हामीले गल्ती गरेका छैनौं, जनभावनाको कदर गरेका हौंः प्रदेश सांसद साउद

हामीले गल्ती गरेका छैनौं, जनभावनाको कदर गरेका हौंः प्रदेश सांसद साउद


नेपाल कम्युनिष्ट पार्टी एमालेका माधवकुमार नेपाल पक्षका १७ जना संसदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशसभामा विश्वासको मत दिए। जसका कारण मुख्यमन्त्री भट्टको खड्गो टरेको छ।

भट्ट आफू अल्पमत हुँदा हुँदै विपक्षीको मत चोरेर सत्ता टिकाउने दोस्रो मुख्यमन्त्री बन्न सफल भए। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि एमालेको मतले मुख्यमन्त्री पद जोगाएका थिए।

प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका थिए।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए। नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे। 

त्यसो त केन्द्रमा एमाले पार्टीलाई एकतावद्ध बनाउनु पर्छ भन्दै दोस्रो र तेस्रो तहका नेता सक्रिय भएर लागिरहेका छन्। तर, यही बीचमा पुनः एमाले माधव पक्षले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगाईदिएपछि एमाले एकतावद्ध हुनेमा संशय पैदा भएको छ।

पार्टी अध्यक्षको ६ बँुदे एकता प्रस्तावले एमाले एकतावद्ध हुने छनक देखाएका पनि थिए तर, सुदूरपश्चिममा भएको फ्लोरक्रसले एकता प्रक्रिया बिथोलिने सम्भावना बढेको छ।

सुदूरपश्चिममा एमाले माधव नेपालले किन पार्टीको ह्वीप मानेन? आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर किन गुमायो? पार्टीले कारवाही गरे के गर्नुहुन्छ, भन्दै केन्द्रबिन्दुकर्मी विकास आचार्यले सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद अमरबहादुर साउदसँग कुराकानी गरेका छन् । साउद लगायत १७ प्रदेश सदस्यले भट्टलाई विश्वासको मत दिएका थिए, उनीहरु माधव पक्षमा खुलेका सांसद हुन् । हेरौं संवादको सम्पादित अंश:

माननीय ज्यू, किन मुख्यमन्त्री भट्टको पद जोगाईदिन महत्वपूर्ण ठान्नु भयो? आफ्नै नेतृत्वको सरकार बन्ने अवसर किन खेर फाल्नु भयो?

हामीसँग अरु केहि विकल्प थिएन र देखेनौं। हामीले सुदुर पश्चिमको अंकगणितलाई हरेक हिसाबले मुल्यांकन गर्यौं। संसदमा सबैभन्दा ठूलो दल नेकपा एमाले भएपनि कुनै अर्को दलसँग गठबन्धन नगरि बहुमतको सरकार बन्ने अबस्था थिएन। 

हरेक हिसाबबाट हेर्दा नेकपा माओवादीनै एकमात्र विकल्प लाग्यो, हिजो पार्टी एक हुँदाका हामी सत्ता साझेदार पनि थियौं, त्यसैले हामीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका हौं।

जनताले माओवादी केन्द्र र एमालेलाई रुचाएका हुन्, त्यहि भएर जनताले केन्द्रदेखि प्रदेशसम्म करिब दुई तिहाई मत दिए । अहिले हामी त्यहि जनताले दिएको जनमतको कदर गर्न पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नु भएका त्रिलोचन भट्टलाई विश्वास गर्नुको निकल्प नै थिएन ।

हामीले भट्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिने संसदीय दलको आठौं बैठकबाट निर्णय गरेका हौं, मत पनि दियौं, हामीले भोट माग्दा जनतालाई स्थिर सरकार दिने भनेका थियौं, यो त्यसैको निरन्तरता हो।

एमाले पार्टीको केन्द्र र प्रदेशले कमिटीले तपाईंहरुलाई विपक्षमा मत दिन ह्वीप जारी गरिएको थियो, तर एमाले संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको बहुमत सांसदले भने पक्षमा मतदान गर्ने निर्णय गर्नुभयो, अब यसलाई के भन्नुहुन्छ, तपाईंहरुलाई ह्वीप उल्लंघनको आरोप लागेको छ नी?

