के कारण हुन्छ क्यान्सर?, लाग्नै नदिन के गर्नु पर्छ?: डा. प्रसिको (वरिष्ठ क्यान्सर रोग विशेषज्ञ)

के कारण हुन्छ क्यान्सर?, लाग्नै नदिन के गर्नु पर्छ?: डा. प्रसिको (वरिष्ठ क्यान्सर रोग विशेषज्ञ)


पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण क्यान्सर घरघरको रोग बन्दै गएको छ। क्यान्सरका कारण दैनिक कैयौं व्यक्तिले ज्यान गुमाउँदै आएका छन्।  

यसै परिप्रेक्षमा नेपाल क्यान्सर अस्पतालका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.गिसुपनिखा प्रसिकोसँग क्यान्सरका लक्षण, उपचार पद्धति  र बच्ने उपायबारे केन्द्रबिन्दुका लागि मनोज न्यौपानेसृजना राईले गरेको कुराकानी।

क्यान्सर के हो ?

हाम्रो शरीर विभिन्न कोषिका (सेल) हरुले बनेको हुन्छ। सामान्यतयाः ती कोषिकाहरुलाई हेर्दा परिवर्तन भएको नदेखिए पनि तिनीहरू बन्ने र बिग्रिने क्रम भने जारी हुन्छ। कुनै कोष ३ देखि ४ दिनमा परिवर्तन भइरहेको हुन्छ, यसो भन्नुको अर्थ नयाँ सेल आइरहेको हुन्छ र, पुरानो सेल गइरहेको हुन्छ। 

हाम्रो शरीरको छालादेखि लिएर सबै ठाउँमा यो प्रक्रिया चलिरहेको हुन्छ। तर, यो कुनै प्रक्रियामा कुनै कारणले गर्दा कोषिकाहरु अनियन्त्रित तरिकाले बढ्दै गयो, त्यसलाई हामीले नियन्त्रण गर्न सकेनौं भने त्यो ट्युमर बन्न जान्छ। 

ट्युमर दुई प्रकारको हुन्छः बेनायन र म्यालिग्नेन्ट। म्यालिग्नेन्ट ट्युमर भयो भने पछि त्यो क्यान्सर हुन्छ।  

क्यान्सरका कारण? 

क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिँदैन। तर, ३५ प्रतिशत क्यान्सर हाम्रो रहनसहन र खानपानबाट हुने गर्छ। फोक्सोको क्यान्सरको मुख्य कारण धुमपान हो। कुनै क्यान्सर हाम्रो खानपानले पनि हुन्छ। जस्तैः पोलेको सेकुवाको अधिक सेवन, धेरै तारेभुटेका खानेकुराको सेवन। 

अल्कोहल बढी सेवनले पेटको क्यान्सर हुन सक्छ। त्यस्तै, हाम्रो रहनसहनमा भएका रसायनले पनि क्यान्सर हुने सम्भावना हुन्छ। ढुसी परेका खानेकुरा खायौं भने ‘लिभर’ क्यान्सर हुने जोखिम हुन्छ। तर, हामी यी कुरालाई भने परिवर्तन गर्न सक्छौं। 

हामीले परिवर्तन गर्न नसक्ने भनेको वंशानुगत कारणले हुने क्यान्सर हो। वंशानुगत क्यान्सरमा महिलामा हुने स्तन क्यान्सर र अण्डाशयमा हुने क्यान्सर मुख्य हुन्। यस्तो क्यान्सर जन्मबाटै आउने हुनाले हामी यसलाई परिवर्तन गर्न सक्दैनौं। 

हाम्रो शरीर विभिन्न कोषिका (सेल) हरुले बनेको हुन्छ। सामान्यतयाः ती कोषिकाहरुलाई हेर्दा परिवर्तन भएको नदेखिए पनि तिनीहरू बन्ने र बिग्रिने क्रम भने जारी हुन्छ।

