नयाँ कोरोना भेरियन्ट कडा होइन, बढी संक्रामक भने पक्कै हो : डा.समिरमणि दीक्षित

नयाँ कोरोना भेरियन्ट कडा होइन, बढी संक्रामक भने पक्कै हो : डा.समिरमणि दीक्षित


भारत, नेपाललगायत दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेको छ। भारतमा बुधबार एकै दिन ३ लाख १४ हजार ८ सय ३५ जना कोरोना संक्रमित थपिएकामा २ हजार १ सय ४ जनाको मृत्यु भएकाे छ। 

त्यस्तै, नेपालमा बुधबार २ हजार ३ सय ५१ संक्रमित थपिएकामा १० जनाको मृत्यु भयो। अमेरिका र युरोपेली मुलुकमा पनि दिनहुँ हजारौं संक्रमित थपिरहेका छन् भने सयौंको मृत्यु भइरहेको छ। 

नयाँ भेरियन्टको संक्रमणसँगै अवस्था भयावह बन्दै गएको छ। कोरोना नयाँ भेरियन्टले पार्ने असर, महामारी नियन्त्रणमा सरकारी प्रयास, खोपको प्रभावकारिता र सुरक्षा सतर्कताबारे  संक्रामक रोग विज्ञ तथा जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षितसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना संक्रमणको अहिलेको अवस्था कस्तो छ ? नयाँ भेरियन्टले पार्ने प्रभाव कस्तो छ ?

पहिलेको लहरभन्दा यो बढी संक्रामक छ भन्ने पुष्टि भइसकेको छ। दक्षिण एसियाली मुलुकमा तीव्र रफ्तारमा संक्रमण बढिरहेकाले पहिलेभन्दा हामी अलि बढी गम्भीर बन्नुपर्ने देखिन्छ। 

संक्रमण तीव्र बन्नु पछाडिको कारण यही भेरियन्ट हो। नेपाल सरकारले अद्यावधिक गरेको नतिजालाई आधार मान्ने हो भने युके भेरियन्ट बी ११७ का कारणले यस्तो अवस्था आएको हो। 

अहिले जुन गतिमा संक्रमण देखिएको छ, आउँदा दिनमा अझै यो बढ्ने देखिन्छ। भारतको स्थितिलाई हेर्दा नेपालमा अझै एक–दुई महिना संक्रमण तीव्र रूपमा बढ्ने आँकलन गर्न सकिन्छ। 

म चाहिँ अहिलेको अवस्थालाई जटिलताको संज्ञा दिन्छु। कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलेभन्दा कडा होइन, पहिलेको उमेर समूहमा जे हुन्थ्यो, अहिलेको उमेर समूहलाई पनि त्यही हुन्छ। 

धेरैभन्दा धेरै संक्रमण हुने हुँदा तीमध्ये पनि अलि बढीलाई कडा संक्रमण हुने र मृत्युदर पनि बढ्ने चाहिँ मैले देखिरहेको छु।   
 
नयाँ भेरियन्ट कति जोखिमयुक्त छ? बालबालिकामा त संक्रमण दर उच्च देखिएको छ नि? 

पहिलेको विश्वको तथ्यांक हेर्नु पर्छ, किनभने सर्वप्रथम नयाँ भेरियन्ट बेलायतबाट आएको हो। अहिले विश्वका ३०–४० देशमा यो भेरियन्ट फैलिसकेको पुष्टि भैसकेको छ र, यसले विशेषतः दक्षिण एसियामा प्रकोप सिर्जना गरेको छ। 

अहिले जुन गतिमा संक्रमण देखिएको छ, आउँदा दिनमा अझै यो बढ्ने देखिन्छ। भारतको स्थितिलाई हेर्दा नेपालमा अझै एक–दुई महिना संक्रमण तीव्र रूपमा बढ्ने आँकलन गर्न सकिन्छ। 

यही तथ्य केलाउँदै सबै मुलुकमा यसले पारेको प्रभाव हेर्ने हो भने एउटा कुरा के पुष्टि हुन्छ भने पहिलेको भाइरसभन्दा यो कडा चाहिँ कदापि होइन।
 
