कांग्रेस सभापतिको ‘रियल’ उम्मेदवार मै हुँ: गोपालमान श्रेष्ठ (भिडियाेसहित)

कांग्रेस सभापतिको ‘रियल’ उम्मेदवार मै हुँ: गोपालमान श्रेष्ठ (भिडियाेसहित)


नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि हुने भनिएको छ। तर, महाधिवेशनपछि धकेलिने सम्भावना बढेको छ। यस्तो अवस्थाबीच भावी सभापति पदका लागि आकांक्षी नेताहरूले उम्मेदवार हुने घोषणा नै गरिसकेका छन्। उम्मेदवार घोषणा गरेकामध्येका एक नेता हुन्, गोपालमान श्रेष्ठ

स्याङ्जा घर भएका श्रेष्ठसँग पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा कार्यवाहक सभापति भएर पार्टीे नेतृत्व गरेको अनुभव छ। पूर्वउपप्रधान तथा शिक्षामन्त्री भइसकेका उनी माओवादी शान्ति प्रक्रियामा आउन भएको १२ बुँदे समझदारीको एक हस्ताक्षरकर्ता पनि हुन्।

उनै नेता श्रेष्ठले सभापति पदमा उम्मेदवार हुने घोषणा गरेपछि पार्टी महाधिवेशन, उनका  एजेन्डा र समसामयिक विषयमा केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः   

कांग्रेसको १४ औं महाधिवेशन अबको २९ दिनमा हुने भनिएको छ, सम्भव होला?  

महाधिवेशन हुन्छ। सभापतिज्यूले पनि भदौ १६ गतेदेखि हुन्छ भन्नु भएको छ। जुन हामीले साउनको १२ गतेदेखि गर्ने भनेको वडा अधिवेशन स्थगत गर्यौं, केही काम गर्न बाँकी भएर हो। त्यसले गर्दा महाधिवेशन १६ गतेदेखि भए पनि हुन्छ, पछि भए पनि हुन्छ। तर, कांग्रेसको महाधिवेशन हुन्छ।

१६ भदौदेखि नै हुन्छ त?
सुरु चाहिँ हुन्छ।

केही दिनअगाडि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा तीनपटक ‘हुन्छ’ महाधिवेशन भन्नु भएको थियो, तर, क्रियाशील सदस्यता विवाद शीर्ष नेतृत्व तहबाट समाधान भइसकेको छैन। कसरी हुन्छ भनेर पत्याउने?

मैले पनि हुन्छ, हुन्छ भनेको छु। तर, मैले पदाधिकारी बैठकमा महामारी र क्रियाशील सदस्यताको खिचातानीसँगै महाबर्खाका कारण केही महिनापछि भए पनि हुन्छ चाहिँ भनेको छु।

केही महिना भनेको यो भदौमा हुँदैन, अलिक पछि हुन्छ भन्न खोज्नु भएको हो?
होइन महाधिवेशन हुन्छ। गर्नैपर्छ।

भदौभित्रै कि पछि?
सकेसम्म भदौभित्रै हो। भएन भने पनि २–४ महिनापछि हुन्छ। 

अनि, पार्टीको निर्वाचन समितिले महाधिवेशनको प्रक्रिया थाल्ने भनेको क्रियाशील सदस्यताको सवाल टुङ्गिएपछि हो। टुङ्ग्याइ कसरी हुनुपर्छ भन्ने हो?

त्यसमा निक्कै कचिङ्गल छ। नेता रमेश लेखकजी नेतृत्वको समितिले छानबिन प्रतिवेदन पेस त गर्यो। तर, प्रतिवेदन अधुरै छ। केही जिल्लाको विवाद समाधानमा समिति प्रवेश नै गरेन। जस्तोः बारा र सप्तरीमा समिति प्रवेश नै गरेन। तर, मैले त्यसमा पनि प्रवेश गर्नुहोस् र टुङ्ग्याउनुहोस् भनेको थिएँ। भएन। नभएपछि पदाधिकारी बैठकले देउवाजीकै नेतृत्वमा विवाद समाधान गर्ने जिम्मा दिएको छ। आज समय सकिँदै छ।

सर्लाही र धनुषाको १/१ निर्वाचन क्षेत्र र रसुवासँगै सिन्धुपाल्चोकमा पनि थप समस्या छ नि?

छन्, कैलालीलगायत विभिन्न जिल्लामा छन्। 

यी जिल्लामा देखिएको विवाद समाधान कसरी हुनुपर्छ भन्ने तपाईंको मत हो?