तर, हामीले गर्न सक्ने भनेको सुरुआतमा थाहा पाउन कोसिस गर्ने। सुरुमै थाहा भयो भने क्यान्सर निको पार्न सकिन्छ । विगतमा क्यान्सर भएपछि निको हुँदैन भन्ने मान्यता थियो। 

त्यसैले ‘क्यान्सर नो एन्सर’ भनिन्थ्यो। तर, त्यो मान्यता गलत हो। क्यान्सर निको पार्न सकिन्छ। तर, यसमा दईवटा कुरा एकदमै महत्वपूर्ण छन्: 

पहिलो, क्यान्सर सुरुमै पत्ता लगाउनुपर्छ। अर्को, क्यान्सर बिरामीलाई जुन किसिमको उपचार पद्धति चाहिने हो, त्यो दिनुपर्छ। त्यसैले, लक्षण देखा पर्नु अघि पनि हामी स्क्रिनिङ गर्न सक्छौं। 

जस्तैः बिरामीलाई कुनै लक्षण देखिएको छैन, हेर्दा सबै सामान्य छ। तर, स्क्रिनिङ् गर्दा केही क्यान्सर लक्षण देखिनुअघि नै हामी पत्तालगाउन सक्छौं। यसो गर्दा बिरामी निको हुने सम्भावना पनि बढी हुन्छ। 

क्यान्सर भएको छ भनेर थाहा पाउने लक्षण के–के हुन्?

क्यान्सर शरीरको कुन भागमा भइरहेको छ या हुन गइरहेको छ, त्यसको आ–आफ्नै लक्षण हुन्छन्। जस्तैः हाम्रो खाना खाने नलीमा क्यान्सर भयो भने खाना खाँदा सुरुमा अड्केको जस्तो महसुस हुन्छ। झोलपदार्थभन्दा पनि फुको सुक्खा खाना खाँदा पहिले सजिलो भइरहे पनि अहिले अड्केकोजस्तो हुन्छ भने त्यो क्यान्सरको लक्षण हुनसक्छ र, अर्को फोक्सोको क्यान्सर हुँदा रुघा नलागेको बेलामा पनि २–३ साप्तासम्म लगातार खोकी लाग्छ, खोकी बढ्दै जाने भयो भने त्यो क्यान्सरको लक्षण हुन्छ। त्यस्तै, घाँटी दुख्ने, खोकी लाग्ने अनि ज्वरो आउने हुन्छ।

त्यस्तै, पाठेघरको मुखको क्यान्सरमा हेर्दा सबै सामान्य हुन्छ। तर, यौनसम्पर्क गर्दा रगत आउने हुन्छ। महिनावारीको समय छैन। तर, रगत आयो वा फोहोर पानी बग्यो भने त्यो पाठेघरको मुखको क्यान्सर हुने लक्षण हो। 

कहिलेकाही व्यक्तिमा कुनै रोग वा बिरामी छैन। तर, वजन घट्दै गएको छ भने त्यो पनि क्यान्सरको लक्षण हुनसक्छ। यस्तै, सामान्य स्थितिमा भएका बच्चामा लगातार ज्वरो आइरहने र अरु केही नहुने छ भने त्यो ब्लड क्यान्सरको लक्षण हुन सक्छ।  

सामान्यतयाः हाम्रो मुख र घाँटीमा घाउ हुने गर्छ। तर, त्यस्ता घाउ बिस्तारै निको हुन्छ। डाइबिटिज पनि छैन तर, घाउ भएर निको नभइ बढ्दै जान्छ भने त्यो पनि क्यान्सरको लक्षण हो।

हाम्रो शरीरको कुनै पनि भागमा गिर्खा वा डल्लो आयो भने त्यो क्यान्सरको लक्षण हुनसक्छ। त्यस्तै, हाम्रो शरीरको प्वाल जस्तैः नाक, मुख, कान, पिसाब र दिसा गर्ने ठाउँबाट कुनै पनि कारणबिना रगत बग्यो भने पनि क्यान्सर हुने सम्भावना हुन सक्छ। 

कुनै पनि लक्षण देखिएमा सम्बन्धित डाक्टरकहाँ गएर देखायौं भने क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सक्छौं। 

अहिले सबैभन्दा धेरै कुन क्यान्सर हुने गरेको छ?

