माओवादीलाई भोट हाल्ने प्रकाश ज्वालाले उल्टै पार्टी एकताको कुरा गर्ने ?

माओवादीलाई भोट हाल्ने प्रकाश ज्वालाले उल्टै पार्टी एकताको कुरा गर्ने ?


कर्णाली प्रदेशमा माधव नेपालपक्षीय चार सांसदले संसदीय दलको निर्णयविपरीत‘फ्लोर क्रस’ गरेपछि राजनीति तरंगित बनेको छ। ‘फ्लोर क्रस’ गरेका एमाले सांसदहरू प्रकाश ज्वाला, अम्बर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई ‘फ्लोर क्रस’ गरी उनीहरूले विश्वासको मत दिएका थिए । 

मत नदिएको भए शाहीको सरकार ढल्ने र एमालेबाट संसदीय दलका नेता यमलाल कँडेल मुख्यमन्त्री हुने अवस्था थियो किनभने कर्णाली प्रदेशसभामा एमालेको स्पष्ट बहुमत थियो । तर, यो घटनापछि एक वर्षका लागि मुख्यमन्त्री शाहीको पद जोगियो ।

यिनै राजनीतिक परिदृश्यबीच एमालेका कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेलसँग केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंशः 

कर्णाली प्रदेशसभामा एमालेकै चार सांसदले ‘फ्लोर क्रस’ गरे । त्यस्तो गर्लान् भन्ने अनुमान थियो ?

त्यो तहका नेताहरूले त्यसो गर्लान् भन्ने अनुमान थिएन ।

त्यस्तो परिस्थिति कसरी बन्न पुग्यो त ? 

होइन, उहाँहरूको नियतै खराब हो नि । परिस्थिति के भन्नुपर्‍यो र ?  मतदान गर्नु अगाडि एमाले संसदीय दलको बैठक बसेको छ । सबै सांसदहरूको सहभागिता छ । संसद्मा सँगसँगै सिटमा बसेका थियौं । अपराधीले अपराध गर्नुभन्दा अगाडि संकेत दिएकै जस्तो थियो ।

त्यसलाई राजनीतिक अपराध नै भन्नु खोज्नु भएको हो?

हो । राजनीतिमा विमति हुन सक्छ । विमति भएको विषयमा छलफल गर्न सकिन्छ । त्यसो होइन, यसो गरौं भन्न सकिन्छ निर्भिकतापूर्वक । तर, त्यसरी फ्लोर क्रस गर्ने कुराको पूर्वानुमान र पूर्वअभ्यास कतै देखिएन । फेरि सबै गतिविधिमा संलग्न भएर अन्तिममा चाहिँ विश्वासको मतको पक्षमा मतदान गर्ने कुरा अपराधीले गर्ने क्रियाकलाप त भयो ।

हो, पार्टीमा विकृतिका विभिन्न रूप थिए । तर नेतृत्वमा पनि बसेको, तीन वर्षसम्म सरकारमा सामेल भएको, हिजो पार्टीको तर्फबाट कर्णाली प्रदेश सरकारमा नेतृत्व गरेको प्रकाश ज्वाला जतिको मान्छेले त्यसो गर्ने होला भन्ने कुराको पूर्वानुमान गर्ने कुरै थिएन ।

पार्टीलाई पुनः एकता गर्न त्यस्तो कदम चालिएको भन्ने प्रकाश ज्वालाको तर्क छ नि ?

ए, अनि माओवादीमा भोट हालेर एमाले एकता हुन्छ ? एमाले भित्रको अन्तर्विरोधमा पक्ष/विपक्षमा रहने कुरा भयो । तर, संसद्मा एमालेमा भोट हाल्ने कि माओवादीमा भोट हाल्ने भन्ने प्रश्नमा माओवादीमा भोट हालेर एमालेभित्र एकता कायम हुन्छ र?  यो त आफ्नो अपराधलाई छोप्नका निम्ति गरिएको प्रयत्न हो । 

ज्वालालगायत चार सांसदले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्रीको दाबेदार तपाईं पीडित हुनुभयो नि, हैन ?

