन व्यवसायीको पेशागत क्षेत्रमा समेत गंभीर प्रभाव पर्यो । आगामी दिनमा आर्थिक मन्दीले कानुन व्यवसायीहरुको पेशागत सुरक्षामा चुनौतिको अवस्था आउने संभावना छ । कोभिड–१९ पछि क्लाइन्टहरू कम खर्च गरिराखेका छन् । कानुन व्यवसायीहरु सस्तोमा गुणस्तरीय सेवा दिन बाध्य भएका छन् । काम गरेको पनि भुक्तानीमा समस्या छ । सबै कानुन व्यवसायीको आर्थिक अवस्था एकै छैन, साना साना दुर्घटना वा मन्दीले समेत हाम्रा कानुन व्यवसायी साथीहरुको सहायताका लागि “वकिल हेल्पनेट” संचालन गर्ने ठूलो इच्छा छ । कोभिड–१९ को बेलामा नै एक योजनामा काम गरेको थिएँ, तर त्यसको कार्यन्वयनमा संरचनात्मक अभावले अगाडी जान सकिएन । यस्तो कार्य डिएलए नेपाल जस्तो फोरमबाट संचालन गर्न सकिएमा संस्था तथा सदस्य दुवैको हित हुन्छ । आफू निर्वाचित भएमा कम्तीमा ३ महिना भित्र यो कार्ययोजना कार्यन्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।  
  • अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारः– कानुन अभ्यास अब अन्तरदेशीय भै सक्यो । नेपालमा पनि बहुराष्ट्रिय कम्पनीहरुको विस्तार सँगै कानुन व्यवसायीहरुको लागि प्रतिस्पर्धी वातावरण विकास गर्नुपर्ने चुनौति भैसक्यो । कानुन पनि नयाँ नयाँ आइराखेका छन् । यस्तो परिवेशमा कानुन व्यवसायीले आफूलाई थप सक्षम तथा प्रतिस्पर्धी बनाउनकोलागि अन्तर्राष्ट्रिय परिदृष्यमा आफूलाई सहभागिता तथा प्रभाव बनाउन जरुरी छ । कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि तथा सम्बन्ध विस्तारकोलागि अन्तर्राष्ट्रिय मंचहरुमा हाम्रा कानुन व्यवसायी साथीहरुलाई “एक्सपोजर”को अवसर उपलब्ध गराउनु अनिवार्य भैसकेको छ । यसकोलागि डिएलए नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार गरी यसका सदस्यहरुको बाह्य एक्पोजर बढाउनु अत्यन्त आवश्यक छ । यस क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्छु भन्ने विश्वास छ । मेरो दुई दशकको अंतराष्ट्रिय सरोकारवालासँगको सम्बन्ध डिएलए नेपालको समेत सम्पत्ति बनाउन सकिन्छ भन्ने लाग्छ । 
  • लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिका रक्षाः– लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि संस्थाको भूमिका अक्षुण राख्ने मेरो अर्को महत्वपूर्ण एजेण्डा हो । स्वच्छ, प्रभावकारी तथा उत्तरदायी न्याय प्रणाली मानवाधिकार तथा विधिको शासनकोलागि अपरिहार्य हुन्छ । कुनै पनि लोकतान्त्रिक समाजको महत्वपूर्ण जग स्वतन्त्र न्यायपालिका नै हो र यो लोकतन्त्रको स्थायीत्वको लागि आधारशिला नै हो । त्यसै गरी, बारहरू त्यो स्थायित्वको कोशेढुँगा । न्यापालीकाको मर्यादा त्यसमा बस्ने न्यायाधीश र उनीहरुले प्रयोग गर्ने न्यायिक विवेकमा धेरै हद सम्म निसृत हुन्छ । न्यायपालिका तथा न्यायाधीशहरु माथि हुने हस्तक्षेप तथा आक्रमण स्वतन्त्र न्यायपालिका विपरित मानिन्छ । यस सवालमा कार्यपालिका तथा व्यवस्थापिकाले संतुलित व्यवहार गर्नु जरुरी छ । तर पछिल्लो समय स्वतन्त्र न्यायपालिकामा समस्या देखिएको छ । खास गरी, नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालतकै न्यायाधीशहरु समेत आन्दोलनमा उत्रँदा नेपालको न्यायपालिकाको अवस्था उजागर भएको हो । न्यायलयको गरिमा राख्न नसक्ने व्यक्तिहरु न्यायलयमा पुगेको र यस प्रकृयामा राजनीतिक हस्तक्षेप हावी भएको तथ्य छर्लड्ग नै छ । यसको लागि सानो तिनो सुधारले मात्र पुग्ने देखिदैन । सवै “हाइरार्की” मा देखिएको समस्याको आर्थिक सामाजिक परिवेश र त्यसको प्रभाव समेतलाई अध्ययन गरी प्रभावकारी “इन्टरभेन्सन” जरुरी भैसकेको छ । यसमा सूचना प्रविधि समेतलाई उपयोग गर्न सकिन्छ ।  