संसारभरि नै अहिले कमन भइरहेको क्यान्सरमा महिला र पुरुष दुवैको तुलना गर्दा फोक्सोको क्यान्सर नम्बर एक हुँदै गइरहेको छ। त्यसमा ७० प्रतिशत फोक्सोको क्यान्सर धुलोधुवाँ र धुमपानले हुने गर्दछ। 

यस्तै मुख र घाँटीको क्यान्सर विशेषगरी एसियन राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा देखिएका छन। एसियन मुलुकमा धेरै देखिनुको मुख्य कारण सुर्तीजन्यपदार्थको सेवन रहेको छ। 

यस्तै, नेपालसहित अन्य गरिब राष्ट्रमा महिलामा पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर एकदमै बढी हुने गरेको छ। अन्य संसारभरिका राष्ट्रमा स्तन क्यान्सर बढी देखिएको छ। 

के कारणले स्तन क्यान्सर हुन्छ ? महिला र पुरुषमा किन हुन्छ? 

यो स्तन क्यान्सर विशेषगरी महिलामै हुने क्यान्सर हो। पुरुषहरुमा भने सय जनामा लगभग एक जनामा मात्र हुने गर्दछ। यसको मतलव सयजना स्तन क्यान्सर बिरामी भयो भने १ प्रतिशत मात्र पुरुषमा स्तन हुने गर्छ। 

महिलामा ठ्याक्कै यहि कारणले हुन्छ भन्न सकिने अवस्था हुँदैन। तर, यसमा वंशाणुगतको कारण धेरै देखिएको छ। जस्तैः कुनै एक महिलाको हजुरआमा, आमा, दिदीबहिनी, सानीआमा कसैलाई क्यान्सर भएको छ भने यो जीनसँगै बढ्दै जान्छ। 
 
जुन महिलाको महिनावारी ढिला सुरु भएको छ र, जसले विवाह पनि ढिला गरेको छ र बच्चा पनि ढिला जन्माएको छ भने उसलाई पनि स्तन क्यान्सर हुने बढी सम्भावना हुन्छ। हर्मोन र गर्भनिरोधक औषधी धेरै प्रयोग गर्ने महिलामा स्तन क्यान्सर बढी हुने गर्छ। 

पुरुषमा स्तन क्यान्सर हुने कारण हर्मोन नै देखिन्छ। स्तन बढ्नको लागि जुन हर्मोन चाहिन्छ त्यो महिलामा बढी हुन्छ र, पुरुषमा त्यो हर्मोन निकै कम हुन्छ। त्यसकारण पुरुषमा स्तन क्यान्सर एकदम न्यून हुने गर्दछ। 

नेपालमा भन्दा विदेशमा स्तन क्यान्सर धेरै देखिनुको कारण पनि ढिला विवाह र हर्मोनहरुको प्रयोग हो त ? 

विदेशीहरु विवाह ढिला गर्ने साथै बच्चा पनि थोरै जन्माउने गर्छन् । तर, पाठेघरको क्यान्सर र स्तन क्यान्सर ठ्याक्कै विपरित छन् । छिटो विवाह गर्याे धेरै जनासँग यौनसम्बन्ध राख्यौं, बालबच्चा धेरै जन्मायो भने पाठेघरको क्यान्सर हुने हुन्छ। तर, विवाह पनि ढिला गर्याे, यौन जीवन पनि ढिला सुरु गर्याे र, बच्चाहरु पनि ढिला जन्मायो भने फेरि स्तन क्यान्सर हुन सक्छ। 

स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने ? 

