‘अब सेनाको गुप्तचरले तल्लो तहसम्मको सूचना संकलन गर्छ’: सैनिक प्रवक्ता पौडेल (भिडियोसहित)

‘अब सेनाको गुप्तचरले तल्लो तहसम्मको सूचना संकलन गर्छ’: सैनिक प्रवक्ता पौडेल (भिडियोसहित)


सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ । यो खबर मिडियाहरुमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । यसै विषयमा  सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग कुराकानीः

केही दिन यता मिडियामा सैनिक गुप्तचरीको विषयमा समाचार आएपछि द्विविधाहरु उत्पन्न भएका छन् । यो विषय के हो ?
 
सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो । अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि प्रत्येक देशको सेनाले जानकारी भएका अर्थात ज्ञात सुरक्षासम्बन्धी खतराहरुको अनुगमन गर्ने त्यसको मुल्याङ्कन गर्ने, प्रवृति विश्लेषण (ट्रेण्ड एनलाइसिस) गर्ने र भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुलाई पनि आँकलन गरिरहने एक नियमित प्रक्रियाको पाटो मात्रै हो । त्यसैले यसलाई यही ढंगले बुझ्दाखेरी उपयुक्त हुन्छ जस्तो लाग्छ । 

यसले सेनाको नियमित कामलाई कहाँ कसरी सहयोग गर्छ ?

मुख्य रुपमा सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो र संविधानले दिएको भूमिकालाई निर्वाह गर्छ । सही र समसामयिक सूचना र प्रभावकारी सूचना संयन्त्र जसको व्यापकता र जसको विशेषता अथवा जसको क्षमताको आधारमा सूचना सङ्कलन हुन सक्यो भने समयमा नै यस्ता खतराहरुको आकलन गर्न सकिन्छ र सोही अनुसारको पूर्व तयारीहरु गर्न सकिन्छ । तालीमसम्बन्धी पूर्व तयारी होस, थप सूचना सङकलन गर्नुपर्ने पूर्व तयारी होस, अथवा विश्लेषण र आफ्नो गतिविधिको सम्बन्धीको प्राथमिकता तय गर्ने विषयमा होस यसले सैनिक सङ्गठनहरुलाई मद्दत पुर्याउने भएको हुनाले सूचना सङ्कलन सैनिक दृष्टिकोणबाट ठूलो महत्व राख्दछ । 

सेनाले गर्ने भनेको दुरगामी प्रकृतिका सुरक्षा चुनौतीहरुलाई मध्यनजर राखेर सूचना संकलन गर्ने हो । जब–जब सूचना सामूहिक रुपमा र प्रभावकारी ढंगले हामीले सङ्कलन गर्न सक्दैनौं तब–तब राज्यले क्षति व्यहोर्नुपरेको अवस्था हामीले देखेका छौँ । त्यसले गर्दा सेनाको सुरक्षा संयन्त्र प्रभावकारी हुनु भनेको अन्तत्वगत्वा राष्ट्रिय सुरक्षा सुदृढिकरण हुनु हो भन्ने हामीले बुझ्न आवश्यक छ । त्यसले सैनिक संगठनलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा सूचना सङ्कलन गर्न अत्यन्त नै महत्वपूर्ण र सहयोगको भूमिका हुन्छ ।
 
हाम्रो राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकायहरु छन् । गुप्तचरी संयन्त्र छ । त्यसमा पनि आफ्ना लागि त गर्दै आएको छ । अनि सेनाले पनि गर्दा कतै सूचनाहरु मिसिदा अन्तरविरोध पो हुने हो की ?

सबै सङ्गठनको आफ्नो–आफ्नो संवैधानिक दायित्व छ र उनीहरुको कार्यको प्रकृति फरक–फरक छ । तपाईंले इंगित गर्न खोज्नुभएका सुरक्षा निकायहरुको दिनानुदिन गरिने जिम्मेवारीहरुमा आवश्यक पर्ने सूचनाको प्रकृति फरक छ र सेनाले आफ्नो लागि आफ्नो पूर्व तयारीको लागि आवश्यक पर्ने सूचना सङ्कलन गर्ने त्यसको प्रकृति र त्यसको विषयवस्तुहरु फरक भएको हुनाले यस्तो विषयमा अन्तरविरोध हुने सम्भावना मैले न्यून देख्दछु । तर अवश्य पनि विभिन्न सुरक्षा निकायका अथवा विभिन्न सूचना सङ्कलन गर्ने संयन्त्रहरुबीच समन्वयको भने राम्रो आवश्यकता पर्दछ । जसले गर्दा सही र सामयिक सूचना अन्ततः सरकारले नै प्राप्त गर्ने हो । 

सिधा हेर्दा सेनालाई चाहिएको सूचना सङ्कलन गरिन्छ भन्नुभयो । तर राज्यले कसरी प्राप्त गर्न सक्छ ?

यसलाई कसरी बुझ्नु उपयुक्त हुन्छ भन्दा सेनाले सैनिक दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरु राज्यको दैनिक अथवा नियमित कार्य प्रक्रियाहरुमा आवश्यकता पर्दछ जस्तो मलाई लाग्दैन । किनभने यो दीर्घकालिन रुपमा उत्पन्न हुनसक्ने सुरक्षासम्बन्धी खतराहरुलाई तयार पारिएको हुन्छ र कम्ब्याट इन्टेलिजेन्स भन्छौं हामी । सो सम्बन्धमा आधारित रहेर हामीले सूचना सङ्कलन गरेको हुनाले राज्यको नियमित प्रक्रियामा यसको भूमिका अलिकति न्यून नै रहन्छ । तर स्वभाविक रुपमा सेनाले राज्यलाई नै सहयोग गर्ने भएको हुनाले बृहत्तर सुरक्षा सम्बन्धी संवेदनशिलता (लार्जर सेक्युरिटी इन्ट्रेष्ट) अथवा त्यस्तो किसिमको सुरक्षासम्बन्धी विषयमा आवश्यक परेको खण्डमा राज्यले सेनासँग सो सम्बन्धी विषयवस्तुहरुमा इनपुट माग्न सक्छ र हामी त्यो दिन सक्छौं । 

बजारमा फैलिएका अफवाहहरु बारे केही स्पष्ट पार्न चाहनुहुन्छ ?

मुख्यरुपमा बुझ्नुपर्ने कुरा के हो भन्दा अहिलेको विश्व परिवेशमा सूचना सङ्कलन अत्यन्तै महत्वपूर्ण विषय हो । सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सीमित रहेको छैन । आजभोली आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो रहेको छ । मुख्यरुपमा के हो भन्दा सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यसको मतलब हामी सबैजना व्यक्तिहरु सूचनाको स्रोत हुन सक्छौं । तर त्यसको अर्थ सबैजना सेनाको लागि अथवा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्ने बुझाई गलत हुन्छ । हामी सबै नै सूचनाको लागि कुनै न कुनै ढंगले हाम्रो विशेषज्ञताको कारणले विज्ञताको कारणले जसको कुनै सुरक्षाको आयाम त्यसमा जोडिएको हुनसक्छ । त्यसले गर्दा सूचनाको स्रोत हुन सक्छौं । तर जुन आधिकारीक रुपमा इन्टेलिजेन्स वर्ल्डमा इन्फर्मर भनेर चिनिन्छन त्यस्तो किसिमको इन्फर्मर सबैजना होइनन् । त्यो किसिमले बुझिदिन एकदमै आवश्यक छ । जुन मिसकन्सेप्सन अथवा मिसप्रसेप्सन छ त्यो आवश्यक छैन जस्तो लाग्छ । 

Logo