सकेसम्म समझदारीबाट हुनुपर्छ। भएन भने बहुमतबाट गर्नुपर्छ। लोकतन्त्रमा बहुमतलाई मान्नुपर्छ। सर्वसम्मत गरौं भन्दा क्रियाशील सदस्यता वितरण र नवीकरणमा विवाद देखिएको हो। भीमराज आङ्देम्बे नेतृत्वको अनुशासन समितिले खासै काम गर्न पाएन। दुई जिल्लाको दुई नेतालाई कारबाही गरेपछि ७५ जिल्लाको फाइल ‘पोस्टपोन्ड’ गरेर थन्क्याइएको छ। सबैलाई उन्मुक्ति दिने काम भयो। त्यसले पार्टीलाई फाइदा गर्दैन।

अनि, कांग्रेसलाई महाधिवेशन त फलामको चिउरा भयो है?

कोभिड-१९ को महामारी र वर्षाको कारण समयमा हुन नसकेको हो महाधिवेशन। त्यसबारे हामीले निर्वाचन आयोगलाई जानकारी गराउँदा नकार्दैन। सर्वोच्चले आठ महिनालाई शून्य समय मानेको छ। उखान छ नि, अनिकालमा बीउ जोगाउने, हुलमुलमा जीउ जोगाउने। पहिलो कुरा त हामी बाँच्नुपर्यो। कोरोनाको दोस्रो लहर सकेर तेस्रो लहर आउन थालेको छ। झ्याप्पकै आयो भने? झापातिर लकडाउन गर्न थालेको छ। भोलि सरकारले देशभर लकडाउन गर्यो भने के हुन्छ? महाधिवेशन हतारमा गर्नुहुँदैन।

म उपल्लो पदमा गएको मान्छे तल्लो पदमा झर्दिनँ। हाम्रो पार्टी एकीकरण भएपछि उपसभापति भएको पनि महामन्त्रीमा लडे। उपप्रधानमन्त्री खाएर पनि मन्त्री खाए। तर, म त्यस्तो व्यक्ति होइन। म त सिँढी नै चढ्ने हो। १२ औं र १३ औं महाधिवेशनमा उपसभापति पद भएको भए म त्यतिबेला उपसभापति पदमा लड्थेँ होला। तर, अहिले त मेरो सभापति पदमै हो। अर्को पदमा दाबी छैन।

फेरि, साथीहरूले पार्टी कार्यालयमा धर्ना दिए। अनशन बसेका थिए। हामीले साथीहरूलाई विश्वास दिलाएर अनशन टुटाएका छौं। धर्नाबाट अलग गराएका छौं। अझै पनि केही साथीहरूको धर्ना छ। त्यसले गर्दा यी सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ। र, यो महामारी भएको कारणले संविधानले भने पनि नेपाली जनताले छुट दिन्छ। यो समस्या हाम्रो मात्रै समस्या होइन, अन्य पार्टीमा पनि समस्या छ।

विधानतः कांग्रेस पदाधिकारीको चारबर्से कार्यकाल हो। विशेष परिस्थितिमा एक वर्ष थप गर्न सक्ने प्रावधान विधानमै छ। त्यसलाई प्रयोग गरेर पाँच वर्ष पुग्यो र संविधानतः ६ महिना थप गर्न मिल्ने प्रावधानलाई प्रयोग गर्दा र त्यसपछि पनि शून्य समय भनेर आठ महिना लिँदा त देउवा नेतृत्वको कार्यकाल ६ वर्ष जाने रहेछ नि?

होइन, परिस्थितिले त्यस्तो हुने देखिन्छ। हामीले चारै वर्षमा गर्न सकेको भए अत्यन्तै सुन्दर हुन्थ्यो। यस्तो महामारी आउला भन्ने हामीलाई थाहा भएन। चारै वर्षमा गर्न गरेको भए अनुकूल समय थियो। अब, यो परम्परा अनुसार थपिएको हो। सबै केन्द्रीय कार्यसमिति सदस्यहरूले एकमत भएर थपिएको हो। विशेष परिस्थितिमा छ महिना थपिएको हो संविधानतः। यो नथपौं भनेको हो। तर, थपियो। परिस्थितिको कारणले गर्दा हो। अब म एउटा प्रण गर्छु, भोलि साथीभाइले मलाई सभापति चुन्नुभयो भने चारै वर्षमा म राष्ट्रिय महाधिवेशन गर्छु।

उसो भए प्रष्ट भन्नुहोस्, तपाईं १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा साँच्चै उम्मेदवार बन्नुहुन्छ?

