‘नेपाली फिल्ममेकरले अझै फिल्म बुझेका छैनन्’ : दीपेन्द्र लामा

‘नेपाली फिल्ममेकरले अझै फिल्म बुझेका छैनन्’ : दीपेन्द्र लामा


चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा केही दिन अघि मात्र दीपेन्द्र लामा चुनिए। लामो समय पत्रकारिता गरेका लामाले त्यतिकै समय फिल्म समीक्षामा पनि खर्चिएका छन्। तर, पछिल्ला केही वर्षयता उनी फिल्म लेखन तथा निर्देशनमा सक्रिय छन्। 

अपवादलाई छाडेर कम समीक्षा अनि बढी फिल्मकर्मी भएर अघि बढिरहेका छन् लामा। तर, समीक्षक समाजको हालै सम्पन्न साधारण सभाले प्रदर्शनमा आएका फिल्ममाथि समीक्षा गर्दै सिंगो फिल्म उद्योगलाई गाइड गर्ने संस्था ‘चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)’को अध्यक्षमा उनलाई चयन गर्यो। 

यस्तो अवस्थाले धेरैका मनमा उनीमाथि धेरै शंका र प्रश्न उब्जाएको छ। के एउटा फिल्म लेखक/निर्देशकले निष्पक्ष रूपमा समीक्षकहरूको संस्थाको नेतृत्व गर्न सक्ला? फरक पेसा र फरक संस्थामा रहेर काम गर्न नैतिक प्रश्न उठ्छ कि उठ्दैन? 

समकालीन फिल्ममेकरप्रति समीक्षक समाजको नेतृत्वकर्ता नै पूर्वाग्रही त बन्ने होइनन् जस्ता सवाल खडा गरिदिएको छ। यिनै विभिन्न प्रसंगमा केन्द्रित रहेर उनै लेखक, निर्देशक तथा समीक्षक समाजका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र लामासँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गरेको कुराकानीः

चलचित्र समीक्षक समाजको नेपाल (फिक्सन) को अध्यक्षमा तपाईं निर्वाचित भएपछि यसका पछिल्ला गतिविधि के–के भइरहेका छन्?

समीक्षक समाज त्यस्तो धेरै क्रियाशील संस्था होइन। पत्रकार महासंघको चुनावको मुखमा केही सक्रिय हो कि जस्तो देखिने मात्र हो। यही बेला मात्र धेरैले सम्झने गर्छन्। चुनाव केन्द्रित गरेर भोटका लागि मात्र यसलाई केन्द्रमा राख्ने गरिन्छ। विभिन्न एसोसिएट संस्था खोज्दै जाँदा गणितीय समिकरणका लागि पनि यसको खोजी हुने गरेको छ। 

चुनावपछि चाहिँ पत्रकार महासंघले याद पनि गर्दैन। संस्थाका विषयमा कुरा गर्ने हो भने सबै पदाधिकारी आफ्नै काममा व्यस्त हुने भएकाले संस्थालाई समय दिइरहेका अवस्था छैन। यद्यपि, संस्थाले विभिन्न समयमा विभिन्न खाले कार्यक्रम गर्दै आएको छ।

एकताका हामीले मण्डला थिएटरमा हप्ताको एक दिन केही पुराना फिल्म देखाउने र त्यसमाथि अन्तक्र्रिया गर्ने गरेका थियौं। अन्तर्क्रियाबाटै त्यस्ता चलचित्रको सकारात्मक तथा नकारात्मक पाटा केलाउने गर्थ्याैँ ।

यद्यपि, त्यो लामो समयसम्म चल्न सकेन। त्यसअघिका कार्यकालमा केही कार्यशाला गर्ने, अन्तर्क्रिया गर्नेजस्ता कार्यक्रम पनि भए। यज्ञश अध्यक्ष हुँदा समीक्षक अवार्ड कार्यक्रम पनि गरेका थियौं। तथापि, त्यो कार्यक्रम अन्य अवार्डजस्तो तामझामको नभएर वर्षभरिका उत्कृष्ट सात विधामा अवार्ड वितरण गर्ने गरिन्थ्यो। तर, पछि बजारमा अवार्डको बाढी आयो। अवार्डप्रति बजारमा वितृष्णा बढ्दा त्यसको औचित्य रहँदैन भन्ने समीक्षक समाजको बुझाइ रह्यो।

यी त भए अघिल्ला कार्यसमितिका गतिविधि, तपाईं अध्यक्ष भएपछि के–कस्ता कार्ययोजना बनाउनु भएको छ?

