प्लाज्मा थेरापी ४० प्रतिशत प्रभावकारी देखिएको छ : डा. विपिन नेपाल

प्लाज्मा थेरापी ४० प्रतिशत प्रभावकारी देखिएको छ : डा. विपिन नेपाल


डा.विपिन नेपाल ग्रान्डी अस्पताल काठमाडौंका रक्त सञ्चार विशेषज्ञ हुन्। नेपालमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी सुरु गर्न डा. नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सरकारले जनताका लागि खोप कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला कोरोना महामारी दोस्रो लहर सुरु भइसकेको छ। खोपको प्रभावकारिता, प्लाज्मा थेरापी, एन्टीबडी परीक्षणलगायत विषयमा डा. नेपालसँग गरिएको कुराकानीः 

नेपालमा जति व्यक्तिको एन्टीबडी परीक्षण गरिएको छ, त्यसमा कोभिसिल्डको भ्याक्सिन कतिको प्रभावकारी देखिएको छ ? 

एकदम प्रभावकारी छ। मेरो आफ्नै पहलमा पहिलो खोप लगाइसकेका २ सय जनाभन्दा बढीमा अध्ययन गरिरहेको छु। नेपाल हेल्थ रिसर्च काउन्सिलसँग मिलेर यसको मात्राबाट पनि परीक्षण गर्ने कोसिस गर्दैछु। 

अहिले खाली एन्टीबडी बनेको छ कि छैन भन्ने महत्वपूर्ण सवाल हो। लगभग ७५ जनामा परीक्षण गरिएको छ, जसअनुसार हरेक पाँच जनामध्ये चार जनामा एन्टीबडी बनेको पाइएको छ। 

यो आरडिटी किटबाट गरिएको परीक्षण हो। नेपालमा खोपको पहिलो डोज नै ८० प्रतिशत प्रभाकारी देखिएको छ। तर, यसमा पनि विभिन्न मापदण्ड हुन्छन्, हामीले गरेको आरडिटी चाहिँ र्‍यापिट टेस्ट हो। यसको संवेदनशीलता शतप्रतिशत हुँदैन।

 यसलाई अर्को राम्रो विधिबाट परीक्षण गर्ने हो भने अलि बढी खर्च लाग्छ। सो परीक्षणका लागि सरकारले पहल गर्नुपर्छ। त्यसैका लागि मैले यो प्रोजेक्ट गर्दैछु। 

यदि नेपाल सरकारले एन्टीबडी परीक्षण गर्ने हो भने हामीकहाँ खोपको प्रभावकारिता पत्ता लाग्छ?

सबैले आ–आफ्नो तवरबाट परीक्षण गर्ने हो। हामीले आफ्नो स्थानबाट आफ्नै खर्चमा अध्ययन गर्दैछौं । मैले गरेको अध्ययनको विवरण सरकारलाई बुझाउँछु। यसमा सरकारले चासो राखेमा शतप्रतिशत प्रभावकारिता देखाउने एन्टीबडी ट्राइटेसन विधिबाटै परीक्षण गर्ने मेरो सोच छ। 

भिडियाे 

सरकारले कोरोना रोकथामको लागि काम गरेकै हो, तर यस विषयमा पहल किन गरेन भन्नेबारे म पनि अनविज्ञ छु। 

आमनागरिकमा खोपप्रतिको धारणा के छ, उनीहरू खोपप्रति कति विश्वस्त छन् ? 

पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मीहरूका लागि कूल ४ लाख ५० हजार डोज खोप छुट्याइएकोमा १ लाख ५० हजारले मात्र खोप लगाए।

यसको कारण खोपको प्रभावकारिता थाहा नभएरै हो। यसबाट प्रष्ट हुन्छ कि आमनागरिकको खोपप्रति विश्वास छैन। त्यसैले खोप जतिले लगाउनु पर्ने हो, त्यतिले लगाएनन्। 

नेपालमा आएको जम्मा २३ लाख ४८ हजार कोभिसिल्ड खोपमध्ये पहिलो डोज १५ लाख भन्दा बढीले लगाइसकेका छन्, अबको दोस्रो डोज के हुन्छ? 

