‘कांग्रेस जबर्जस्ती सत्तामा जाँदैन’ : प्रकाशशरण महत (सहमहामन्त्री / भिडियाेसहित)

‘कांग्रेस जबर्जस्ती सत्तामा जाँदैन’ : प्रकाशशरण महत (सहमहामन्त्री / भिडियाेसहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र बदनियतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ । यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसँग कुराकानीः

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो ?

केही संकटमा गएको छैन । यो संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रुपमा उपयोग गर्न सक्छौं । हामीले के कुरा बिर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो, त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रह्यो । त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौं । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नको लागि कठिनाई उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्यो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

त्यसमा पनि संसद विघटनपछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन गर्यो त्यो कारणले हामीले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरुलाई दिएका थियौं । आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । त्यस कारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्यो । त्यसपछि छानवीनको प्रक्रिया आउँछ । छानविनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेशनको श्रृङ्खला शुरु हुन्छ । जसले गर्दा महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं । 

त्यसोभए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ?
 
होइन हाम्रो समय सकिनेभन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौं । 

कोभिड लगत्तै प्रतिनिधिसभाको विघटनमा जानुपर्यो भन्नुभयो । तर कांग्रेस आन्दोलनमा हो की चुनाव प्रचारमा हो ?

नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त र विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वभाविक हुनसक्छ । तर नेपाली कांग्रेसको लागि स्वभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको वस्तुस्थितिको बारेमा जनतालाई सुशुचित गर्ने कुराहरु महत्वपूर्ण हुन । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन गर्यो ।

हामीले जनतालाई खर्च गरेर काठमाडौँमा आउ भन्नुको सट्टा हामी जिल्ला–जिल्लामा वडा–वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पुयाएउन सफल भयौं । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागीतालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो देखिन्छ । खासगरी कम्युनिष्ट पार्टीका दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो । त्यस अर्थमा हामी स्वस्फुर्त रुपमा विरोधका कार्यक्रमहरु गर्याैं । यद्यपी यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौं । त्यो गर्दा पनि जनताको स्वस्फूर्त सहभागीतालाई प्राथमिकतामा राख्छौं । 

सभापति शेरबहादुर देउवाले विरोध सभामा अथवा सञ्चार माध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौं भन्नुभयो । तर तपाईंहरु चुनावको तयारीमा लाग्नुहोस भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?

होइन अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाउ भन्यो भने हामी तयारी बिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसको लागि हामी तयार हुनुपर्छ भन्ने पनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनःस्थापना होस त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्यो भने त्यो निर्णयलाई हामी अवेज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरी नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाई उपयुक्त नै हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापनामा मात्रै जोड दिनुभएको छ चुनावमा कम छ तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ ।

व्यक्तिगत रुपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं । जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिंडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनस्थापना नै भए पनि ढिलो चाँडो जनतामै जानुपर्छ अब डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किनभने यो तीनवर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो ।

जनतालाई हिजो गरेको बाचा बन्धन उहाँहरुले पुरा गर्न सक्नुभएन । उल्टो दिशामा हिंडनुभयो, भन्ने कुरा जनताले महसुस गरिराखेका छन् र जनता नयाँ जनादेश दिनको लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन । तर कथमकदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरी नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरुमा भन्नुभएकै छ । 

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दवाब दिन हुन्छ की हुँदैन ?

त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाईमा संविधानका सबै स्टेप पुरा नगरिकन विघटन भयो । तर त्यसको अन्तिम निर्क्यौल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गर्छाैं भने फेरी अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर त्यो निर्णयलाई हामी मान्दैमान्दैनो भन्न चाहिं हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ । 

राजनीतिक दलहरुले सत्तामा जाने कुरालाई आफ्नो लाभको रुपमा स्वभाविक रुपमा हेरी नै हाल्छन । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ?

यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभांवित हुनुपर्छ । जनताप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यस कारण पार्टीको हातमा लड्डु हुन्छ की हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन । मूल कुरा जनता मजबुत हुन्छन की हुँदैनन, जनता अधिकार सम्पन्न हुन्छ की हुँदैन जनताको आवश्यकता, पीरमर्का प्रति सत्ता संवेदनशील छ की छैन त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिष्ट शासनकाल गफमय भयो कुरामय भयो काममा पटक्कै ध्यान दिनुभएन । राज्यको साधन स्रोत संयन्त्रलाई व्यापक चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरुले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं । त्यसकारण तपाईंले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षकोमा के फरक छ भने हामीले संसदको विघटनसहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ । भ्रष्ट्राचार लगायतका चरम दुरुपयोगका कुराहरु पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद विघटन मात्रै होइन । उहाँहरुको एकबुँदे संसद विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषय सहितको आन्दोलन हो । 

संसद विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधिसभाको पुनस्थापना भए पनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरु गरिराख्नु भएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ?
 
कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन हामीले जे भनिराखेका छौं भनिरहेका छौं भन्नुभएको छ । नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तात्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन । 

कार्यकर्ताहरु अलमल भइरहेका छन् नी ?

पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।

Logo