किन म पीडित हुने र ? व्यक्तिगत रूपमा मेरो कसैसँग दुश्मनी छैन । प्रतिद्वन्द्विता छैन । यसले म सकिने त होइन । यसले त नेकपा एमालेलाई घात गर्ने काम भयो । 

पार्टीको जिम्मेवारीमा रहेको कारणले म जोडिने कुरा स्वाभाविक छ । दलीय व्यवस्थामा कुनै व्यक्तिगत प्रतिस्पर्धा त होइन । यो दलीय प्रतिस्पर्धा हो । तर त्यसरी जाँदा कसैप्रति आग्रह पूर्वाग्रह हुन सक्छ । त्यस कारणले म पीडित भएको भनेर मैले लिएको छैन । 

यसले त सिंगो नेकपा एमाले र उहाँहरू स्वयंले २० औं वर्षदेखि गरेको लगानीलाई कुठाराघात गर्नु भएको छ । आफ्नै भविष्यप्रति उहाँहरूले चाहिँ प्रश्न चिन्ह खडा गर्नुभयो ।

कर्णाली प्रदेशमा एमाले बहुमत सरकार गठन गर्ने तपाईंको सपना तत्काल पूरा भएन भन्दा हुन्छ ?

अहिलेको अवस्थामा एमालेले सरकार गठन गर्ने देखिएन । अब स्वाभाविक रूपमा ज्वालालगायत चार सांसद कारबाहीको भागिदार हुनुभएको छ । एक/दुई दिन सांसद हुनुहोला । अलिक दिनपछि सांसद रहने परिस्थिति रहन्न । त्यसले हाम्रो एमालेको सिट सङ्ख्यामा स्वाभाविक रूपमा प्रभाव पार्छ । 

किन उहाँहरूले त्यस्तो बाटो रोज्नुभयो, त्यो उहाँहरूले नै जान्ने हो । त्यो क्रियाकलाप त आत्मघाती पनि छ । राजनीतिक निर्णय गरेर गएको भए मेरो त्यसमा कुनै गुनासो थिएन । अरुले गरेका पनि छन् ।

दबाब थेग्न नसकेर ज्वालालगायतले मन्त्री पदबाट राजीनामा दिनुभएको रहेछ भनेर बुझ्दा हुन्छ ?

होइन, नेकपा एमालेभित्र देखिएको समस्या एमालेभित्रै समाधान गर्ने हो । तर उहाँहरूले पार्टीमा समानान्तर गतिविधि चलाइरहेको अवस्था जगजाहेर छ । त्यस्तो स्थिति हुँदाहुँदै जुन दिन उहाँहरूले ‘फ्लोर क्रस’ गर्नुभयो, बागमती प्रदेशमा माधवकुमार नेपालसँग जोडिएका माननीय सदस्यहरू एउटै दलको बैठकमा बसेर विभिन्न विभागहरू गठन गरेको स्थिति थियो । 

यसबाट के देखिन्छ भने माधव नेपालका नामबाट गरिएको गतिविधि भए किन बागमतीमा देखा परेन? प्रदेश १ मा किन देखा परेन? त्यहाँका माननीयहरू संसदीय दलमा एकमतका साथ अगाडि बढेको अवस्था छ । मलाई लाग्छ, माथिका नेताहरूले कमजोर रहेका ठाउँका आफ्ना कार्यकर्ताहरूलाई दुरुपयोग गरेको अर्थमा बुझ्छु ।

तपाईंले कर्णाली प्रदेशको सातौं हिउँदे अधिवेशनमा बोल्ने क्रममा एमालेका सांसदहरूलाई अपमान हुने गतिविधि हुँदैछ, त्यसलाई तत्काल रोक्न अनुरोध गर्दछु भन्ने भएको थियो? के भएको थियो त्यसबेला? 

प्रकट नै भइसक्यो त अब । सबैले थाहा पाइसके । ‘फ्लोर क्रस’ गर्नुभयो, आज शपथ ग्रहण गर्नु भएको छ । पार्टीको आचरणलाई विचलित गर्ने र दलीय मर्यादालाई खलबल पुर्‍याउनेहरूलाई पुरस्कार दिइसक्यो सरकारले ।

तपाईं नेकपा एमालेको कर्णाली प्रदेशमा संसदीय दलको नेता हुनुहुन्छ । आगामी दिनमा प्रदेश संसदमा तपाईंहरूको भूमिका कस्तो हुनेछ?

राजनीतिप्रतिको निष्ठाको हिसाबले, आदर्शको हिसाबले र दलीय संस्कारको हिसाबले हामी चाहिँ एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा रूपान्तरित भएका छौं ।

सरकारले राम्रो गरेछ भने समर्थन गर्छौं । तीन वर्षसम्म पार्टीले सहयोग गर्दा, पार्टी समेत सामेल हुँदा त गर्न नसकेकै हो । नसकेको अवस्थामा अब भगौडाहरूलाई जम्मा गरेर बनेको सरकारले राम्रो काम गर्छ भन्ने कुरा सम्भावनै देखिएन । तर राम्रो काम गरे समर्थन गर्छौं । जनविरोधी काम गरे र बेथितिका काम गरे हामी सदनमा आवाज उठाउँछौं । 
 

Logo