चीनको अनुसरण गरिएको भए नेपालमा महामारी यस्तो भयावह हुने थिएनः डा. रमेश आचार्य

चीनको अनुसरण गरिएको भए नेपालमा महामारी यस्तो भयावह हुने थिएनः डा. रमेश आचार्य


कोरोना भाइरसविज्ञ डा. रमेश आचार्यले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टबारे विभिन्न अनुसन्धान गर्दै आएका छन्। गत वर्ष जनवरीमा चीनको उहानमा महामारी फैलिएपछि नेपाल फर्किएका डा. आचार्य नेपालले पर्याप्त समय पाएर पनि कुनै तयारी नगर्दा अहिले महामारीको अवस्था भयानक भएको धारणा छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट, नेपालमा महामारीको भयावह अवस्था, अपनाउनुपर्ने सुरक्षा सतर्कतालगायत विषयमा केन्द्रबिन्दुका लागि मनोज न्यौपानेसृजना राईले गरेको कुराकानीको सम्पादित अंशः

अहिले नेपालको कोरोना महामारीको भयावह अवस्थालाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ? 

एक वर्ष अगाडि चीनको उहानबाट नेपाल फर्किदा मैले सरकारलाई १३ बुँदे उहान गाइडलाइन दिएको थिएँ। त्यो गाइडलाइनमा ६ महिना या एक वर्षपछि नेपाल पनि उहानकै जस्तो  प्रकोपमा पुग्नेछ र, हाम्रो पूर्वतयारीका लागि यी काम गर्नुपर्छ भनी उल्लेख गरेको थिएँ।

तर, एक वर्षको अन्तरालमा कोभिड–१९ को दोस्रो वेभमा प्रतिशतको हिसाबले सबैभन्दा बढी संक्रमित हुने विश्वको दोस्रो देशमा नेपाल पर्याे। 

यहाँ आएर मैले देखेको केही महत्वपूर्ण विषय भनेको उहानको जस्तो रोगथामको  प्रमुख पूर्वतयारी कार्यान्वयन गरेको भए अहिले हामीकहाँ यस्तो भयावह स्थिति आउने थिएन। गाइडलाइन हुबहु कार्यान्वयन गरिएको भए आज हामी यसरी आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्टको खोजीमा हुने थिएनौं। 

मैले एक वर्ष अगाडि यस्तो प्रकोप हुन्छ भनेर भनेको थिएँ। यो भाइरस परिवर्तन हुने क्रममा नयाँ भेरियन्ट आयो भने अहिले भएका स्वास्थ्य पूर्वाधारले पुग्दैन भनेको थिएँ। 

आज हामी आइसियु, भेन्टिलेटर र अक्सिजन सिलिन्डरविहीन अवस्थामा स्वास्थ्यको सहारा र संरचना सबै कोल्याप्स हुने चरणमा छौं। 

अर्को महत्वपूर्ण कुरा उपकरण, रिसोर्स म्यानेजमेन्ट, पिपिई व्यवस्थापन, मेडिसिन ल्याउने सन्दर्भ छ। अहिले जति औषधि मौज्दात छ, यदि भारतबाट सप्लाइ भएन भने एक–दुई महिनापछि नपाउने अवस्थामा पुग्छौं र, पुग्दैछौं हामी।  

यो अवस्था आउनुमा हामी नेपालीको पनि गल्ती छ। हामी नेपालीहरुको बानी आफ्नो परिवारमा कसैको मृत्यु अथवा गम्भीर अवस्था पुगेपछि मात्रै साँच्चै भाइरस रहेछ भन्ने ठान्छौं।

यसबाट संक्रमित भएपछि मात्र हामी सिरियस हुँदा रहेछौं भनी महसुस गर्ने बानी छ। अन्यथा सामान्य लक्षण देखिएमा वा केही नागरिक ठिक भएपछि यसलाई रुघाखोकी वा सामान्य भाइरल ज्वरो रहेछ भन्ने प्रवृत्ति छ।

यो भाइरस पहिले पनि थियो र अहिले पनि त्यही त हो भन्ने भ्रमका कारण चरणबद्ध लापरबाही भयो। त्यही लापरबाहीका कारण आज हामी गम्भीर दुर्घटनाको सुरुआती चरणमा छौं। 

अहिले धेरै देशहरुले संक्रमण नियन्त्रण गरिसकेको अवस्था छ, उनीहरुले अपनाएको विधि र हामी चुकेको ठाउँ के हो? 

