विश्वविख्यात न्युरोवैज्ञानिक भन्छन्-ध्यानले रोगसँग लड्ने क्षमता बढाउँछ

विश्वविख्यात न्युरोवैज्ञानिक भन्छन्-ध्यानले रोगसँग लड्ने क्षमता बढाउँछ


न्युरोवैज्ञानिक, दार्शनिक एवं लेखक स्याम ह्यारिस नैतिक प्रश्नहरूप्रति वैज्ञानिक दृष्टिकोण र पडकास्टमा विवादास्पद तर महत्वपूर्ण विषय उठानका लागि चिनिन्छन्। 

जीवनको फलदायी वर्ष भारत र तिब्बतमा बिताएका ह्यारिस पाश्चात्य जगतमा ध्यानका प्रखर पक्षधर हुन्। दैनिक जीवनको व्यस्ततताबाट अलग्याइँ आफ्नै चित्तमा ध्यान दिन चाहनेका लागि ह्यारिसले ध्यानका अधारभूत सिद्धान्त बुझाउन ‘वेकिङ अप’ नामक नयाँ एप ल्याएका छन्। 

ध्यान विज्ञान, ध्यानप्रतिको लगाव र ध्यान गर्नुपर्ने कारणबारे प्रस्ट्याउँदै उनले लिप्सम्यागलाई अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्ताको अनुवादित अंश यहाँ प्रस्तुत गरिएको छः 

वर्तमानमा जिउन मानिसका लागि निकै गाह्रो छ। यो मानवजातिको प्राकृतिक अवस्था हो कि हाम्रो सामूहिक लतको परिणाम हो?

– होइन, वर्तमानमा जिउन नसक्नु अहिलेको प्रविधिभन्दा पहिलेको कुरा हो। यो कुरा योगीहरूले हजारौँ वर्षअघि देखि गर्दै आएका छन्। तपाईं आफ्नो फोनबिना कुनै समुद्र किनारमा २४ घन्टा छाल र सूर्यास्तमा रमाएको कल्पना गर्नुस्। त्यहाँ तपाईंको संघर्ष तपाईंलाई पछ्याइरहने सोचको हल्लासँग हुन्छ। ध्यान गर्न सिकेका मान्छे त्यसप्रति अति नै संवेदनशील हुन्छन्। 

तपाईँले जति ध्यान गर्याे, त्यति मानिस स्वतन्त्र हुने बताउनुभएको रहेछ। त्यसलाई कसरी बुझ्न सकिन्छ?

–तपाईंलाई ध्यानको बारेमा ज्ञान नहुन्जेलसम्म तपाईं एकपछि अर्को नयाँ सोचमा हराइरहनु हुन्छ। त्यस सन्दर्भमा तपाईंलाई आफ्नो सोच सोचजस्तो लाग्दैन, आफैं जस्तो लाग्छ। 

तपाईं त्यसको भावनात्मक र मानसिक परिणामको सिकार बन्न पुग्नु हुन्छ। ती सोच क्रोधबारे छन् भने तपाईं क्रोधी बन्नुहुन्छ। वासनाबारे छन् भने तपाईं वासनामग्न हुन पुग्नुहुन्छ। यस स्थितिको विकल्पबारे पाश्चात्य मनोविज्ञानमा खासै चर्चा पाइँदैन। हामीले ध्यानमार्फत मात्र विकल्पबारे केही हदसम्म बुझ्न थालेका छौँ।    

तपाईंले ध्यानले स्वास्थ्यमा फाइदा पुर्याए पनि र नपुर्याए पनि ध्यान महत्वपूर्ण रहेको बताउनुभएको रहेछ, किन होला?