मैले यसअघि पनि भनिसकेको छु–अहिलेको भाइरसका कारण कडा लक्षण देखिने र बढी मृत्यु हुने हुँदैन। तर, यसले पहिलेभन्दा कम असर गर्दैन भन्ने कुरा पनि होइन, यसप्रति हेक्का राख्नुपर्छ।

पहिले र अहिलेमा एउटा ठूलो भिन्नता छ। त्यो के हो भने फैलने दर चाहिँ अहिले बढी छ। पहिले एकजनाले तीनजनालाई संक्रमण सार्न सक्थे भने अहिले एकजनाले ६ जना वा त्यसभन्दा बढीलाई संक्रमण गराउन सक्छन्। 

त्यसकारण यसले थोरै समयमा धेरैभन्दा धेरै व्यक्तिलाई संक्रमण फैलाउने कुरा चाहिँ तथ्य हो। नेपालको एक महिनाको तथ्यांक विश्लेषण गर्दा त्यस्तै देखिन्छ, संक्रमित संख्या एक सयबाट दुई हजारसम्म पुगेको छ। पहिले र अहिलेमा यही फरक छ।

 यसले बालबालिकालाई किन बढी प्रताडित बनायो भन्ने सवाल छ। बालबालिकालाई बढी सतायो वा बालबालिकामा नयाँ भेरियन्टको संक्रमण छिटो सर्यो भन्ने होइन। 

बालबालिकालाई यसले पहिले पनि त्यति नै प्रभाव पार्थ्याे, अहिले पनि त्यति नै प्रभाव पारिरहेको छ। 

खास के हो भने संक्रमण तीव्र बनिसक्दा पनि विद्यालय बन्द भएनन्। बालबालिका विद्यालय गएकाले उनीहरूमा अलि बढी समस्या देखिएको हो। 

पहिले विद्यालय बन्द थियो, त्यही भएर बालबालिकामा धेरै संक्रमण देखिन पाएन। अहिले विद्यालय खुला छ, त्यसैले कोरोना फैलाउने माध्यम विद्यालय बन्यो। 
 
तर, कुरा यो पनि हो कि संक्रमण देखिएका बालबालिकामध्ये अति न्यून मात्र अस्पताल भर्ना  भएका छन्, मृत्युदर पनि न्यून छ। यो भाइरस बढी कडा होइन, बढी संक्रामक भने पक्कै हो। 

विगत र अहिलेको सरकारी तयारी र प्रयास उस्तै  छ कि फरक पाउनु भएको छ? सरकारले संक्रमण नियन्त्रण गर्न बेलैमा कदम नचालेको भन्ने आरोप छ नि? 

पहिलेको कुरा नगरौं कति गल्ती–कमजोरी भए होलान्। केही प्रभावकारी काम पनि भए। अन्य देशको तुलनामा नेपालले संक्रमण नियन्त्रणमै राख्यो। हामीले आलोचना गर्याैं र, सुझाव पनि दियौं।

अहिले नयाँ प्रारुपको जुन भाइरसको जोखिम छ। त्यसलाई नियन्त्रण गर्न सरकार लागेको अनुभव मैले गरेको छु। भारतकै कुरा गर्ने हो भने भारत बल्ल–बल्ल निर्देशिका जारी गरेर ठोस कदमसहित संक्रमण नियन्त्रण गर्न लागेको छ। 

हामी भारतभन्दा एक महिना पछाडि छौं। तर, नेपाल सरकारले ठोस कदम चाल्न थालिसक्यो। विद्यालय बन्द गर्ने, लकडाउनदेखि कर्फ्यु लगाउनसक्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइसकिएको छ। भिडभाड बन्द गर्ने, रात्रिकालीन व्यवसाय गर्न नदिने र रंगशाला बन्द गर्ने कार्य यसअघि नै भइसकेको छ। 

कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलेभन्दा कडा होइन, पहिलेको उमेर समूहमा जे हुन्थ्यो, अहिलेको उमेर समूहलाई पनि त्यही हुन्छ। 

यस कार्यका लागि सरकारलाई धन्यवाद दिनै पर्छ। तर, हाम्रो समस्या भनेको खोपमा ढिलाइ र परीक्षण गर्ने सवालमा चाहिँ हामी कमजोर छौं।

अहिले हामी कम परीक्षण कम संक्रमितको अवस्थामा छौं। तर, संक्रमणको अहिलेको दर हेर्दा हामीले भारतलाई  जितिसक्यौं। कम परीक्षणमै यतिका मात्रामा संक्रमित देखिनु संक्रमण व्यापक छ भन्ने पक्कै हो।   

भारत र नेपालबीच खुला सिमाना छ, भारतमा कोरोना संक्रमण उच्च रूपमा वृद्धि भएको अवस्थामा नेपालको अवस्था कस्तो होला? 