लागि मैले भनेको होइन। कुरो बुझ्नु भो के। १४ औं महाधिवेशन मेरा लागि प्रथम र अन्तिम हो। मैले १४ औं महाधिवेशनमा सभापति बन्नकै लागि उम्मेदवार दिने हो। म तपाईंहरूलाई विश्वास दिलाउँछु, १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भन्नका लागि भनेको होइन, ‘रियल’ उम्मेदवार मै हुँ।

भिडियाे

सौदावाजीका लागि होइन?

होइन, होइन।

तर, सभापति पदका लागि दाबेदारी प्रस्तुत गर्ने अनि सौदावाजी गरेर महामन्त्रीतिर चित्त बुझाउने देखिएकै हो।

होइन। म त कार्यवाहक सभापति भइसकेको व्यक्ति हो। ११ औं महाधिवेशनपछि कार्यवाहक सभापति भएर राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको व्यक्ति हो। ज्ञानेन्द्र शाहको सरकार हुँदा मैले आन्दोलन राम्रोसँग हाँकेको पनि हो। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालहरूसँग कुममा कुम जोडेर मैले आन्दोलनको नेतृत्व गरेको हो। सात पार्टी र माओवादीसँग १२ बुँदे सहमति पनि गरेको व्यक्ति हो। त्यसैले म उपल्लो पदमा गएको मान्छे तल्लो पदमा झर्दिनँ। हाम्रो पार्टी एकीकरण भएपछि उपसभापति भएको पनि महामन्त्रीमा लडे। उपप्रधानमन्त्री खाएर पनि मन्त्री खाए। तर, म त्यस्तो व्यक्ति होइन। म त सिँढी नै चढ्ने हो। १२ औं र १३ औं महाधिवेशनमा उपसभापति पद भएको भए म त्यतिबेला उपसभापति पदमा लड्थेँ होला। तर, अहिले त मेरो सभापति पदमै हो। अर्को पदमा दाबी छैन।

उठ्ने नै भए तपाईंको सभापति पदको उम्मेदवारी संस्थापन पक्ष वा संस्थापनइतर कि स्वतन्त्रबाट हुन्छ?

सर्वप्रथम त यो पार्टीमा सर्वसम्मत सभापति बनोस् भन्ने मेरो इच्छा छ।

त्यो सम्भावना छ?

त्यो छ। सम्भावना नै नभएको कुरा कुनै पनि हुँदैन। सम्भावना छ। आफ्नो गुटको मात्रै सर्वसम्मत होइन कि पूरै कांग्रेसको सर्वसम्मत सभापति। त्यसको ‘रोल’ मैले ‘स्टार्ट’ गर्न चाहन्छु। 

सर्वसम्मत भएन भने?

सर्वसम्मत मेरो लागि भए पनि ‘ओके’। मबाहेक अरु साथीका लागि भए पनि ‘ओके’। त्यो बेला गोपालमान बाधक बन्दैन। सर्वसम्मत भएन भने गोपालमान चाहिँ जोसुकैसँग चुनाव लड्न तयार छ र, मलाई लाग्छ, शेरबहादुरजीले मलाई अगाडि सार्नुहुन्छ। किनभने, उहाँलाई मैले दशौं महाधिवेशन र विद्यार्थी कालदेखि सघाउँदै आएको हो। धेरै आपतविपत् पर्दा, अप्ठ्यारो पर्दादेखि मैले साथ दिएर आएको हो। मैले कहिल्यै कुनै साथीहरूलाई धोका दिएको छैन। शेरबहादुरजीलाई पनि धोका दिएको छैन। र, उहाँले यसपटक मलाई अगाडि प्रस्तुत गर्नुहुन्छ भन्ने मलाई लाग्छ। र, उहाँकै प्रस्तावमा म उम्मेदवार हुन पाउँछु भन्ने आशा गरेको छु। उहाँ प्रधानमन्त्री बन्नु भएको छ। उहाँले सभापति पद र प्रधानमन्त्री पदमा आकांक्षा राख्नु हुँदैन। यदि, राख्नुभयो भनेदेखि उहाँले प्रधानमन्त्रीमा पनि सफलता पाउनु हुन्न। पार्टी सभापति पदमा पनि सफलता पाउनु हुन्न। अब, मुलुकको प्रधानमन्त्री हो, सबै समय उहाँले प्रधानमन्त्रीमा दिनुपर्छ। फेरि, उहाँको नेतृत्वमा चुनाव भयो भने उहाँ नै हुनुहोला प्रधानमन्त्री छैठौंपटक। त्यसमा म गोपालमान सभापति भएपछि र्याल चुहाउँदिन। हुन खोज्दिनँ।

तपाईंले १० औं महाधिवेशन पोखरामा हुँदादेखि सहयोग गर्दै आउनुभयो देउवालाई। तर, १४ औं महाधिवेशनमा आएर उहाँसँग किन तपाईंको विद्रोह?

