यसरी नै संक्रमण बढिरहे एक सातामै नेपालमा स्वास्थ्य संकट आउँछः डा.सन्तोष दुलाल (अन्तर्वार्ता)

यसरी नै संक्रमण बढिरहे एक सातामै नेपालमा स्वास्थ्य संकट आउँछः डा.सन्तोष दुलाल (अन्तर्वार्ता)


नेपालमा कोरोना नयाँ भेरियन्टका कारण संक्रमण तीव्र रुपमा फैलिएपछि अवस्था विकराल बन्दै गएको छ। नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। संक्रमणबाट ३ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने अझै ५४ हजार ४१ संक्रमित रहेका छन्। 

दिनानुदिन संक्रमण दर बढ्दै गएपछि यसले स्वास्थ्य प्रणालीमा चुनौती मात्र थपेको छैन, कतै स्वास्थ्य संकट नै पैदा हुन्छ कि भन्ने आशंका जन्माएको छ। नेपालमा संक्रमणको अबस्था, संक्रमण फैलिनुका कारण र सरकार र नागरिकले गर्नुपर्ने प्रयासबारे केन्द्रबिन्दुकर्मी विकास आचार्यले जीवाणु वैज्ञानिक तथा संक्रामक रोग विज्ञ डा.सन्तोष दुलालसँग गरेको संवादको सम्पादित अंशः

नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। एउटा विज्ञको रुपमा यसलाई कसरी हेर्नुहुन्छ?

कोरोना भाइरसको नयाँ भेरियन्टले संक्रमण उच्च बिन्दुमा पुगिरहेको छ। यसलाई कोरोनाको दोस्रो लहर भन्दा पनि दोस्रो तरंगभन्दा ठिक होला।
 
दोस्रो तरंगले विश्वका केही मुलुकबाहेक अन्य सबै मुलुकलाई नै त्राहिमान बनाइरहेको छ। यसले जनस्वास्थ्यमा विपद् सिर्जना गरेको छ।

 विगत १४–१५ दिनयता नेपालमा संक्रमण दर भारतको भन्दा उच्च देखिएको छ। आइतबार र सोमबारको नेपालको संक्रमण दर भारतको भन्दा दुई गुणा बढी छ। भारतको २१.७ प्रतिशत छ भने नेपालको ४३ प्रतिशतभन्दा बढी छ। 

संक्रमण दरको कुरा गर्ने हो भने आइतबार र सोमबार पुष्टि भएको संक्रमित संख्या ७ हजारभन्दा माथि छ, जुन अहिलेसम्मकै उच्च हो। यो उच्च दरले कोरोना पनि उच्च बिन्दुमा पुगेको देखाउँछ। यो भयावहताको संकेत हो। 

अर्को महत्वपूर्ण कुरा सोमबारको तथ्यांकमा परीक्षण गराएकामध्ये ६० प्रतिशत संक्रमित ३९ वर्षभन्दा माथिका  छन्। यसले के इंगित गर्छ भने धेरैजसो वयस्कमा कोरोनाको संक्रमण देखिएको छ। 

तथ्यांकले यस्तो देखाए पनि वयस्क मानिस पनि लक्षणबिना परीक्षण गराउन आएको पाइँदैन। सामान्य लक्षण भएका, मध्यम लक्षण भएका वा उच्च लक्षण भएकाहरु पनि परीक्षणको दायरामा कम आउने गरेका छन्, जसको कारण संक्रमण चुला–चुलामा पुगिरहेको छ।

 यदि सरकारले समयमै उनीहरुको कन्ट्रयाक ट्रेसिङ नगर्ने हो भने मानिसहरु यता र उता हिँड्ने, लखर–लखर हिँड्ने कारणले संक्रमण सबैलाई सार्दै जाने अबस्था छ। त्यसले गर्दा  हामी अहिले नै कोरोनाको दोस्रो तरंगलाई रोक्न नसक्ने अबस्थामा पुगिसक्यौं। 

तथ्यांकमै टेकेर भन्नुपर्दा गर्दा १४–१५ दिनअघि र आज आकाश पातालको फरक छ संक्रमित पहिचानमै। यस्तै अबस्था रहिरहे जनस्वास्थ्यलाई विपदतर्फ धकेल्छ भन्दा फरक नपर्ला। 

अहिलेको स्वास्थ्य संकटकाल लगाउनुपर्ने बेला हो कि होइन? यहि रफ्तारमा संक्रमण बढे हाम्रो स्वास्थ्य प्रणालीले थेग्न सक्ला? 