सर्वप्रथम स्तनको टिस्युमा डल्लो अथवा गिर्खा देखियो भने सुरुको अवस्थामा त्यो स्तन क्यान्सरको मुख्य लक्षण हो। कलिकति ढिला हुँदै गएपछि त्यो नै बढ्दै जाने हुन्छ र, बिस्तारै छाला तानिँदै जाने हुन्छ। छाला धेरै तन्किएपछि बाहिरी घाउ पनि देखिन थाल्छ। त्यस्तै निप्पलबाट रगत बग्ने पनि स्तन क्यान्सरको अर्को लक्षण हो। 

संसारभरि नै अहिले कमन भइरहेको क्यान्सरमा महिला र पुरुष दुवैको तुलना गर्दा फोक्सोको क्यान्सर नम्बर एक हुँदै गइरहेको छ। त्यसमा ७० प्रतिशत फोक्सोको क्यान्सर धुलोधुवाँ र धुमपानले हुने गर्दछ। 

कहिलेकाही स्तनमा केही लक्षण नदेखि काखीको मुनि डल्लो देखिने हुन्छ। स्तन क्यान्सरको लक्षण महिला र पुरुष दुवैमा एउटै हुन्छ। त्यसैले, स्तनमा कुनै पनि गिर्खा देखिएमा क्यान्सर हो कि होइन भनेर पत्ता लगाइ हाल्नुपर्छ। जसका लागि स्किनिङ प्रोग्राम स्तन क्यान्सरको लागि एकदमै महत्वपूर्ण छ। यसमा ३० देखिमाथि उमेरका महिलाले वर्षमा एक चोटी स्तनको अल्ट्रासाउन्ड गर्दा लक्षण देखिनुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ। 

यसको उपचार पद्धति के? 

स्तन क्यान्सरको सुरुको अवस्था छ भने शल्यक्रिया नै गर्ने हो। शल्यक्रिया पनि दुई प्रकारको हुन्छः जसमा स्तन सानो तर गिर्खा ठूलो छ भने पूरै स्तन निकालेर फ्याँक्नुपर्छ। तर, सानो गिर्खा मात्र छ सुरुको अवस्थामा पत्ता लागेको छ भने बढेको मासुको भागलाई मात्र काटेर निकाल्न सकिन्छ  

शल्यक्रिया गरिसकेपछि साधारणतयाः स्तन क्यान्सर हेर्दा नदेखिए पनि भविष्यमा त्यो अरु ठाउँमा देखिने सम्भावना भएकाले केमो थेरापी दिनुपर्ने जरुरी हुन्छ। एकदमै सुरुको अवस्था बाहेक अरुको अवस्थामा क्यान्सर निकालि सकेपछि त्यसलाई ठुलो बायोप्सीबाट भित्रसम्म पुगेको छ कि छैन, स्तनको आकार कत्रो थियो भन्ने हेरेपछि रेडियो थेरापी दिने नदिने टुङ्गो लाग्छ । 

र, अर्को स्तन क्यान्सर हर्मोनबाट पनि हुने भएकोले इआर पिआर परिक्षण गरिन्छ र, त्यो पोभिटिभ  छ भने हर्मोन थेरापी गरिन्छ। तर, सुरुमै ठूलो घाउ भएको छ भने शल्यक्रिया गर्न गाह्रो हुन्छ। त्यस्ता बिरामीलाई पहिला केमो थेरापी दिएर मात्र शल्यक्रिया गर्ने गरिन्छ।  त्यसपछि मात्र रेडियो थेरापी या हर्मोन थेरापी दिने गरिन्छ ।
 
यो उपचार पद्धतिबाट बिरामी निको हुने सम्भावना कति हुन्छ? 

हरेक क्यान्सर सुरुको अवस्थामा पत्ता लगाएर उपचार गर्न सकियो भने ठिक हुने एकदमै राम्रो सम्भावना हुन्छ। ट्युमरको आकार २ सेन्टिमिटरभन्दा कम छ र भित्रसम्म जरा पुगेको छैन भने ९९ प्रतिशत निको हुन्छ। तर, राम्रो उपचार पाउन एकदमै जरुरी हुन्छ।  क्यान्सरको स्टेज बढेर स्तनमा हेर्दा सानै देखिने तर, भित्रभित्रै फोक्सोसम्म पुगिसकेको अवस्थामा भने निको हुने सम्भावना कम अथवा निकै नहुने पनि हुन्छ। त्यसैले यो क्यान्सर स्टेज अनुसार भर पर्ने हो। 

घाँटी र मुखको क्यान्सर किन, कसरी हुन्छ ? 