अहिलेको मुख्य मुस्किलको विषय नै यही बनेको छ। भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। भारतमा दिनप्रतिदिन तीब्र रूपले संक्रमण बढिरहेको अवस्था छ। अब भारतले आफूलाई नपुगेसम्म हामीलाई खोप दिँदैन किनकि यस्तो अवस्थामा पहिला आफ्नो परिवार, आफ्नो नागरिक हेरिन्छ अनि मात्र भावनात्मक कुरा जोडिन्छ। नेपाल सरकारले किनेको २० लाख डोजमध्ये १० लाख आयो अझै १० लाख डोज आउनै बाँकी छ। अब कहिले आउने भन्ने टुङ्गो छैन। 

यदि भारतले बाँकी रहेको १० लाख डोज खोप दिएन भने भारतले हामीलाई धोका दियो भन्न मिल्छ?  

मेरो विचारमा मिल्दैन जस्तो लाग्छ । यस्तो विपद्का बेलामा पहिले आफ्नै जनतालाई प्राथमिकता दिइन्छ। तर, युएनको मापदण्ड अनुसार विश्वका सबै मानिसको स्वास्थ्य राम्रो हुनुपर्छ भन्ने छ। गरिबी राष्ट्रले यदि खोप खरिद गर्न सकेनन् भने पनि अन्य राष्ट्रले सहयोग गर्नुपर्ने उल्लेख छ।

भारतले यसअघि नै नेपाललाई १० लाख डोज खोप अनुदान दिइसकेको छ। त्यसैले अब भारतलाई गालीगलौज गर्नुभन्दा पनि हामीले ल्याउने पहल गर्नुपर्‍यो। 

पहिलो डोजको खोप अस्ट्राजेनेकाको कोभिसिल्ड दिइएको छ, अब सरकारले दोस्रो डोज सिनोवाक ल्याएर दिन खोज्यो भने के हुन्छ ? 

त्यस्तो फरक–फरक खोप त दिन मिल्दै मिल्दैन। 

कुनै पनि खोपले न्युरोको समस्या हुनसक्छ, त्यस बेला कुन समस्या हुन्छ ? 

न्युरोमा कुनै पनि खोप अथवा भाइरसले गर्दा कहिलेकाही गुइलिन बार सिन्ड्रोम (जिबियस) भन्ने लाग्न सक्छ । तर, यही लागेको भन्ने चाहिँ अहिलेसम्म थाहा छैन। 

अस्ट्राजेनेकाको खोपले युरोपमा केही व्यक्तिको मुत्यु भयो। समस्या देखिएपछि अधिकांश युरोपेली मुलुकले यसलाई अस्थायी रूपमा प्रतिबन्ध लगाए, यसलाई कसरी लिनुहुन्छ ? 

नर्वे र डेनमार्कमा २०–३० वटा समस्या देखिएको थियो। यसमा खोप कतिजनाले लगायो भन्ने मुख्य कुरा हो । हालसम्म युरोपमा अस्ट्राजेनेकाको खोप १ करोड ७० लाखभन्दा धेरैले लगाइसकेका छन्। त्यसमा ३० जनामा समस्या देखिनु भनेको एकदमै न्यून मात्रा हो। त्यसमा पनि खोपको यो चौथो चरणको प्रिक्लिनिकल परीक्षण चलिरहेको छ। 

तैपनि यस खोपले नै समस्या भएको भन्ने प्रमाणित भएको छैन। अस्ट्राजेनेकाको खोप सस्तो छ, त्यसैले यसमा विभिन्न राजनीतिक खेल पनि हुन सक्छन्। 

अन्य देशमा प्लाज्मा थेरापीको प्रभावकारिता कम देखियो, तर नेपालमा त प्लाज्मा थेरापी पनि सफल देखियो नि ? 

