सबै कुरा खुकुलो पार्‍यौं, अहिले कोरोना संक्रमणको भयावह स्थिति भोग्दैछौं : प्रा.डा. वन्त

सबै कुरा खुकुलो पार्‍यौं, अहिले कोरोना संक्रमणको भयावह स्थिति भोग्दैछौं : प्रा.डा. वन्त


कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वभर सन्त्रास फैलाइरहेको छ। कोरोनाको डबल म्युटेन्ट भेरियन्टले पछिल्लो समय भारत सबैभन्दा बढी प्रताडित बनेको छ।

नेपालमा पनि कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ। नेपालगन्जमा विगत २४ घन्टामा ११ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यका, नेपालगन्जलगायत मुलुकका मुख्य सहरमा अवस्था जटिल बन्दै गएको छ। नेपाल–भारतको खुला सिमानाले गर्दा तराईका जिल्लामा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ।

पछिल्लो समय तीव्र रूपमा फैलिएको कोरोना संक्रमणको स्थिति, सरकारले अपनाउनुपर्ने रणनीति र जनसधारणको दायित्वबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यले जनस्वास्थ्यविद् प्राध्यापक डाक्टर शरदराज वन्तसँग गरेको कुराकानीको सम्पादित अंशः

कोरोना संक्रमणको दोस्रो लहरलाई कसरी हेर्नुभएको छ?

हामीले बुझ्नैपर्ने कुरा के भने नेपालमा केही महिनादेखि संक्रमण दर निकै कम हुँदै गएको थियो, र यसको विस्तार कम हुँदै थिए। त्यसको मतलव यो थिएन कि हामी संक्रमणको जोखिमबाट पूर्ण रूपमा मुक्त भइसकेका छौं।
 
हाम्रो समुदायमा संक्रमणका स्रोतहरूको उपस्थिति यथावत् थियो। अवसर पाउनसाथ त्यसले संक्रमण विस्तार गर्ने सम्भावना बढेर गएको थियो।
 
यस बीचमा हाम्रा कतिपय जनस्वास्थ्यका मापदण्ड खुकुलो हुँदै गए र, सञ्चार माध्यमबाट कोरोनाको प्रकोपमाथि हामीले विजय प्राप्त गर्‍यौं भन्ने खालका सन्देश प्रवाह भयो। आमनागरिकमा पनि त्यस्तै मनोविज्ञान विकास भयो।

यसले गर्दा अपनाइरहेका जनस्वास्थ्यका मापदण्ड पनि खुकुलो हुँदै गए। त्यही बेलामा संक्रमण विस्तार हुने जोखिम हामीसँग यथावत थियो। संयोग यस्तो भइदियो।

भारतमा यस अवधिमा अनपेक्षित ढंगबाट जुन किसिमको संक्रमण विस्तार भयो, त्यसले हामीहाँ जोखिम झन् बढाइदियो। 

अब हामीले बुझ्नुपर्ने कुरा के छ भने भारतमा विस्तार भएको संक्रमणले हामीकहाँ जोखिम बढाएको मात्र हो र, नेपालमा कोरोना संक्रमण वृद्धि हुनुको कारण भारत मात्र चाहिँ पक्कै होइन। 

यसबीच, हाम्रा अभ्यास र कोरोना भाइरसबाट बच्ने सुरक्षाका विधि खुकुलो पारिनुले हामीभित्रकै स्रोतहरूको पनि विस्तार भएको हुन सक्छ। भारतमा जुन किसिमको संक्रमण विस्तार भयो, त्यहाँ पनि जनस्वास्थ्यको मापदण्डकै प्रभाव हो।
 
रोजगारको सिलसिलामा भारत पुगेका नेपाली स्वदेश फर्कदा होस् वा भारतमै जोखिम उच्च भएकाले सुरक्षाका लागि भारतीय मूलका नागरिक नेपाल प्रवेश गर्दा होस्, नेपालमा जोखिम चाहिँ बढाएको छ।
 
यी दुवै कुरा मिलेका कारण हामीकहाँ आजको नतिजा आएको भन्न सकिन्छ। यसबीच, हामीले सीमा सुरक्षा प्रणाली र जनस्वास्थ्यको मापदण्ड हिजोको जस्तै यथावत राख्न सकेको भए अहिले भारतमा त्यो हदसम्म संक्रमण वृद्धि हुँदा पनि नेपालमा त्यस्तो प्रभाव पर्ने थिएन। हामीले सबै कुरा खुकुलो पार्‍यौं र, आज यो अवस्था आएको सहजै भन्न सकिन्छ।   

कोरोना संक्रमण तीव्र बन्दै जाँदा नेपालमा जोखिम झन् बढ्दै गएको छ। कोरोनाको नयाँ भेरियन्टले कस्तो रुप लिन सक्छ? 