यो क्यान्सर विशेषगरी सुर्तीजन्य पदार्थ र अल्कोहलको बढी सेवन गर्नेहरुलाई धेरै हुने गरेको छ । जस्तै खैनी, पानहरु खादा सुरुमा मुख, जिब्रो, गालाको भित्रि भागमा घाउ बनाउछ । कहिलेकाही अरु कारणले पनि घाउ हुन्छ तर, त्यस्ता घाउहरु बिस्तारै निको हुदै जान्छ तर सूर्तीहरुले बनाएको घाउ पहिला सानो हुन्छ तर पछि बिस्तारै बढ्दै जान्छ । अरु क्यान्सरहरु सुरुमा नदुख्न सक्छ तर मुख, जिब्रो र घाँटी हाम्रो धेरै चल्ने अंगहरु हुन् त्यसैले यी अंगहरुमा घाउ भए दुखाई थाहा भइहाल्छ।

यस्तै घाटीमा क्यान्सर हुँदा आवाज परिवर्तन हुदै जाने । खाना खादा अप्ठ्यारो महशुस हुने गर्छ तर सामान्यतया मुख घाटीमा घाउ नै देखिन्छ । यस्ता घाउहरु देखिसकेपछि डाक्टरलाई देखाइहाल्नु पर्छ।

नेपालको सन्दर्भमा क्यान्सर बिरामीहरु कति रहेका छन् ?

नेपालमा बार्षिक रुपमा १० देखि १२ हजार नयाँ क्यान्सर बिरामीहरु अस्पताल भर्ना हुने गर्छन् । तर, यो विगतको तुलनामा केही सुधार भएको अवस्था हो । तर अहिले पनि बिरामीहरु ढिला अस्पताल भर्ना हुने अवस्था जीवितै छ । सुविधासम्पन्न ठाउँका मानिसहरुमा पनि यो प्रवृत्ति  देखिएको छ। नेपाली समाजमा अझै पनि लाज र डरका कारण रोग लुकाउने देखिन्छ। 

क्यान्सर लाग्नै अथवा हुनै नदिन के गर्नु पर्छ ? 

माहिला र पुरुषमा धेरै हुने क्यान्सर भनेको फोक्सो, मुख र घाँटीको क्यान्सर हो। यी तीनवटै क्यान्सरबाट हामी बच्न सक्छौं। जस्तैः धुमपान, खैनी अथवा सूर्तीजन्य पदार्थ सेवन गरेनौं भने ७० प्रतिशत हामी क्यान्सरबाट बच्न सक्छौं।  

अर्को हाम्रो खानपानमा सुधार गर्न सकिन्छ। बाहिरी फास्टफुड, जंगफुड नखाएर हामी घरको सामान्य खाना सक्छौं। यी बाहिरी खानेकुराले विशेषगरी पेट र आमाशयको क्यान्सर बढी हुने देखिएको छ। बाहिर हिँड्दा प्रदूषण भएको ठाउँमा  मास्क लगाउने। 

रसायनयुक्त ठाउँमा काम गर्दा आफ्नो संवेदनशील भागहरुलाई सफा गर्नुपर्छ। घामबाट पनि छालाको क्यान्सर हुने भएकोले हामी घामबाट पनि बच्नुपर्छ। 

यस्तै रेडिसनबाट पनि बच्नुपर्छ। एक्सरे, सिटिस्क्यान धेरै गरियो भने त्यसले पनि क्यान्सर बनाउँछ। त्यस्तै, केमिकल र हर्मोनको  जथाभावी प्रयोग गर्नुभएन। हरियो सागपात बढी खानुपर्यो ।

Logo