अहिले फिल्मक्षेत्र सुस्ताएको छ। तर, फिल्म हेर्ने कल्चर भने बढेर गएको छ भन्ने मेरो आँकलन छ। कारण, लकडाउनका समयमा धेरैको मनोरञ्जनको माध्यम फिल्म नै थियो। तर, त्यो ओटिटीको माध्यम थियो। यस समयमा दर्शकले नेपाली फिल्म, बलिउड वा हलिउड मात्र नभएर अन्य थुप्रै देशमा फिल्मको स्वाद लिए।

यसले के देखाउँछ भने जुनसुकै अवस्थामा पनि फिल्म हेर्ने आदत हुँदो रहेछ भन्ने भयो। अझ भनौं फिल्म जीवनको एक अभिन्न अंग नै बनिसक्यो। त्यसैले अब फिल्ममाथि अझ धेरै चर्चा–परिचर्चा आवश्यक छ। फिल्ममाथि समीक्षा हुन आवश्यक छ। त्यसैले अबको हाम्रो काम भनेको फिल्म बुझ्ने/बुझाउने नै हो।

तपाईं त फिल्म निर्देशक र लेखक पनि हुनुहुन्छ, समीक्षक समाजको नेतृत्वमा आउनु उचित थियो र?

संस्थाको नेतृत्वमा रहेका यज्ञशको दुई कार्यकाल भइसकेको थियो। साथीहरूको आशय पनि मैले नै जिम्मेवारी लिए हन्थ्यो भन्ने रहेकाले सल्लाहले नेतृत्वमा आएको हुँ। यसअघि संस्थामा उपाध्यक्षको जिम्मेवारीमा रहेकाले पनि अध्यक्ष बनेर काम गर्न साथीहरूको सुझाव थियो।

चलचित्र निर्देशक भइसकेको मान्छे समीक्षक समाजमा किन ? भनी धेरैले प्रश्न उठाएका छन् नि?

हो, यहाँ नैतिकताको प्रश्न उठ्छ। तर, संस्थामा रहेर अनुचित फाइदा उठाउँछ वा उठाउँदैन भन्ने कुराले अर्थ राख्छ। कसैलाई ‘ब्ल्याक मेलिङ’ गर्ने वा कसैप्रति आग्रह–पूर्वाग्रह राख्ने गरियो भने त्यो आपत्तिजनक हुन्छ। त्यसैले संस्थामा रहेर स्पष्ट दृष्टिकोणका साथ काम गर्यो भने त्यसले कुनै प्रभाव पार्दैन। 

अर्कातर्फ, म फिल्म समीक्षक समाजमा रहे पनि निर्देशक वा लेखककै रूपमा रहे पनि नेपाली फिल्म र फिल्म बजारको स्तरोन्नतिकै लागि गर्ने हो। 

आफैं फिल्म बनाउने, निर्देशन गर्ने अनि आफैं समीक्षक समाजको अध्यक्ष भएर बस्ने ? भन्ने टिप्पणी पनि छन् नि?

