माधव पक्षका सांसद राई भन्छन्, ‘नयाँ पार्टी दर्ता मात्र विकल्प हुँदै होइन’

माधव पक्षका सांसद राई भन्छन्, ‘नयाँ पार्टी दर्ता मात्र विकल्प हुँदै होइन’


नेकपा एमालेको एकता कायम राख्न भनेर गठित कार्यदलका सदस्यहरूसँग सांसदहरूले छलफल गर्दैछन्। छलफलमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदहरू सहभागी हुने भएका छन्।

उनीहरू पार्टी एकता जसरी पनि कायम हुनुपर्ने अभियानमा छन्। अभियानमा संलग्न सांसद जयकुमार राईसँग कार्यदलका सदस्यहरूसँग गर्न लागेको छलफलबारे केन्द्रविन्दुकर्मी जङ्ग तामाङले ६ प्रश्न गरेका छन्।   

एकता कार्यदलसँग सांसदहरूले किन छलफल गर्न लाग्नुभयो?

एमाले पार्टी एकता गर्ने माननीयहरूको अभियान छ। त्यसले गर्दा १० सदस्यीय कार्यदलका नेताहरूले आफ्नो काम कहाँसम्म पुर्यायो? त्यस सम्बन्धमा उहाँहरूसँग छलफल गरौं भनेर छलफल गर्न लागिएको हो। एकता प्रक्रियालाई अगाडि बढाउन परेको अप्ठ्यारो भए के हो? हामीले के सहयोग गर्न सक्छौं? त्यसबारे नै आजको हाम्रो छलफल केन्द्रित हुन्छ।

कार्यदल पार्टी एकता कायम गराउने प्रक्रियामा कहाँ पुगेर अल्झिएको तपाईंहरूको ठम्याइ हो?

कार्यदलका सदस्यहरू काम चाहिँ गरिरहनु भएको छ। हामीले यसलाई सकारात्मकरूपमा लिएका छौं। तर, परिणाम नआउनुञ्जेल एकता प्रक्रियाका लागि चालिएका कदमहरूले सार्थकता पाएको भन्ने अवस्था भएन। यद्यपि, पार्टी एकता कायम गराउन ढिला भएको छ। चाँडो कसरी एकता कायम गराउन सकिन्छ? र, एकता कार्यदललाई के सहयोग गर्न सकिन्छ? हाम्रो चासो यसमा हो र उहाँहरूसँग छलफल गरेर अघि बढ्छौं।

तपाईंहरूको पहिलो विकल्प पार्टी एकता कायम कि नयाँ पार्टी हो?

पार्टी एकता कायम गर्ने हो। नयाँ पार्टी दर्ता हाम्रो पहिलो विकल्प होइन। भए त पार्टी दर्ता गरिहालिन्थ्यो नि। तर, हाम्रो पहिलो प्राथमिकता नै पार्टी एकता हो। कुनै पनि हालतमा नेकपा एमाले एकताबद्ध हुनुपर्यो।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल जसरी विभाजित हुनुहुन्छ, त्यसरी नै तपाईं सांसदहरू पनि विभाजित हुनुहुन्छ। यस्तो अवस्थामा पार्टी एकता कसरी होला?

होइन, नेताहरूबाट विभिन्न मञ्चमा अहिले तिक्तता पोखाइ भइरहेको छ। त्यो विस्तारै हट्दै जान्छ। आखिर एमाले पार्टी त पहिलो तह, दोस्रो तह र तेस्रो तहका सबै मिलेर बनाएको हो नि। पहिलो तह अर्थात्् शीर्षस्थ नेताहरूले मात्रै पार्टी बनाएको होइन। लाखौं लाख कार्यकर्ताहरूको योगदानको परिणाम हो नेकपा एमाले। त्यसले गर्दा शीर्षस्थ नेताहरूमा के बेमेल छ? मिलनविन्दु के हो? त्यो खोजिनुपर्छ र असन्तुष्टि के मा हो? पार्टीभित्रै बसेर उहाँहरूले घनिभूत छलफल गर्नुपर्छ भन्ने हामी माननीयहरूको माग हो। बैठक बसेर पार्टी एकतालाई अन्तिमरूप दिनुहोस् भन्ने पनि उहाँहरूलाई हाम्रो आग्रह छ। पार्टी एकता कायम सम्भव छ। भिन्नभिन्न ‘आइडिओलजी’ बोकेको पार्टी एकता भइरहेकै छन्। हाम्रो त एउटै विचार, एउटै सिद्धान्त, एउटै संगठन र एउटै स्कुलिङ छ। नमिल्ने भन्ने सम्भावना छैन।

पार्टी एकता कायम गराउन ढिलाइ हुनुमा के ‘फ्याक्टर’ ले काम गर्यो भन्ने ठम्याइ हो?

पार्टी एकताको निम्ति असहज परिस्थिति अहिलेको घटनाहरूबाट निम्तिएको होइन। विगतकै तिक्तापूर्ण घटनाक्रमको उल्झन छ। जस्तोः प्रतिनिधिसभा दुईपटकसम्म विघटन गर्ने काम संविधानसम्मत् छैन, प्रतिगामी छ पार्टीको एक पक्ष (वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष) ले भनिरहेको अवस्था छ।

अर्को पक्ष अध्यक्ष केपी ओली) ले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने र सहयोग गर्ने भन्ने कुरा गरिरहेको छ। यी कमिकमजोरी विगतमा पार्टीमा भयो। कमिकमजोरी भएरै नेकपा एमाले विपक्षी दलको हैसियतमा आइपुग्यो। 

र, पार्टी विधिसम्मत् चलेन, विधानअनुसार चलेन, सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व अर्थात् २ जेठ २०७५ को विन्दुबाट एमालेको बैठक र जनवर्गीय संगठनहरू क्रियाशील हुनुपर्ने थियो। त्यो नभएको पनि नेता नेपाल पक्षले उठाइरहेको कुरा हो। 

जबकी, माओवादीले २ जेठ २०७५ अगाडिको स्थितिबाट संगठनलाई अगाडि बढायो पनि। तर, हाम्रोमा भएन। त्यसो भएको हुनाले सरकारबाट हाम्रो पार्टी हट्नुपर्यो। परिणामतः हाम्रो पार्टी कठिन परिस्थितिमा पुग्यो।

एकता कार्यदलले तयार गरेको र नेता नेपालपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको सहभागिताबिनाको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको १० बुँदे सहमतिबारे पनि आज छलफल हुन्छ?

ती बुँदाहरूबारे चाहिँ हामी सांसदहरूलाई एकता कार्यदलमा रहेका नेताहरूले ‘ब्रिफिङ’ गर्नुहुन्छ। 

Skip This
Logo