जतिखेर चीनको उहानमा संक्रमण ‘आउट ब्रेक’को स्थितिमा थियो। त्यो अवस्थामा पश्चिमा राष्ट्रहरु विशेषगरी अमेरिकाले पनि यो विषयलाई लिएर चिनियाँ भाइरस भनेको थियो र, अमेरिकाले हाम्रो देशसम्म आउँदैन, आए पनि हामी यसलाई नियन्त्रण गर्न सक्छौं, हामी स्वास्थ्य क्षेत्रमा बलियो छौं भनेकै हो नि! त्यसको ठिक २–३ महिनापछि अमेरिका पनि ‘आउट ब्रेक’को स्थितिमा पुगेको थियो। 

एक वर्ष अगाडि चीनको उहानबाट नेपाल फर्किदा मैले सरकारलाई १३ बुँदे उहान गाइडलाइन दिएको थिएँ। त्यो गाइडलाइनमा ६ महिना या एक वर्षपछि नेपाल पनि उहानकै जस्तो  प्रकोपमा पुग्नेछ र, हाम्रो पूर्वतयारीका लागि यी काम गर्नुपर्छ भनी उल्लेख गरेको थिएँ।

जतिबेला चीन कोरोना भाइरससँग लडिरहेको थियो, त्यतिबेला युरोपेली मुलुक यसबाट आक्रान्त थिएनन्। तर, चीनबाट जब ‘आउट ब्रेक’ भएर भाइरस युरोप हुँदै अमेरिका प्रवेश गर्यो। 

अमेरिकामा भाइरस प्रवेश गर्दै गर्दा त्यहाँका वैज्ञानिकलाई नियन्त्रमा ल्याउन सक्छौं भन्ने विश्वास थियो। तर, अवस्था त्यसको ठिकविपरीत हुन पुग्यो र, आजसम्म अमेरिकामा ७ लाख हाराहारी मानिसको मृत्यु भएको छ। 

 चीन, अमेरिका र युरोपेली मुलुक रोकथामको चरणमा छन् र, संक्रमण दर  घटिरहेको अवस्था छ। अहिले विशेषतः एसियाली मुलुकमा पनि भारत र नेपाल बढी आक्रान्त छन् भन्ने विषयलाई फरक ढङ्गले बुझ्न आवश्यक छ। 

संक्रमण रोकथाम गर्ने चीनको जुन योजना र उपाय छ, त्यो संसारकै सबैभन्दा राम्रो उदाहरण हो। किनकी यसमा चीनले गरेको जम्मा तीनवटा चीज मात्र हो।

पहिलो, चीनले रुट अफ ट्रान्समिसन भाइरस उत्पत्ति भएको मुहान अथवा भाइरस फैलिएको स्थान पत्ता लगायो र, यसलाई रोक्नका लागि त्यहाँका वैज्ञानिकदेखि हजारौं संख्यामा सबै क्षेत्रका मानवीय संशाधन फिल्डमै परिचालन भए, जसको कारणले चीन पूर्णरुपमा भाइरस रोक्न सफल पनि भयो।

दोस्रो, स्वास्थ्य मापदण्डका उपाय कडाइका साथ लागू भयो र, त्यहाँका नागरिकले अनुशासित भएर पालना गरे। अतिआवश्यक कामबाहेक नागरिक बाहिर निस्किएनन्। यदि निस्किनै परे पनि उनीहरुले पन्जा, मास्क, फेसशिल्ड लगाएर सामाजिक दूरी कायम गरे। समय–समयमा हात धुने कुरालाई गम्भीरतासाथ पालना गरे। 

तेस्रो, मेट्रो स्टेसन, एयरपोर्ट, मल, सपिङ सेन्टर, हस्पिटलमा २ देखि ३ घन्टाको अन्तरमा डिस्इन्फेक्सन औषधि छर्किइयो, जसले भाइरस, ब्याक्टेरिया नष्ट गर्न महत्वपूर्ण भूमिका खेल्यो। यसबाहेक बाहिरबाट आउने सम्पूर्ण उडान बन्द गरिए।