यसअघि पनि म समीक्षक समाजको उपाध्यक्ष थिएँ नि! त्यो बेला मैले अन्य समकालीन फिल्म निर्माता निर्देशकलाई आलोचना गर्न वा तारिफ गर्न कुनै संस्थागत लबिङ त गरेको थिइनँ। म मात्र होइन, हाम्रो कुनै सदस्यले पनि त्यस्तो गरेनन्। 

सम्बन्ध, नातागोता, आग्रह पूर्वाग्रह नराखी जसले फिल्म समीक्षा गर्छ तिनीहरूलाई मात्र संस्थाको सदस्यता दिने हाम्रो प्रावधान हो। कुनै प्रलोभनमा परेर वा विज्ञापन पायो भने राम्रो समीक्षा लेख्ने र, पाएन भने नराम्रो लेख्नेलाई संस्थाले सदस्यता दिँदैन। निर्देशक होस् या कोही शुद्ध पत्रकार होस्, जो समीक्षक समाजको सदस्य हुन्छ ऊ, नैतिकतामा बस्नैपर्छ। त्यसैले जति टिप्पणी आए पनि पहिलो सर्त नैतिकता पालना गर्यो या गरेन भन्ने हो। अबको तीन वर्षको कार्यकालमा मैले नैतिकता पालना गरेँ भने मात्र त्यो टिप्पणीको अर्थ रहला अन्यथा त्यो आँकलन व्यर्थ हुन्छ।

यहाँ धेरैजसो निर्देशक कसैले फिल्मको समीक्षा नै नगरोस् भन्ने सोच्छन् र समीक्षकको नामै सुन्न चाहँदैनन्। यस्तो अवस्थामा म निर्देशक नै भए पनि समीक्षक जन्माउने र हुर्काउने अभियानमा सरिक हुनु त झन् राम्रो हो नि।

भनेपछि अब फिल्म लेखन÷निर्देशन छोडेर समीक्षककै हैसियतमा कलम चलाउन अग्रसर हुनु भएको हो?

फिल्म निर्देशन तथा लेखनमा रहँदा विशेष फिल्मको समीक्षा नगरूँला। तर, नेपाल फिल्म उद्योगको प्रवृत्ति, धार अथवा यसको कलात्मक स्तरमाथि म कलम चलाइरहेको छु। पाएको मञ्चमा होस् या विभिन्न पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यममा फिल्मका विषयमा बोलिरहेको छु। त्यो पनि त एक प्रकारको फिल्म उद्योगमाथिकै समीक्षा हो नि! 

अर्कातिर, आजीवन मैले यही फिल्म क्षेत्र र उद्योगकै बारेमा बोल्ने हो, लेख्ने हो। मेरो आफ्नो निर्देशनको पहिलो फिल्म ‘घामपानी’ प्रदर्शनमा आएपछि पनि केही विशेष फिल्ममाथि समीक्षा लेखे। त्यसैले फिल्म बनाएपछि समीक्षा लेख्नै हुँदैन भन्ने होइन। नैतिकतामा रहेर लेख्न सकिन्छ।

तपाइँ स्वयं सिंगो उद्योगमाथि नै समीक्षा गर्छु भनिरहनु भएको छ। अब फिल्म बजारमा विशेष समीक्षक जन्माउन चाहिँ नयाँ कार्यसमितिले के गर्छ त?

हाम्रो फिल्म बजारमा योग्य निर्देशकको अभाव भएजस्तै योग्य र जुझारु समीक्षकको पनि अभाव छ। त्यस्ता समीक्षक जन्माउन अबको नेतृत्वले केही योजना बनाएको छ। ती योजनाबारे तत्काल म भन्दिनँ। तर, सिधै कार्यक्रममार्फत् घोषणा गर्नेछु। 

अर्कातर्फ फिल्म समीक्षकले मात्र बुझ्ने र बुझाउने होइन। आमदर्शकले पनि फिल्म बुझ्न जरुरी छ। यहाँ त फिल्ममेकरले पनि फिल्म राम्रोसँग बुझिरहेका छैनन्। म आफैं पनि फिल्म बुझ्छु भनिरहेको छु। तर, म आफैंले पनि शतप्रतिशत फिल्म अझै बुझ्न सकेको छु जस्तो लाग्दैन। फिल्मका आ–आफ्नै विधा छन्। गीत–संगीत, लेखन, छायांकन, सम्पादनलगायत धेरै छन्। यी सबैलाई बुझ्न जरुरी छ। 