अहिलेको संक्रमण दर एक हप्तादेखि नै एकदमै उच्च दरमा  बढिरहेको छ। संक्रमण दर अचाक्ली बढिरहेको छ। 

यदि यसरी नै संक्रमण बढिराख्ने हो भने अबको एक हप्तामै हाम्रो जनस्वास्थ्य विपदमा पर्छ। हाम्रा पूर्वधारहरुले अहिले नै थाम्न नसकिने अबस्था आइसक्यो। अबको एक हप्तापछि त झन् सरकारले थाम्नै सक्दैन।

 अहिले नै सरकारले हात उठाइसक्यो। अबको एक हप्तामा त भयावह अवस्थामा पुग्छौं हामी। अहिले भनेको यथाशीघ्र कोरोना संक्रमितलाई व्यवस्थित गर्न केके आवश्यक पर्छ। 

जस्तैः अक्सिजनको आवश्यकता पर्न सक्छ, भेन्टिलेटरसहित सपोर्टिभ ट्रिटमेट आवश्यक पर्न सक्छ, त्यति मात्र नभएर अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीलाई कहाँकहाँ कसरी परिचालन गर्ने देखि लिएर स्वास्थ्य संरचनामा पनि ध्यान दिन आवश्यक छ।

 अहिलेनै यो कुरा ध्यान नदिने हो भने जनस्वास्थ्य संकट आइसक्यो, यसले भोलि कस्तो नतिजा ल्याउँछ भनेर अहिले अनुमान गर्न पनि गाह्रो छ। 

संक्रमणको हिसाबले हेर्दा नेपालको अहिलेको ‘सिनारियो’ चाहिँ कस्तो देखिन्छ?

 अहिलेको ‘सिनारियो’ हेर्दा हामी भारतभन्दा एक हप्ताले पछि छौं। भारतमा एक हप्ताअगाडि तीन लाखको हाराहारीमा संक्रमित र सरदर दुई हजार मृत्यु भैरहेको थियो प्रत्येक दिन।
 अहिले भारतमा महामारी छ भन्न मिल्दैन्, भारतमा अहिले जनस्वास्थ्य विपद् हो। भन्न खोजेको अहिले भारतमा भयावह स्थिति छ। 

आर्थिक र सामाजिक अबस्थामा नकरात्मक असर छ, यसैलाई हामी जनस्वास्थ्य संकट वा विपद् भन्छौं। हामी पनि एक दुई दिनमै भारतको जस्तै अवस्थामा प्रवेश गर्दै छौं। 

त्यही भएर अहिले हामीले सकेसम्म छिटो खोप ल्याउने, बढीभन्दा बढी जनसंख्यालाई खोप दिने काम गर्नुपर्छ।

विश्वमा अहिले भएको अध्ययन अनुसार एक डोज खोप लगाएका व्यक्ति पनि गम्भीर अवस्थामा पुग्नबाट जोगिएको तथ्य सार्वजनिक भएको छ। त्यसैले अहिलेको आवश्यकता भनेको व्यापक परीक्षण, खोपको प्रयोग, व्यवस्थित कन्ट्रयाक ट्रेसिङ–ट्रयाकिङ, अस्पतालमा बेड बढाउने र जनशक्तिलाई सही सदुपयोग गर्ने हो। 

अहिले उपत्यका र विभिन्न स्थानमा लकडाउन लगाइएको छ। संक्रमणको चेन ब्रेक गराउन लकडाउनलाई कडा बनाउनुपर्छ। महत्वपूर्ण कुरा सरकारले मानिसलाई घरदेखि बाहिर ननिस्किने बनाउनुपर्छ।