सार्वजनिक स्थल, मनोरञ्जल स्थल, रेष्टुरेन्ट, पार्क, मल, मेट्रो स्टेसन ७६ दिन पूर्णरुपमा बन्द गरिए। लकडाउन नभएर कफ्र्युकै अवस्थामा चीनले संक्रमण रोकथामका लागि नियमहरु लागू गरे अन्ततः सफल भएरै छोड्यो। 

यस्तै युरोप, अमेरिका, भुटानले भने यो एक वर्षको अन्तरालमा खोपलाई नै मुख्य प्राथमिकतामा राखेर आफ्ना अधिकांश नागरिकलाई खोप दिलाए। खोपकै कारणले संक्रमण दर पक्कै पनि कम भएको अवस्था छ।

हामीले चीन, अमेरिका वा यूरोपेली राष्ट्रहरु जस्तो त गर्न सक्दैनौं, भएका स्रोतहरु प्रयोग गरेर हामी के गर्न सक्छौं त ? 

नेपालमा पनि स्रोतसाधन नभएको होइन। नेपालमा भाइरोलोजिस्ट पढेका डाक्टरहरु छन्। डाक्टर हँुदाहँुदै पनि काम भइरहेको अवस्था छैन। कतिपय डाक्टरले आफूले जानेको काम गर्न पाएका छैनौं भनेको सुनेका छौं। 

अहिले मानवीय संसाधन व्यवस्थापन गर्ने कुरामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित विज्ञसँग एकदमै समन्वय गर्न जरुरी छ। तत्कालै हामी सबै नागरिकले खोप पाउन सक्ने अवस्था छैन।

त्यसैले संक्रमण रोकथामका लागि हामीले गर्नसक्ने भनेको छिमेकी देश भारतसँगका सीमानाकामा पिसीआर परीक्षण अनिवार्य गर्नुपर्छ। ती नाकाबाट भित्रिएका व्यक्तिहरुलाई सुरक्षाकर्मीकै निगरानीमा १४ दिन क्वारेन्टिन वा आइसोलेसनमा राख्नुपर्छ। 

रिपोर्ट नेगेटिभ नआएसम्म उनीहरुलाई कही पठाउनु हुँदैन। यस्तै, विमानस्थल भएर आउनेहरुलाई पनि १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नुपर्छ।

यी व्यक्तिहरुलाई यतिकै छाड्दा युरोपबाट आएको भेरियन्ट, इन्डियन भेरियन्ट, युके भेरियन्ट वा अन्य देशहरुबाट आएको भेरियन्ट समाजमा फैलियो। 

यस्तै, नेपालभित्रै म्युटेट भएको भेरियन्ट पनि हुनसक्छ किनकि यस्ता खालका भाइरसले १ सय २० दिनदेखि १ सय ५० दिनमा आफ्नो स्वरुप परिवर्तन गरी भाइरस जहिल्यै पनि म्युटेट भएर बढी संक्रामक वा कम संक्रामक चरणमा पुग्छ। त्यसकारण हामीले सिमावर्ती क्षेत्रहरुबाट आउने, विमानस्थलबाट आउनेहरुलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न सकियो भने ९० प्रतिशत रुट अफ ट्रान्समिसनलाई रोक्न सकिने पहिलो उपाय हुन सक्छ। 

चीनमा जब रुट अफ ट्रान्समिसन काटियो अनि  भाइरस फैलिएको मुहान (सोर्स अफ ट्रान्समिसन) नै चीनले बन्द गर्यो। मुहान नै बन्द भएपछि त्यहाँ अर्को वेब आउँदै आएन। चीन मात्र एउटा देश हो, जहाँ दोस्रो, तेस्रो, चौथो वेब आउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ। 

नेपालको स्वास्थ्य अवस्था कोल्याप्स हुने अवस्थाको परिदृश्यलाई नियन्त्रण गर्न राज्यले तत्काल अपनाउनुपर्ने त्यस्ता केही विधिहरु छन्? 