मैले पनि आफूलाई ‘ग्रोथ’ गर्न अपरिहार्य छ। यस्तै खालको भावना समकालीन फिल्ममेकरमा आउनु जरुरी छ। समीक्षकदेखि दर्शकसम्म आउन जरुरी छ। त्यसैले समीक्षक मात्र होइन अन्य पेसामा आवद्ध पेसाकर्मीलाई पनि फिल्म बुझाउने मेरो उद्देश्य हो।

तपाईंको बुझाइ र अनुभवमा नेपाली फिल्म समीक्षक फिल्म निर्माता, निर्देशक वा सिंगो कन्टेन्टमाथि समीक्षा गर्न र तिनीहरूलाई दिशानिर्देश गर्न कतिको सक्षम छन्? 

चाहँदा नचाहँदै पनि नेपालमा समीक्षक आग्रह–पूर्वाग्रहमा फसेको देखिन्छ। 

अपवादलाई छाडेर हेर्दा केहीले अति प्रशंसा गर्ने वा केहीले चाहिँ अति आलोचना गर्ने गरिएको छ। त्यो आलोचनाको स्तर पनि फिल्ममेकरसँग समीक्षकको व्यक्तिगत सम्बन्धसँग जोडिएको दखिन्छ। नेपाली चलचित्र पत्रकारिता होस् वा समीक्षकमा देखिने यो प्रवृत्ति दुःख लाग्दो छ।

नेपालमा फिल्म समीक्षा अझै पनि संस्थागत हुन सकेको छैन। समीक्षकहरूमा निरन्तरता छैन। २/४ वर्ष समीक्षा गर्ने र  पलायन हुने फेरि नयाँ पुस्ता आउने प्रवृत्ति छ।  

यो प्रवृत्ति सुधारका लागि म समीक्षक समाजका तर्फबाट केही पहल भने अवश्य गर्नेछु। फिल्म पत्रकारिताले होस् वा समीक्षक समाजले जति चलचित्र उद्योगलाई योगदान दिनुपर्ने हो, त्यो दिन सकेको छैन। त्यसैले अबको दायित्व भनेको त्यो योगदान दिनसक्ने बनाउनु पनि हो जस्तो लाग्छ। 

लामो समयदेखि फिल्ममाथि तिखो र तीतो समीक्षा गर्ने समीक्षक तपाइँ स्वयं हो। फिल्म लेखन र निर्देशनमा आएपछि समीक्षकका हिसाबमा उति सक्रिय हुनुहुन्न। अहिले आफ्नै फिल्ममाथि अरुले तिखो कलम चलाइरहँदा त्यसबेला गलत पो गरियो कि भन्ने पछुतो लाग्दैन?

फिल्म समीक्षा होस् वा निर्देशन, हरेक काम गर्दै जाँदा प्राप्त हुने अनुभवले मान्छे परिवक्क हुने हो। परिपक्क हुँदै जाँदा उसको लेखन, रचना होस् वा अरु केही, परिपक्व हुँदै जान्छ। 

२०५६/५७ सालमा म जसरी समीक्षा गर्दथेँ, त्यो बुझाइ /लेखाइ सुदृढ हुँदै गयो। अहिलेको सन्दर्भमा आएर फिल्म समीक्षा गर्ने हो भने फिल्मलाई हेर्न/बुझ्ने स्वभाव पनि फरक हुन्छ। केही परिपक्व हुन्छ।

 त्यसैले विगतमा गरेका समीक्षामा गलत नै गरेँ भन्ने लाग्दैन। त्यो समय नेपाली कलाकारले गाली खाने चलन नै सुरु भएको थिएन। जस्तोः फिल्म बने पनि राम्रो बन्यो भनेर पुल्पुलिएको अवस्था थियो। फाट्टफुट्ट फिल्म बन्ने त्यो समय कसैले गाली खाने कुरा पनि हुँदैन थियो। धेरैको बुझाइ फिल्म बन्नु नै ठूलो कुरा हो भन्ने थियो। 