तीन महिनाअघि प्रधानमन्त्रीले सबैलाई तीन महिनाभित्र खोप लगाउने उद्घोष गर्नुभयो त्यो अहिले कस्तो अवस्था छ तपाईंहरुले देख्नुभएकै छ। आजसम्म २० प्रतिशत नागरिकले पनि खोप लगाउन पाएका छैनन्।

तीनै तहका सरकारले कमससेकम गरिबीको रेखामुनि रहेका नागरिकलाई कसरी बचाउने भनेर सोच्नुपर्छ किनकि दैनिक ज्याला मज्दुरी गर्नेहरुले काम गर्न नपाउँदा खाना खान पाउँदैनन्।
 त्यसैले सरकार भएको अनुभूति गराउने बेला पनि यही हो। त्यहीअनुसारको काम गर्न जरुरी छ। अहिले हामी देखिरहेका छौं–प्रदेशमा सरकार गिराउने र बनाउने प्रतिस्पर्धा छ, केन्द्रको हालत पनि त्यही छ। 

अबको एक महिनाचाहिँ कोरोना संक्रमण नियन्त्रणका लागि तन–मन–धन दिन आवश्यक छ। जुनसुकै संस्था होस् वा उद्योगधन्दा, सबैले संक्रमण नियन्त्रणमा सरकारलाई सघाउन आवश्यक हो यो समयमा।

अहिले चट्याङ परेको अवस्थाजस्तै हो, हामी कोही पनि अछुतो हुँदैनौं। हामी सबैलाई करेन्ट लागे जसरी संक्रमित बनाउदै लैजान्छ कोरोनाले।

 छिटोभन्दा छिटो यसलाई परास्त गरेर हामी अगाडि बढ्न सबैको हातेमालो आवश्यक छ। अहिलेको अवस्थामा कहाँबाट कति खोप ल्याउन सकिन्छ, ल्याउनुपर्छ। कोरोनासँग लड्ने चिज ज–जसले दिन्छन्, ल्याउने र सरकारले पनि तुरुन्त कोरोनाकै लागि बजेट छुट्याएर कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र व्यवस्थापनमा यथाशीघ्र लाग्न जरुरी छ।


 
नयाँ भेरियन्टले किन यस्तो सकस निम्त्यायो, के छ त्यस्तो नयाँ भेरियन्टमा?

यसमा यस्तो छ। दक्षिण एशियाली मुलुक चाहिँ एक अर्कासँग सिमा जोडिएका छन् र, एउटादेखि अर्को मुलुकमा जान खुला सिमाना छ। 

भारतमा बंगलादेशको मानिस आउनसक्ने, भारतमा नेपालको मानिस आउन र जानसक्ने अवस्था छ। यसमा कुनै रोकटोक र अनुगमन नहुने परिपाटी छ। 

मजदुरले पनि सहज रुपमा आउनेजाने गर्ने गरेका छन्। अर्को चाहि भारतको जनसंख्या नै १ अर्ब ४० करोडको हाराहारीमा छ। सुरुमा अर्थात् पहिलो छाललाई भारतले बेवास्ता गरिदियो। जबकि वेलायतमा तेस्रो र चौथो छाल आइसकेको थियो। तर, भारतले यी सबै कुरालाई बेवास्ता ग¥यो, त्यसैको कारण भारत यो अवस्थामा छ।
 
अर्काे कुरा भारतमा कुम्भमेला, चुनावी आमसभा, नाराजुलुस गर्न कहिल्यै रोक लागेन। कुनै पनि स्वास्थ्य सावधानी  नअपनाइ यी काम भए। तसर्थ, अहिले यो अवस्था निम्तिन पुग्यो। 

नेपालमा पनि यही अवस्था देखिएको छ। संक्रमण नियन्त्रण गर्नुपर्ने बेलामा नेपालमा पनि जुलुस र भीड जम्मा गर्ने काम भयो, हुँदै छ,जबकि यो अवस्थामा सरकार बनाउने र ढाल्नेभन्दा पनि कोरोना नियन्त्रणमा लाग्नुपर्ने थियो, त्यहाँ पनि सरकार चुकिरहेको छ।   

मुलुकभरका सबै अस्पताल भरिभराउ छन्, आइसियु पाउन छाडिसक्यो। सरकारले पनि हात उठाएजस्तो देखिन्छ, यस विषयमा के भन्नुहुन्छ?