–मानिसले ध्यानले शारीरिक स्वास्थ्यमा पुर्याउने फाइदाबारे बढी नै चर्चा गरेको देखिन्छ। त्यसबाट फाइदा हुन्छ भन्नेमा मलाई संकोच छैन। त्यस कुराको पुष्टिका बारेमा भएको अध्ययनको संख्या कम छ।

 तैपनि, रोग प्रतिरोधात्मक क्षमता बढाउन, डिमेन्सिया नियन्त्रण गर्न र उमेर बढ्दै जाँदा हाम्रो कर्टेक्स पातलो बनाउन ध्यानको भूमिका हुन सक्छ। 

तर, त्यस कुराले ध्यानको असली क्षमतालाई छायाँमा पारेको छ। ध्यानले चेतनाको प्रकृतिबारे ज्ञान दिई तपाईंलाई मनोवैज्ञानिक कष्टबाट मुक्ति दिन्छ। ध्यान शारीरिक स्वास्थ्य वा साधारण सहजताको परिधिभन्दा माथि छ।

तपाईंको विगतको अनुभवको कुरा गर्ने हो भने तपाईंले सन्तहरूसँग बसेर १८ घन्टासम्म ध्यान गर्नुभएको छ। के त्यस किसिमको अठोट एक आदर्श उद्देश्य हो? अनि धेरै ध्यान गर्नु फराकिलो जीवनका लागि प्रत्युत्पादक हुन सक्छ कि सक्दैन?

– व्यक्तिअनुसार तपाईंले भनेअनुसार अवस्था सम्भव छन् जस्तो मलाई लाग्छ। कतिपय मानिस खुसी जीवन कसरी जिउने भनेर बुझ्न सक्दैनन्। ध्यानको माध्यमबाट बेखुसीको गाँठो फुकाउन खोज्छन्। 

तर, केही मानिसका लागि ध्यान सिक्न त्यसमा पूरै समाहित हुन जरुरी हुन्छ। यसले मानिसलाई १० मिनेट वा आधा घन्टा मात्र ध्यान गर्नेहरूको तुलनामा बढी परिचित बनाउन सक्छ। 

एकैदिन लामो समय ध्यान गर्नुभन्दा दैनिक १० मिनेट मात्रै फलदायी हुन्छ भन्ने मलाई लाग्छ। एकै दिनमा पनि एकै चोटी १०० मिनेट ध्यान गर्नुभन्दा १०० चोटि एक मिनेटका दरले ध्यान गर्नु उत्तम हो।    

हिजोआज तपाईंको ध्यानको दैनिक अभ्यास कस्तो छ? त्यसलाई तपाईँको समय तालिकामा कसरी राख्नुभएको छ?

– त्यो ठोस छैन। कहिले धेरै दिनसम्म ध्यान गर्ने समय हुँदैन, कहिलेकाहीँ छोटो समय ध्यान गर्छु, कहिलेकाहीँ आधा घन्टासम्म पुग्छ। सबै कुरा छाडेर आफूले आफैंलाई केही नसोच्ने अनुमति दिन सक्नु महत्वपूर्ण छ। 

तपाईंलाई त्यस बखत आफ्नो पूर्वनिर्धारित अवस्थासँग साक्षात्कार हुन्छ, जसमा तपाईंलाई सोचले भ्रममा राखिरहेका हुन्छन्।
     
हामी दुवैका एक–एक बच्चा छन्। बच्चाहरूमा ध्यानको बानी विकास गर्नलाई हामीले गर्नसक्ने केही छ?

–खासमा भर्खरै हामीले हाम्रो एपमा बच्चाहरूका लागि पनि सामग्री थपेका छौँ। मेरी श्रीमती अन्नाकाले विद्यालयमा पाँच वर्षसम्मका बच्चालाई ध्यान सिकाउँछिन्। एउटा कोठाभित्र १५–२० जना ६ वर्षका बच्चा १५–२० मिनेटका लागि ध्यान गरेको देख्दा मलाई खुसी लाग्छ। 

सुरुमै बच्चाहरूमा त्यस किसिमको धैर्य हुँदैन। ५–६ दिनको प्रशिक्षण आवश्यक हुन्छ। एउटा ६ वर्षको बच्चालाई उसको भावनाबारे सचेत गराउनसक्नु ठूलो उपलब्धी हो। 

बच्चाहरूलाई त्यो कुरा पढाउन पनि सकिन्छ र, हामीले विस्तारै उनीहरूलाई त्यस्तो वातावरण दिन पनि सक्छौँ।   

अनुवादः कुशल बस्नेत
 

Logo