स्वतन्त्र न्यायपालिकाको लागि बारको भूमिका कस्तो हुन्छ ?

न्याय प्रशासनमा बार र बेन्चको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ । न्यायपालिका (बेञ्च) र कानुन व्यवसायी (बार) एक अर्काका परिपूरक हुन् । उनीहरू दुवैको साझा कर्तव्य हो न्याय दिलाउनु । अंग्रेजीमा वकिललाई “अफिसर्स अफ दी कोर्ट” पनि भन्ने चलन छ । यस अर्थमा उनीहरूको भूमिका न्याय सम्पादनमा अदालतलाई सहयोग गर्ने भूमिकामा रहन्छन् । आफ्ना पक्षको हीतमा बोल्दै गर्दा उसले बेञ्चलाई न्याय सम्पादन गर्ने कार्यमा ठूलो मद्दत गरिराखेको हुन्छ । पक्षहरूकै तर्क वितर्कले बेञ्चलाई एउटा निष्कर्शमा पुग्न मद्दत पुगेको हुन्छ । यी दुई पक्षहरुको एकता विना न्याय असंभव नै हुन्छ । 

न्यायलय कुनै पनि विवाद समाधानको अंतिम थलो हो । साधारण नागरिकले न्यायालयमाथि अगाध आस्था तथा विश्वास राखेको हुन्छ । यस्तो अवस्थामा न्यायलय र कानुन व्यवसायीले त्यो आस्था र विश्वासलाई कायम राख्नु पर्ने हुन्छ ।

न्यायापालिकामा भ्रष्ट्राचारको कुरा के हो ?

न्यायलय कुनै पनि विवाद समाधानको अंतिम थलो हो । साधारण नागरिकले न्यायालयमाथि अगाध आस्था तथा विश्वास राखेको हुन्छ । यस्तो अवस्थामा न्यायलय र कानुन व्यवसायीले त्यो आस्था र विश्वासलाई कायम राख्नु पर्ने हुन्छ । स्वतन्त्र न्यापालिकाको जगेर्ना गर्न स्वतन्त्र बारको पनि उत्तिकै महत्व हुन्छ । पछिल्लो समय बार र बेञ्चमा “ग्याप” सिर्जना भएको छ । खासगरी, सर्वोच्च अदालत आफैंले तयार पारेको प्रतिवेदनमा न्यायपालिकामा विकृति रहेको स्वीकार गर्नु र त्यसमा कानुन व्यवसायीसमेतको सहभागिता रहेको निश्कर्षमा पुग्नु पक्कै पनि गंभिर विषय हो । यसमा सवै पक्ष संवेदनशील हुनु अत्यन्त जरुरी छ । बारले न्यायपालिकालाई “स्क्याण्डलाइज” पनि गर्नु हुँदैन । न्यायपालिकाले पनि अधिक संयमता देखाउनु जरुरी छ । बार र बेञ्चको समन्वयमा न्यापालिकामा मौलाएको भ्रष्ट्राचार तथा विसंगति हटाउन पहल गर्नुको विकल्प छैन । 

Skip This
Logo