अहिले नै महामारी नियन्त्रणमा आउँदैन। अर्को दुई महिनासम्म कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्छ। हामीलाई हम्मे पर्नेवाला छ। 

आफंै खोप उत्पादन गरी दैनिक लाखौं व्यक्तिलाई खोप दिइरहे पनि भारतलाई संक्रमण नियन्त्रण गर्न सकस परिरहेको अवस्था छ। भारतलाई महामारी नियन्त्रणमा सकस परिरहेको छ, हामीलाई पनि अवश्य सकस पर्छ। बंगलादेश र पाकिस्तान पनि यही परिस्थितिसँग जुधिरहेको छ। 

आशा गरौं–भारतजस्तो अवस्थामा हामी पुग्दैनौं किनकि हामीले संक्रमण नियन्त्रण गर्ने प्रभावकारी उपाय अपनाउन थालिसक्यौं। नियन्त्रण गर्न भने अवश्य गाह्रो पर्छ किनकि यो नयाँ भेरियन्ट हो। 

नयाँ कोरोना भेरियन्ट संक्रामक बनिरहेको अवस्थामा भ्याक्सिनको प्रभावकारिता कस्तो देखिएको छ ?

खोप अहिले हेरीहेरी छ। अहिले हामीले लगाइरहेको चीनको सिनोफार्म खोप ब्राजिलमा कम प्रभावकारी देखियो। फेरि अन्य मुलुकमा भने निकै प्रभावकारी देखिएको छ। 

युके भेरियन्ट देखापरेका मुलुकमा पनि खोपले निकै काम गरेको देखिएको छ। तुलनात्मकरूपमा ब्राजिल र साउथ अफ्रिकन भेरियन्ट अलि कमजोर हो कि भन्ने देखिएको छ। 

तर, त्यसले फरक पर्दैन। त्यति हुँदाहुँदै पनि यो खोप ७० देखि ८० प्रतिशतसम्म प्रभावकारी देखिएको छ। हिजो अनुमति पाएको रसियन खोप स्पुतनिक पनि प्रभावकारी पाइएको छ। यसले नयाँ भेरियन्टसँग जुध्न सक्छ भन्ने पुष्टि भएको छ। 
  
महामारी नियन्त्रण तथा यसबाट बच्न आमनागरिक, सरकार र विज्ञको भूमिका कस्तो  हुनुपर्छ ?

नागरिकले गर्नुपर्ने कार्य त्यति धेरै छैनन्। उनीहरूले सरकारको निर्देशन मानिदिए पुग्छ। भिडभाड नगर्ने, स्यानिटाइजर प्रयोग र मास्क लगाइदिए पुग्छ।

 भारतमा अहिले जे भइरहेको छ, यो सबै नागरिकको कारणले हो। यसमा भारत सरकारलाई मात्र गाली गर्न मिल्दैन। 

भारतीय नागरिकले मास्क लगाउन तथा स्यानिटाइजर प्रयोग गर्न छाडेपछि संक्रमण बढेको देखिन्छ। भिडभाड बढेपछि  संक्रमण व्यापक बनेको देखिन्छ। 

हामीले पनि मास्क लगाउन छाड्यौं र, भिड गर्न थाल्यौं भने अवस्था उताको जस्तै हुन्छ। अब सरकारले जसरी हुन्छ छिटो खोप ल्याउन पहल गर्नुपर्छ। सरकारले यसअघि नै चारवटा खोपलाई अनुमति दिइसकेको छ। 

गाउँ–गाउँ पुगेर  र्‍यापिड एन्टिजेन टेस्ट गर्नुपर्छ। त्यस्तै, सरकारले स्वास्थ्य शिक्षा दिन आवश्यक छ। सबैले मास्क र स्यानिटाइजर प्रयोग गरेमा मात्र पनि संक्रमण नियन्त्रणमा मद्दत पुग्छ। 

Logo