 कुनै पनि विपद् वा महामारीमा सरकारले चाहिँ ठोस कार्ययोजना र नीति बनाएर अघि बढ्नुपर्ने हुन्छ। नेपालमा अहिले हेर्ने हो भने प्रायःजसो विज्ञहरु पार्टीका कार्यकर्ता छन्।
 
कोरोनाका विषयमा दख्खल नभएका र अल्पज्ञानीहरुले जेजस्ता सुझाव दिन्छन् सरकारले त्यही मानिरहेको छ। यो महामारीलाई सरकार स्वयंले बुझ्न कोशिस नै गरेन।

 जसले नीति निर्देशिका बनाउँछन्, जसले व्यवस्थापनको जिम्मा लिएका छन् र, संक्रमण रोकथामलाई रणनीति बनाउछन्, ती मानिसहरुलाई नै यो महामारीको विषयमा ज्ञान छैन भन्न रुचाउछु म।
 
तीन महिनाअघि प्रधानमन्त्रीले सबैलाई तीन महिनाभित्र खोप लगाउने उद्घोष गर्नुभयो त्यो अहिले कस्तो अवस्था छ तपाईंहरुले देख्नुभएकै छ। आजसम्म २० प्रतिशत नागरिकले पनि खोप लगाउन पाएका छैनन्।
 
फेरि भन्छु हाम्रो नेताहरु अधिकांश समय सरकार बनाउने र गिराउने अंकगणितको पछि लाग्नुभयो, अहिले पनि अवस्था त्यही छ। 

यसप्रति संवेदनशील बन्नुपर्नेमा नेतृत्व कहिल्यैं संवेदनशील बनेन्। नेपालसँग त झन् अथाह सम्भावना र अवसर थियो, अहिले पनि छ। 

हामीले पटक–पटक नयाँ भेरियन्टले दुःख दिन्छ भन्यौं, तर सरकारले सुनेन। दोस्रो छालकै कुरा गर्ने हो भने थोरै इतिहासलाई पनि केलाउनुपर्छ, इतिहासमा पनि स्पाइनिस फ्लुको दोस्रो छालमा बढी नागरिकको मृत्यु भएको र गम्भीर असर पारेको तथ्य आज पनि हामीसँग छ। 

पहिलो छालभन्दा दोस्रो छाल बढी जोखिम र घातक भन्ने त त्यतिखेर पनि सावित भएको रहेछ त? भनेपछि, यहाँ मैले जोड्न खोजेको के भने यहाँ जो निरन्तर अध्ययन अनुसन्धान गरिरहेको छ, त्यसको कुरा सुनिँदैन।  संक्रमणको विषय थाहा नभएका मानीसको सुझावको सुझाव सुनेर सरकार कुदिरहेको छ। 

यस्तो पाराले नेपालीले अझ कति दुःख पाउनुपर्ने हो, त्यसको सीमा छैन्। कोरोनाले पछिल्लो समय वयश्क मानिसमा संक्रमण र मृत्यु गराइरहेको छ। यी तथ्यलाई ध्यान दिँदै सरकारले राम्रो नीति तथा कार्ययोजना अविलम्ब ल्याउन जरुरी छ।

अब नेपाल सरकार, विज्ञ तथा नागरिकले चाहिँ के–के काम गर्नुपर्छ ?