हाम्रो दृष्टिकोणले त पार्टीको ह्वीप उल्लंघन त आज विपक्षमा मतदान गर्ने सात जनाले गर्नु भयो भन्ने हाम्रो बुझाई छ।

अहिलेको गण्डकी र लुम्बिनी प्रदेशका केहि मान्यज्यूहरुलाई उहाँहरुको पार्टीले कारवाही गर्यो तर, अदालतले उहाँहरुको कारवाही जसरी अमान्य भनेर पुनः सांसदहरुलाई प्रदेशमा पुनर्बहाली गरिदियो त्यो अवस्थालाई हेर्दा हामी १७ जनाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्ने व्यख्या त्यो गलत हुन्छ।

बरु, ह्वीप त सातजनाले मान्नुभएन।

संंसदीय दलको बहुमतले गरेको निर्णय नमान्दा उहाँहरु चाहिँ ह्वीप नमानेको आरोप लाग्छ।

जहाँसम्म पार्टी स्थायी कमिटी र प्रदेश कमिटीको कुरा छ, अहिलेको परिस्थितीमा हाम्रो पार्टीभित्र जीवनकै सबैभन्दा कठिन मोडमा हामी उभिएको अबस्था छ।

केन्द्रमा होस् वा प्रदेशमा होस् वा स्थानिय तहमा ठूलो संकट आएको छ। पार्टीभित्रको आन्तरिक मतभेदका कारण नेतृत्व तहदेखि कार्यकर्तासम्म दुरी बढेको छ। अर्को अहिलेको अवस्थामा कसलाई–कसलाई स्थायी कमिटी मान्ने क–कसलाई प्रदेश कमिटी मान्ने ?

प्रधानमन्त्री ओली पार्टीको नवौं महाअधिवेशनबाट निर्वाचित भएको हिसाबमा उहाँलाई अध्यक्ष मान्ने कुरा हामीले मानेकै छौं र त्यसलाई मान्न सकिन्छ।

जहाँसम्म स्थायी कमिटी त्यसपछिको अन्य कमिटी लगायत पदाधिकारी छन्, त्यो त नवौं महाधिवेशनबाट निर्देशन भए अनुरुप त छैन। अब अहिले हामीले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टलाई मान्नुपर्ने रे।

अध्यक्ष कर्ण थापा रे।

उनीहरु त पार्टीको नवौं महाअधिवेशनबाट चुनिनु भएको होइन । कोहि व्यक्तिले टीका लगाएको भरमा त नेता मान्न सकिँदैन होला।

अब, टीका लगाएको व्यक्तिलाई नेतृत्व मानेरपछि लाग्न सकिँदैन, समग्र सुदूरपश्चिमका जनताले दिएको निर्देशनलाई आत्मसाथ गर्दै हामी अघि बढेका हौं। त्यसैको प्रतिफल आज बहुमत सदस्यले पक्षमा मतदान गयौं। पार्टीको नियम अनुसार हामी चलेका छौं, यो हाम्रो बुझाई हो।

नेकपा एमाले पार्टी आधिकारिकरुपमा विभाजित भएको छैन, तपाईंहरुले यो जोखिम उठाउँदा अध्यक्ष ओलीले कारवाही गर्ने लगभग पक्का छ। प्रदेश कमिटीले त कारवाही गर्छौं भनिसक्यो। तपाईंहरुले अरुको घर जोगाउन आफ्नो घर किन आगो लगाउनु भयो ?

जहाँसम्म कारवाहीको कुरा छ। हामी १७ जना सांसदलाई पार्टीले कारवाही गर्छ भन्ने मलाई विश्वास लागेको छैन।

पार्टीले कारवाही त कि पार्टीको ह्वीप नमान्दा कि आफ्नो दल त्यागेर अर्को दल प्रवेश गर्दा पार्टीले कारवाही गर्ने हो। हाम्रो विधानले त्यो भन्छ। हामीले यो दुईवटै काम गरेका छैनौं। हामीलाई त्यसको डर छैन।

अन्तिममा यो जोखिम उठाउँदा कतै गल्ति पो गरियो कि, नगर्नु पर्ने काम गरियो भन्ने लागेको छ कि छैन? 

हामीले गल्ती गरेका छैनौं, हामीले त न्याय गरेका छौं जस्तो लाग्छ। जहाँसम्म पार्टीमा एकताको कुरा छ।

हामी पार्टी विभाजनको पक्षमा छैनौं, हिजो, आज र भोलि पनि हामी पार्टी एक हुनुपर्नेमा जोड दिन्छौं।

पार्टी नेतृत्वलाई अहिले पनि पार्टीलाई एकताबद्ध बनाउन हामी अनुरोध गर्छौं। हामी फुटको पक्षमा छैनौं, आज पनि हामी एमाले हौं, भोलि पनि बन्न पाउँ भन्ने हाम्रो चाहना छ।

Logo