नागरिकहरुले अक्सिजन नपाएर मरिरहेको अवस्था छ। देशैभरिका सरकारी अथवा निजी अस्पतालमा अहिले नेपालको कूल जनसंख्याको २० देखि २५ प्रतिशत नागरिक अस्पतालमा पुग्न सक्ने अवस्था छ।

त्यसको ५ देखि १० प्रतिशत नागरिक आइसियुमा जान सक्छन् भने २ देखि ४ प्रतिशत भेन्टिलेटरमा जान सक्छन्। सातै प्रदेशको १० प्रतिशत जनसंख्यालाई आइसियु र २० प्रतिशत नागरिकलाई अक्सिजन आवश्यक हुन सक्छ। त्यसैले अब सरकारले सातै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्नु अहिलेको मुख्य काम हो। 

त्यस्तै अक्सिजन सिलिन्डर ल्याउने, अक्सिजन प्लान्ट निर्माण गर्ने, अक्सिजन ट्यांकर ल्याउने, पिपिई ल्याउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्थापन गर्नुपर्छ। 

नेपालमा देखिएका कोरोना भाइरसका भेरियन्टहरु कस्ता छन्? सर्वसाधरणले बुझ्ने भाषामा भन्नुपर्दा यो भेरिएन्ट कसरी म्युटेट बन्छ? 

भेरियन्ट भन्नाले यो कोरोना भाइरसको परिवार अथवा कोरोना भाइरसको नयाँ प्रजाति हो। नयाँ प्रजाति त्यति बेला देखा पर्छन्, जब भाइरसले स्वरुप अथवा स्पाइक प्रोटीन (जेनेटिक मेटेरियल) मा परिवर्तन गर्छ। 

स्पाइक प्रोटीन हाम्रो मानवीय कोष पहिचान गर्ने सेल हो। यी स्पाइक प्रोटीन र भाइरसको स्वरुपमा परिवर्तन हुँदा भाइरस कहिले बढी कडा भएर आउँछ। 

अहिले ब्राजिलको म्युटेट भाइरस सबैभन्दा कडा देखिएको छ। यसको स्वरुप १७ ठाउँमा परिवर्तन छ भने स्पाइक प्रोटीनमा १० ठाउँमा परिवर्तन भएको छ। 

त्यस्तै, युके भेरियन्टको स्वरुप २३ ठाउँमा परिवर्तन भएको छ भने स्पाइक प्रोटीन ९ ठाउँमा परिवर्तन भएको छ। इन्डियाको भेरियन्ट जसलाई बि.१.६१७ भनिन्छ, त्यो पनि कडा भएर आएको छ। 

त्यसकारण यी जति पनि भेरियन्टहरु छन्। यी भेरियन्टहरुमा जब परिवर्तन हुन्छन्, तिनीहरु म्युटेट भई रोगको स्वरुप या प्रोटीनमा परिवर्तन आउँदा बढी ठाउँमा परिवर्तन हुन्छन् या कम ठाउँमा परिवर्तन हुन्छन्। 

भाइरसहरु म्युटेट हुँदा कडा स्वरुपमा आउँछ। सन् २०१९ देखि आजसम्मको रिसर्चमा कडा स्वरुपमा आउने हजारौं म्युटेट भाइरसहरु छन्। 

विश्वका अधिकांश देशहरुमा भाइरस म्युटेट भएको छ। तर, कतिपय देशमा म्युटेट हुँदा कडा स्वरुप देखिएन। जब कडा स्वरुप फैलियो, त्यसले संक्रमण सार्ने दर पनि एकदमै छिटो बढायो।

अहिले नेपालमा इन्डियाको भेरिएन्ट फैलिएको अवस्था छ। यसबाहेक युके, ब्राजिलियन र अन्य ठाउँबाट आएका भेरिएन्ट पनि फैलिएका छन्। 

नेपालमा नयाँ भेरियन्ट कहिलेसम्म रहला वा फेरि तेस्रो लहर भोग्नुपर्ने हो कि?

संसारका ७–८ वटा देशहरु छन्, जहाँ कोरोना भाइरसको उद्गम हुने ठाउँ छ। तीमध्ये नेपाल पनि एक हो। 

नेपालमा कोरोना भाइरस ‘आउट ब्रेक’ पो चीनबाट भयो तर, कोरोना भाइरस त नेपालमा पहिलेदेखि नै छ। जस्तैः पोखराको चमेरे गुफा, जहाँ चमेराको रिजरभायर अल्फा र बिटा कोरोनाको घर हामीले नै पालेका छौं।

