एक वर्ष भयो, व्यस्तताले घरमा खानासम्म खान पाएको छैन : पल शाह (भिडियाे)

एक वर्ष भयो, व्यस्तताले घरमा खानासम्म खान पाएको छैन : पल शाह (भिडियाे)


हरेक अभिनेत्री र मोडलसँग जोडी मिल्ने चर्चित अभिनेता को होलान्? अचेल सबैको उत्तर आउन सक्छ–पल शाह। कोरोना कहरले थुप्रै कलाकार फुर्सदिला भए। तर, पललाई भने म्युजिक भिडियोले भ्याइनभ्याइ बनायो। त्यसैले हिजाेआज उनले एक वर्षदेखि घरमा खाना पनि खान भ्याएका छैनन् ।

गुणस्तर (क्वालिटी) र संख्यात्मक (क्वान्टिटी) दुवै हिसाबले म्युजिक भिडियोमा उनले एकछत्र राज गरिरहे। उनी आफ्नो कामबाट पछिल्लो समय चर्चाको शिखरमा छन्। 

म्युजिक भिडियोबाट अभिनय ‘करिअर’ थालेका उनी पछि चलचित्र क्षेत्रमा लागेका हुन्। शायद त्यही भएर होला, उनी अभिनेताभन्दा पनि बढी मोडल भनेर चिनिन्छन्।

आकर्षक व्यक्तित्व, सुन्दरता र कुशल अभिनयका त्रिवेणी उनले नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै निकै लोकप्रियता कमाएका छन्। अथक मेहनतले नै उनी अहिलेको स्थानमा छन्। 

परिवारको चाहना ‘आर्मी’, अन्ततः सफल कलाकार 

२०४६ साल फागुन १० गते बुधबार दाङ जिल्लाको रामपुरमा जन्मिएका पलको वास्तविक नाम पूर्णविक्रम शाह हो। उनी मातापिताका पहिलो सन्तानका रूपमा जन्मिएका हुन्। उनकी एक बहिनी (रोशनी) छिन्।
 
सानैदेखि चञ्चले स्वभावका पलले अरनिको बोर्डिङ स्कुलमा कक्षा २ सम्म र त्यसपछि विलियम सेक्सपियर बोर्डिङ स्कुलमा कक्षा ५ सम्म अध्ययन गरे। १५ वर्षअघि गंगा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे।

मोडल र अभिनेता बन्छु भन्ने पलको सपना थिएन। उनका बाबु  स्थानीय राजनीतिमा सक्रिय थिए भने आमा चाहिँ किराना पसल अनि घरायसी काममा।

अभिभावक एक्लो छोरालाई आर्मीको लेफ्टिनेन्ट बनाउन चाहन्थे। तर, पललाई त्यसतर्फ खासै रुचि थिएन। सानैदेखि उनको भित्री चाहना चाहिँ कलाकारिता क्षेत्रमै अगाडि बढ्छु भन्ने थियो। 

सुरुमा उनलाई भिडियो एडिटिङमा रुचि थियो, त्यसो हुँदा टेलिभिजनका स्क्रीनमा आफ्नो नाम आउँछ भन्ने लाग्थ्यो। सानैदेखि पृथक यात्रा तय गरिसकेका पलले आर्मीमा जागिर खाओस् भन्ने बाबुआमाको चाहनालाई भने कहिल्यै ध्यान दिएनन्। 

यसले गर्दा परिवारमा खटपटसमेत भएको उनी बताउँछन्। ‘परिवारले दिएको सल्लाह–सुझाव मैले मानिनँ। लामो समयसम्म म र बुबाबीच बोलचालसमेत बन्द भयो,’ उनी सम्झिन्छन्। यस पटक हामीले उनै व्यस्त नायक शाहसँग कुराकानी गरेका छाैं । हेराैं याे भिडियाेमा ः

 

Logo