तर, त्यो बुझाइ गलत भएको, नेपाली मौलिक फिल्मको खाँचो खड्किएको र बलिउडको प्रभावबाट नेपाली फिल्म बाहिर निस्कनुपर्छ भनेर हामीले कलम चलाउँदा केही तीतो लाग्नु स्वभाविक थियो। 

अन्त्यमा, कोभिड–१९ को असरले नेपाली फिल्म बजार शून्य छ। तपाईंकै प्रोजेक्ट पनि अलपत्र छन्। नेपाली फिल्म बजारको अवस्था दयनीय बन्दै जाँदा एउटा निर्देशक र समीक्षकका तर्फबाट के भन्नु हुन्छ?

हलिउड/बलिउड फिल्म कोरोना प्रभावका बीच विभिन्न ओटिटी प्लेटफार्ममाफत् सार्वजनिक भए। कतिपय हुनेवाला छन् र, यी उद्योगले डिजिटल माध्यमबाटै लगानी सुरक्षित गर्ने हैसियत राख्छन्। तर, हामी नेपाली फिल्ममेकरले भने अझैसम्म पनि फिल्म रिलिज नगरि बसेका छौं। ठूलो बजेटमा बनेका फिल्मको लगानी उठाउने क्षमता पनि हाम्रो डिजिटल बजारसँग छैन। अर्काेतर्फ, पैसा तिरेर फिल्म हेर्नुपर्छ भन्ने संस्कार स्थापित भइसकेको छैन।

एक वर्षअघि प्रदर्शनका लागि बनाएका फिल्मले अर्को वर्ष पर्खनुपर्ने देखिन्छ। यस्तो अवस्थामा समयक्रम अनुसार पनि फिल्मको विषयवस्तु र दर्शकको बुझाइबीचको सम्बन्ध टुट्न सक्छ। मेकर आफैं दुई वर्षपछि आफ्नै सिर्जनाप्रति असन्तुष्ट बन्ने सम्भावना बढ्छ र, यसको अर्थ समय सन्दर्भ घट्किने सम्भावना प्रबल देखिन्छ।

त्यसैले यसरी फिल्म रोकेर राख्नु ठीक हुँदै होइन। अर्कातर्फ, अब यो महामारीसँग जुध्दै फिल्म मेकिङको परिपाटी परिवर्तन गर्नुपर्ने आवश्यक छ। हिजो २/३ करोडको फिल्म बनाउँथ्यौं भने अब ५०/६० लाखको फिल्म बनाउनु पर्छ। त्यसका लागि स्टार कलाकर्मीदेखि फिल्ममेकरसम्म चनाखो हुनुपर्ने देखिन्छ। कारण, नेपाली डिजिटल बजारबाट लगानी सुरक्षित गर्दै फिल्म बजारलाई चलायमान बनाउन सकियोस्।

एक जना जापानी निर्देशक ताकासी माइक छन्, जो फिचर फिल्मदेखि लिएर सर्ट फिल्म, टेलिभिजन सेरिज, म्युजिक भिडियो, वृत्तचित्र सबैमा काम गर्छन्। त्यसैले उनी कहिल्यै फुर्सद रहँदैनन्। त्यसैले अब, परिस्थितिलाई हेरेर निर्देशक माइक जस्तै सानो ठूलो काम नभनी अघि बढ्नु छ। मेरो प्रयास पनि अबका दिनमा यस्तै नै हुनेछ। 

साना–साना प्रोजेक्टहरू जस्तैः सर्टफिल्म, म्युजिक भिडियो, डकुमेन्ट्रीजस्ता काम गर्न नेपाली निर्देशकहरू पछि हट्नु हुन्न भने, स्टार कलाकारले समयलाई बुझेर कर्ममा जुट्नु नै सान्दर्भिक देखिन्छ।

Skip This
Logo