एमाले संसदीय दलले किन जारी गर्‍यो ह्वीप?, के भन्छन् सचेतक विशाल भट्टराई?

एमाले संसदीय दलले किन जारी गर्‍यो ह्वीप?, के भन्छन् सचेतक विशाल भट्टराई?


नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल र झलनाथ खनालपक्षीय सांसदहरूले राजीनामा दिने चर्चाबीच पार्टी संसदीय दलले आइतबार बेलुका निर्देशन (ह्वीप) जारी गरेको छ।

दलका प्रमुख सचेतक विशाल भट्टराईले ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ अनुसार ह्वीप जारी गरेका हुन्।

केन्द्रविन्दुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीका सांसदहरूलाई संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको बताए।

जारी गरिएको ह्वीपको उल्लङ्घन कुनै पनि सांसदहरूले नगर्ने उनले विश्वास व्यक्त गरे।

तर, उल्लङ्घन भए राजनीतिक दलसम्बन्धी ऐनसँगै दलको विधानअनुसार कारबाही हुने चेतावनी दिएका छन्। उनै प्रमुख सचेतक भट्टराईसँग केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ :

निर्देशन (ह्वीप) जारी गर्नुपर्ने अवस्था किन आयो?

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने जस्तो महत्वपूर्ण संसदीय गतिविधिमा ह्वीप जारी गर्ने त भइहाल्छ नि।

निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय सांसदहरूले राजीनामा दिने चर्चा चलिरहेको बेला जारी भएको छ, ह्वीप उनीहरू लक्षित हो?

जङ्गजी यो एकदम सामान्य प्रक्रिया हो। आवश्यकता महसुस गरेपछि जारी गरिन्छ। अहिले उहाँहरूसँग नजोड्दा हुन्छ। नियमित प्रक्रियाबाहेक केही पनि होइन यो।

ह्वीप पालना होला र?

म विश्वस्त छु, ह्वीप उल्लङ्घन हुँदैन। पालना हुन्छ।

उल्लङ्घन भयो भने…?

कारबाही हुन्छ ।

के अन्तर्गत?

संसदीय दलको विधानअन्तर्गत।

अनि, फेरि उहाँ (नेपाल–खनालपक्षीय सांसदहरू) ले राजीनामा दिने चर्चा पनि छ। दिए भने?

राजीनामा दिनुहुन्न। दिने अवस्था छैन।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुभन्दा पहिले पार्टी संसदीय दलको बैठक बसेन। किन?

ओलीले होइन, कोभिडबाट हाम्रै पार्टीको २१ जना सांसदहरू संक्रमित हुनुहुन्छ। यस्तोबेला दलको बैठक कुनै पनि हालतमा सम्भव छैन नि। त्यहाँ ह्वीपमै लेखेका छौं..हेर्नुहोला।

अन्तिममा, विश्वासको मत प्रधानमन्त्री ओलीलाई प्राप्त होला?

विश्वासको मत प्रधानमन्त्रीज्यूलाई प्राप्त हुन्छ। विश्वासको मत प्राप्त गरेरै हामी अगाडि बढ्न चाहन्छौं। केहीगरी विश्वासको मत प्राप्त भएन भने पनि हामीलाई खास फरक पर्दैन। किनभने नेकपा एमाले २०४८ सालपछि सबैभन्दा धेरै प्रमुख प्रतिपक्षी दलको भएर जनमत निर्माण गरेको र जनताको काम गरेको पार्टी हो।

हामी आवश्यक पर्यो भने सरकारमा बसेर राम्रो काम गर्छौं अरु भन्दा । हुँदै भएन भने बाहिर बसेर पनि जनताको काम गर्न हामी सक्छौं।
 

Logo