लकडाउनलाई थप कडाइ र प्रभावकारी बनाएमा संक्रमणको रेखा जब तल झर्छ, अनि मात्र क्रमशः लकडाउन खोल्नुपर्छ। पहिलो त, जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने, अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसन वाडस् र अक्सिजनको अभाव खड्किन नदिन काम गर्नुपर्याे।
 
स्वास्थ्यकर्मीलाई उच्च मनोबलमा काम गराउने, अविलम्ब खोप ल्याउने कार्य गर्नुपर्छ किनभने एक डोज खोप लगाएकाहरु पनि संक्रमित भएमा त्यति जोखिम हुँदैनन्।
 
त्यस्तै, छिटोभन्दा छिटो कोरोनाका लागि बजेट छुट्याउने र विज्ञसहित बसेर बनाएको नीति कार्यन्वयन गर्नेजस्ता काम गर्न जरुरी छ। 

अहिले एउटा अवसर पनि हो। कमसेकम हाम्रो दैनिक प्रशासनिक क्षेत्रलाई प्रविधिमैत्री बनाउने, प्रयोगकर्तालाई तालिम दिने पनि र घरमा बसीबसी हामीले दैनिक प्रशासनिक काम गर्न सक्यौं भने त्यतिकै पनि भिड कम हुन्छ। 

त्यसैले सरकार सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउने कुरामा लाग्न जरुरी छ। अर्को नागरिकले गर्ने काम चाहिँ सरकारले निर्देशन दिएर अपिल गरेको वा अनुरोध गरेको कुरा मान्ने, फोन र प्रविधिबाट गर्न सक्ने काम छ भने त्यसैको प्रयोग गर्ने र बाहिर निक्लनु गर्ने भएमात्र निक्लने .त्यो पनि जनस्वास्थ्यको मापदण्ड अंगीकार गरेर।
 
अब तपाई संक्रमित हुनुहुन्छ भने आहारविहारमा ध्यान दिने, तापक्रम नाप्ने, अक्सिजनको मात्रा नाप्ने काम गर्नुपर्याे। विशेष कुरा चाहिँ घरबाट ननिक्लने यही हो, यसको रोकथामको मूलमन्त्र।

कोरोनाको अन्त्य कसरी होला,  यसरी नै हामीलाई दुख दिइराख्छ, तेस्रो, चौथो छाल बनेर? 

कोरोनाको अन्त्यको सवालमा के छ भने अहिलेको कोरोनाको नयाँ भेरियन्ट आणुवांशिक संरचना परिर्वतन गरी भनौं उत्परिर्वतन भएर निकै संक्रामक बनेको छ। यसलाई खोपले नै केकति काम गर्छ भन्ने कुरा चुनौतीपूर्ण रहेको छ।
 
कति देशहरुमा यसले चौथो चरणमा आक्रमण गरिरहेको छ। पूर्ण रुपमा खोप लगाएका देशहरुमा पनि यो नियन्त्रणमा आएको छैन। इजरायल त्यसको उदाहरण हो। 

त्यहाँ अहिले पनि संक्रमण देखिएको छ। यसले के सन्देश दिएको छ भनो यो महामारीलाई हामी अहिलेनै अनुमान लगाउन सक्दैनौं र, अनुमान फेल खान्छ भन्ने देखिन्छ। 

कतिपय वैज्ञानिकहरुले भन्नुभएको छ कि कोरोना पृथ्वीमा रहिरहन्छ। एचआइभी, रुघाखोकीको भाइरस जसरी नै यो रहिरहन्छ भन्ने पनि कतिपय वैज्ञानिकले आधार र तथ्य पेस गरिसकेका छन्। 
त्यही भएर अहिले नै यो नियन्त्रणमा आउँछ भन्न सकिँदैन। तर, चीनमा अहिले सम्म पनि दोस्रो लहर आएको छैन कोरोनाको। 

चीनले विभिन्न रणनीति चालेर यसलाई नियन्त्रणमा लिएको छ। त्यस्तै हामीले पनि यसलाई नियन्त्रणमा राख्न सक्यौं भने दैनिक एक सय संक्रमित फेला परे पनि त्यसले त्यति जोखिम पुर्याउँदैन। तर, अहिले नै कोरोना कता जान्छ, कसरी जान्छ भनेर भन्न सकिने अबस्था छैन।

Logo