जबसम्म पोखराको चमेरे गुफा पूर्ण रुपमा नष्ट हुँदैन या तराईको स्नेक्समा सिक्विन्सिङ गर्दैनौं। पशुपति, स्वयम्भूका बाँदर अनि सुँगुर फार्ममा सिक्विन्सिङ गर्दैनौं, तबसम्म रिजरभायर यही रहन्छन्।

खाली ‘आउट ब्रेक’ मात्रै नभएको हो। त्यसकारण नेपालमा कोरोना भाइरस छैन, पहिले थिएन भन्ने होइन। नेपाल कोरोना रिजरभायरको एकदमै धनी देस हो । 

यस्तै। भाइरस कहिलेसम्म रहन्छ भन्ने सन्दर्भमा भाइरसहरुको यस्तो म्युटेसन हुने रुप भनेको अधिकतम १ सय ५० दिन र न्यूनतम ९० दिन हो। त्यसपछि यस्ता भाइरसले कुनै न कुनै रुप परिवर्तन गरेर अर्को वेब लिन सक्छन् या न्युट्रल भएर बस्छन्। त्यसैले यो अगस्टको अन्तिमबाट यो वेब फेरि न्युट्रल हुन्छ। 

फेरि नेपालको कूल जनसंख्यामा कति प्रतिशत नागरिक संक्रमित भए भन्ने महत्वपूर्ण पाटो हो। यदि शतप्रतिशत नागरिक प्रभावित भए भने यसबाट बन्ने एन्टीबडी विकास भइसकेपछि कम्तिमा ६ महिनासम्म मानिस पुनः अर्को वेबबाट संक्रमित हुने सम्भावना एकदमै कम हुन्छ। तर, यो वेबले कति प्रतिशत नागरिकलाई सुरक्षित राख्छ भन्ने अर्को महत्वपूर्ण पाटो हो। 

यदि नागरिक शतप्रतिशत संक्रमित भए भने एकदमै न्यूनस्तरको संक्रमण आउन सक्छ। तर, यदि फेरि ३० देखि ४० प्रतिशत नागरिक कोभिड १९ वा नयाँ भेरियन्टबाट संक्रमित भएनन् भने फेरि तेस्रो अथवा चौथो वेब आउँदा ती नागरिक बढी संक्रमित हुन्छन्। 

हामीले जुन वेब भोगिरहेका छौं, तर, चीनमा त्यस्तो देखिएन? 

चीनमा जब रुट अफ ट्रान्समिसन काटियो अनि  भाइरस फैलिएको मुहान (सोर्स अफ ट्रान्समिसन) नै चीनले बन्द गर्यो। मुहान नै बन्द भएपछि त्यहाँ अर्को वेब आउँदै आएन। चीन मात्र एउटा देश हो, जहाँ दोस्रो, तेस्रो, चौथो वेब आउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ। 

चीनमा लगभग एक हजारभन्दा बढी चमेराका गुफा र चमेरा पालेका घर नष्ट गरिएको छ। यस्तै सिफुड बजारमा पालिएका चीज नष्ट गरिएको छ। त्यस्तै, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको छ।

दीर्घकालीन रुपमा सरकारले के–कस्ता नीतिगत परिवर्तन गर्नुपर्छ? 

सरकारले तुरुन्त अस्पताललाई अपग्रेड गर्नुपर्छ। अक्सिजन प्लान्ट निर्माण, आइसियु, भेन्टिलेटर, बेड थप, मानवीय संसाधन व्यवस्थापन गरिनुपर्छ। डाक्टर अनि नर्सलाई तयारी अवस्थामा राख्नुपर्छ। 

अर्को महत्वपूर्ण कुरा रिसर्च हो। हाम्रो देशमा रिसर्चरहरु छन्। तर, उनीहरुले उपयुक्त स्थान पाएका छैनन्। 

हामीले भएका मानवीय संसाधनलाई परिचालन गर्न सकेनौं। यो सरकारको सबैभन्दा ठूलो कमजोरी हो। महामारीका बेलामा अपवाह फैलाउने, भाइरस केही होइन भनेर नचाहिने कुरा बोल्ने व्यक्तिहरुलाई राज्यले नियन्त्रण गर्नुपर्छ। यस्ता भ्रम फैलाउने व्यक्तिहरुलाई सरकारले कारबाही गर्नुपर्छ। 

 

Skip This
Logo