अहिले जुन नयाँ किसिमको भाइरसको कुरा भइरहेको छ। त्यो पहिलेभन्दा बढी संक्रामक छ भन्ने कुरा स्थापित भएको हुनाले यसले थप जोखिम बढाएको छ।

यसको मतलव हामी अझ बढी सतर्क हुनुपर्छ भन्ने हो। तर, यदि हामीले जनस्वास्थ्यका मापदण्ड सही रूपमा पालना नगर्ने वा अभ्यास नगर्ने हो भने पुरानै प्रजातिको भाइरस पनि यो संक्रमण विस्तारका लागि काफी छ।

अहिले नयाँ प्रारुपको भाइरसको कुरा छ, यसले हाम्रा लागि थप जोखिम निम्याउँछ। अर्को कुरा के छ भने यो भाइरस नयाँ भए पनि यसबाट बाँच्न अपनाउनुपर्ने सतर्कता वा अंगीकार गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड एउटै हो।

यसबीच, हाम्रा अभ्यास र कोरोना भाइरसबाट बच्ने सुरक्षाका विधि खुकुलो पारिनुले हामीभित्रकै स्रोतहरूको पनि विस्तार भएको हुन सक्छ। भारतमा जुन किसिमको संक्रमण विस्तार भयो, त्यहाँ पनि जनस्वास्थ्यको मापदण्डकै प्रभाव हो।

पुरानो प्रजाति वा अहिलेको प्रजातिको भाइरस होस्, हामीले सुरक्षित रहन जनस्वास्थ्यका मापदण्ड अंगीकार गर्नैपर्छ, त्यसलाई भुल्नु हुँदैन। त्यसैले पुरानो वा नयाँ भनेर त्रास फैल्याउने कुरा नगरौं। भाइरसको असर त्यही हो, प्रभाव त्यही हो। त्यसबाट सुरक्षित रहन जनस्वास्थ्य मापदण्ड सही ढंगले अंगीकार गर्न चाहिँ नभुलौं। 

संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले कस्तो प्रयास गरिरहेको छ, उक्त प्रयासलाई एउटा नीति बनाउने कुरा, अर्को कार्यान्वयनको पाटोबाट हेरिनुपर्छ भनिन्छ। सरकारका महामारी नियन्त्रणका कार्यलाई कसरी हेर्नुभएको छ?  

नेपाल सरकारले अहिले सुरुआती चरणमा जेजस्तो काम गरिरहेको छ। त्यो सकारात्मक छ। जहाँसम्म नीति र निर्देशिका बनाउने कुरा छ, त्यो बिल्कुल स्वभाविक हो। आवश्यक पनि छ। 

सरकारले स्कुल बन्द गर्‍यो। भिडभाड काम गर्न आदेश दियो। यातायातमा  भिड कम गर्र्न निर्देशन दिएको छ। ती आधारभूत कुरा हुन्। 

सरकारले जुन काम गर्‍यो, ती सकारात्मक छन्। तर, सवाल के छ भने नीति जारी गर्दैमा, निर्देशिका सार्वजनिक गर्दैमा यो प्रकोपको विस्तार रोकिन्छ त?
 
अहिलेको चुनौती भनेको तिनै नीति र निर्देशिका कार्यान्वयन हो। कार्यान्वयनको तहसम्म पुग्दा हामी अझै खुकुलोपन देखिरहेका छौं।

केही स्थानीय तहमा पालिका स्वयंले लकडाउन घोषणा गरेका छन्। लकडाउन कति प्रभावकारी हुँदैछ भन्नेबारे ती क्षेत्रबाट त्यस्तो केही प्रतिक्रिया आएको छैन। हामीले जेजस्ता नीति र निर्देशिका जारी गर्‍यौं, त्यसअनुसार कार्यान्वयन र एक्सन भएजस्तो मैले अनुभूति गरेको छैन। 

हाम्रा लागि असाध्यै महत्वपूर्ण पाटो चाहिँ कार्यन्वयन नै हो।   नीति कार्यन्वयन नहुने अवस्थाले हामीलाई विगतमा धेरै पाठ सिकाएको छ।

 हिजो तिनै नीति बनाउन हामीलाई निकै समय लागेको थियो। हिजोको सिकाइले हामीलाई आज समयमै चनाखो हुन मद्दत गर्‍यो।
 
हिजोको सिकाइबाट अहिले हामी धेरै कुरा कार्यान्वयन गर्न सक्छौं।  हिजोका कमिकमजोरीबाट सिकेर हामीले नयाँ सिराबाट त्यसलाई ‘एक्सन’मा ल्याउन सके क्षति न्यूनीकरण गर्न सकिन्छ। तर, त्यो अनुभूत हुन पाएको छैन।

अहिले चाहिँ महामारी नियन्त्रण गर्न सरकारले तत्काल कस्तो कदम चाल्नुपर्छ? 