नेपाल हेल्थ रिसर्च काउन्सिलले अनुसन्धान गरेको थियो, जसमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको थियो। 

नेपालमा त झनै गम्भीर केसहरूमा मात्र प्लाज्मा थेरापी गरिएको थियो। गम्भीर केसबाट प्लाज्मा थेरापी सुरु गर्दा पनि ३९ प्रतिशत प्रभावकारिता देखिएको थियो। त्यसमा अनुसन्धानका विभिन्न पाटा हुन्छन्। तर, अन्य देशमा चार प्रतिशत प्रभावकारी देखिएको छ भने कुनै मा त्यति पनि देखिएको छैन।

नेपालको हकमा प्लाज्मा थेरापी र खोप दुवै सफल भएकै हो त ?

अहिलेसम्म यिनीहरुको प्रभावकारिता नियाल्दा यसलाई राम्रो सफलता नै मान्न पर्छ किनभने यो हाम्रै देशले गरेको अनुसन्धान हो।  

नेपालमा प्लाज्मा थेरापी अहिले पनि प्रयोगमा छ?

अहिले पनि प्लाज्मा थेरापी प्रयोग भइरहेको छ। तर, बिरामी कम मात्रामा छन्। आइसियुमा झनै बिरामी भर्ना कम छ। टेकू अस्पतालमा दिनमा एकजनामा प्लाज्मा थेरापी भइरहेको छ। अहिले गम्भीर बिरामी न्यून छन्। तैपनि प्लाज्मा थेरापी गरि नै रहेका छन्। 

एन्टीबडी परीक्षणका लागि ठ्याक्कै कति पैसा लाग्छ ? 

यसमा दुईवटा विधि छन् । एन्टीबडी बनेको छ कि छैन भनी परीक्षण गर्ने किट जसलाई ‘आरडिटी’ भनिन्छ। आरडिटीले कोरोना लागेको छ, छैन भनेर देखाउँछ, त्यस्तै एन्टीबडी पनि बनेको छ कि छैन भन्ने देखाउँछ । यो परीक्षण गर्न जम्मा ३ देखि ४ सयसम्म लाग्छ।

अर्को विधि चाहिँ एन्टीबडी ट्राइटेसन हो। यसमा लगभग ९९ प्रतिशतभन्दा बढी संवेदनशीलता हुन्छ। यसले खोप लगाइसकेपछि कतिको मात्रामा एन्टीबडी बनेको छ भन्ने देखाउँछ। जसलाई मात्रात्मक परीक्षण भनिन्छ। यो परिक्षण गर्न लगभग एक हजार रुपैयाँ पर्छ।

अब कोरोनाविरुद्ध जुध्न नेपालले गर्नुपर्ने काम के हो? 

सर्वप्रथम खोप ल्याउने कुरामै पहल गर्नुपर्छ। पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमण तीब्र रुपले बढिरहेको छ, त्यसैले सिमावर्ती क्षेत्रमा निगरानी बढाउनु पर्‍यो। आइसोलेसन र क्वारेन्टिन व्यवस्थित बनाएर तयारी अवस्थामा राख्नुपर्छ। हामी कोरोनामुक्त भइसकेका छैनौं जसरी हामी कोरोना नै छैन भनेर बाहिर हिँडिरहेका छौं, त्यसरी हिँड्नु भएन। स्वास्थ्यमापदण्ड पालना गर्नुपर्‍यो।

मापदण्ड अपनाउने विषयमा हामी जनता पनि सचेत हुन आवश्यक छ। हामीले सन् २०२० मा जसरी सुरक्षा सतर्कता अपनाएका थियौं, सन् २०२१ मा पनि मुक्त हुने अवस्था छैन। 

त्यसैले आफू सुरक्षित रही  आफ्नो परिवारलाई सुरक्षित बनाउनु जिम्मेवारीपूर्ण कार्य हो। परिवार सुरक्षित भएपछि समुदाय सुरक्षित हुन्छ, समुदाय सुरक्षित भएपछि राष्ट्र सुरक्षित हुन्छ। 

Logo