हामीले तत्काल तीन पक्षमा कदम चाल्नैपर्ने हुन्छ। पहिलो, कसरी संक्रमणको विस्तार कम गर्ने, दोस्रो, संक्रमितको व्यवस्थापन कसरी गर्ने र तेस्रो, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटालाई कसरी समेट्ने भन्ने हो। 
 
यी तीनै पक्षलाई एकपछि अर्को होइन कि समनान्तर रूपमा लैजान सक्नुपर्छ। संक्रमणको विस्तार रोक्न नीतिनिर्देशिका ल्याउनुका साथै  कार्यान्वयन गर्नुपर्छ।

 संक्रमितको व्यवस्थापन गर्न कार्यक्रम ल्याउनुपर्छ।  कोभिडबाट पीडित नागरिकका सामाजिक, आर्थिक, मनोवैज्ञानिक पक्षलाई पनि सम्बोधन गर्न राज्य लाग्नैपर्छ र, यसको तयारी देखाउनैपर्छ। 

थोरै थपौं, संक्रमणको विस्तार रोक्ने सवालमा म के भनूँ भने यसका दुइटा पाटा छन्।  एउटा, आयातीत संक्रमण कसरी रोक्ने भन्ने सवाल हो। विशेषतः हाम्रो दक्षिण छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने संक्रमितलाई कसरी रोक्न सकिन्छ भन्ने हो।

भारतले हामीलाई पक्कै जोखिम बढाएको छ। सिमाना कडिकडाउ नगर्ने हो भने हामी झन् जोखिममा पर्दै जान्छौं। तर, यसको मतलव यो होइन कि सिमानामा लकडाउन गर्नैपर्छ भन्ने चाहिँ होइन। यसअघि सीमा बन्द गर्दा जसरी नागरिकले पीडा व्यहोर्नुपर्‍यो, त्यस किसिमको होइन कि सीमालाई पनि चलायमान बनाउँदै संक्रमण नियन्त्रण गर्ने प्लान आवश्यक छ।

भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न सकियोस्, होल्डिङ सेन्टर व्यवस्थापन हुनुपर्‍यो, परीक्षण व्यवस्था हुनुपर्‍यो, यी कुरा मिलाउन सक्ने हो भने आयातीत संक्रमण नियन्त्रणमा आउँछ।
 
अर्को पक्ष, सिमानाको व्यवस्थापनले मात्र संक्रमणको जोखिम रोकिँदैन। संक्रमण त हाम्रो समुदायबाट पनि फैलिरहेको छ। समुदायबाट फैलिने संक्रमण रोक्न माथि उल्लिखित विषयलाई यहाँ पनि प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न आवश्यक छ। यी दुई पाटा चाहिँ संक्रमणको विस्तार रोक्न गर्नुपर्ने आवश्यकीय कदम हुन्। 

अब, कोभिड–१९ महामारीको अन्त्य कहिले र कसरी हुन्छ, केही अनुमान गर्न सकिन्छ ? 
यसको अनुमान लगाउन सकिँदैन। भोलिका दिनमा यो संक्रमणको स्वरुप कस्तो हुन्छ भन्ने कुरा हाम्रो व्यवहारले नै निर्धारण गर्ने हो।
 
संक्रमणको चक्र तोड्न हामीले गरेको प्रयास कति प्रभावकारी रह्यो, यसको गति तोड्न त्यसले फरक पार्छ। अहिले पनि हामीसँग अथाह सम्भावना र अवसर छन्।

नीति–नियमलाई व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्यौं भने अहिले पनि हामी संक्रमण रोक्न सक्छौं। हाम्रो विगतको अनुभवले यही भन्छ। 

जुन–जुन देशमा अहिले संक्रमण भयावह भइरहेको छ, त्यहाँ निर्देशिकाको प्रभावकारी कार्यान्वयनको अभाव देखियो। 

हाम्रो देशमा पनि नयाँ भाइरसको विस्तार बढ्दै गइरहेको छ। विगतभन्दा राम्रो ‘एक्सन प्लान’ बनाएर प्रभावकारी कार्यान्वयन गर्नसके संक्रमण परास्त गर्न सक्छौं। अब हामी नै गैरजिम्मेवार भयौं भने यसको विस्तार कस्तो होला, यसले पुर्‍याउने क्षति कस्तो होला? सोच्न पनि सकिँदैन। त्यता नजाऔं, हामी प्रभावकारी कार्यन्वयनको बाटो अबलम्बन गरौं।

यो भाइरसको अन्त्य त्यतिखेर हुने हो, जतिखेर विस्तार हुन पाउँदैन। यो भाइरसको आयु त्यति खेर लम्बिरहन्छ, जबसम्म यो विस्तार हुन पाइरहन्छ।

अब यसको प्राकृतिक मृत्यु नभइ यसको अन्त्य हुँदैन। प्राकृतिक मृत्यु गराउन यसको विस्तारमा कमी ल्याउन आवश्यक छ, जुन हामीले अघि छलफल गरेको नीति कार्यक्रम र निर्देशिकाको सफल कार्यान्वयन नै हो।

Logo