विद्रोह होइन। मेरो मौलिक अधिकार हो। मेरो पालो पनि आएको हो। यो टिमको म ‘सेकेन्ड म्यान’ हो। शेरबहादुर पहिलो व्यक्ति हो भने म दोस्रो हो। किनभने, मैले उहाँको उत्तराधिकारी भएर काम गरिसकेको छु ११ औं महाधिवेशनमा।

अब चाहिँ काम नगर्ने?

होइन। म उहाँकै उत्तराधिकारी हुन खोजेको हो। अहिले प्रधानमन्त्री त परिस्थितिले उहाँको काँधमा आयो। त्यो भन्दा पहिला मलाई सहयोग गर्नुपर्यो, म उठ्छु भन्नु भएको थियो। मलाई लाग्छ, उहाँ प्रधानमन्त्री भइसकेपछि फेरि सभापतिमा उठ्छु भनेर प्रचार गरेको सुनेको छैन। अब हाम्रो पार्टीमा ‘व्यक्ति प्रधान होइन, नीति प्रधान’ हुनुपर्छ। र, ‘वान म्यान, वान पोष्ट’मा जानुपर्छ। सभापति हुने सभापतिमै रहनुपर्छ। अरुलाई प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख के–के बनाउनुपर्ने हो बनाउनुपर्छ। ‘राइट म्यान, राइट पोष्ट’मा अगाडि बढाउनुपर्छ। सभापति भएपछि अवसर आउनासाथ राष्ट्रपति उही हुने र प्रधानमन्त्री पनि उही हुन खोज्ने गर्नुहुँदैन।

मैले कहिल्यै कुनै साथीहरूलाई धोका दिएको छैन। शेरबहादुरजीलाई पनि धोका दिएको छैन। र, उहाँले यसपटक मलाई अगाडि प्रस्तुत गर्नुहुन्छ भन्ने मलाई लाग्छ। र, उहाँकै प्रस्तावमा म उम्मेदवार हुन पाउँछु भन्ने आशा गरेको छु। उहाँ प्रधानमन्त्री बन्नु भएको छ। उहाँले सभापति पद र प्रधानमन्त्री पदमा आकांक्षा राख्नु हुँदैन।

त्यसो भए देउवा प्रधानमन्त्री पनि सभापति पनि हुनुहुँदैन हो?

हुनु हुँदैन। अब, केपी ओलीजीले दुई तिहाइको बहमुत पाएर प्रधानमन्त्री हुनु भएको थियो नि, उहाँले सरकारको लगाम पनि पार्टीको लगााम पनि लिएर सबलाई ठीक गर्छु भन्दा सडकमा पुग्नुभयो। 

यो कुरा प्रधानमन्त्री देउवासँग कहाँ जोडिन्छ?

दोहोरो गर्छु भनेर कल्पना गर्नुभयो, इच्छा गर्नुभयो र जबर्जस्ती गर्नुभयो भने त्यो परिस्थिति आउन सक्छ। त्यो परिस्थिति आउन नदिन हाम्रो प्रयत्न हो। तपाईंलाई अघि भने, साँच्चै म सभापति भएँ भने चारै वर्षमा महाधिवेशन पनि गर्छु। अहिले परिस्थितिले गर्दा साढे ५ वर्ष हुँदा पनि हामीले गर्न सकेको छैन। त्यसैले चुस्तु दुरुस्त यो पार्टीलाई लिएर जाने मेरो उदेश्य हो।

अनि, कांग्रेसको सभापति पदमा आकांक्षा व्यक्त गर्नेमध्येका प्रकाशमान सिंह, विमलेन्द्र निधी, र शशांक कोइराला एक ठाउँमा उभिए जस्तो देखिन्छ। तपाईंले आइतबार सिंहसँग भेट गर्नुभयो। भेटमा के कुरा भयो?

आजभन्दा ठीक १८ दिन पहिले विमलेन्द्र निधिसँग मेरै निवासमा सौहार्दपूर्ण ढंगले कुराकानी भएको थियो। प्रकाशमान सिंहजीसँग पनि कुरा भएको छ। शंशाकसँग पहिले पनि कुरा गरेको थिएँ, १/२ दिनमा फेरि कुरा गर्दैछु। यी तिनै जना मेरा शुभचिन्तक भाइहरू हुन् र नेपाली कांग्रेसका नेताहरू हुन्।

अनि, उहाँहरूले सहयोग गर्नुहुन्छ तपाईंलाई?

उहाँहरूलाई मैले भनेको छु, – तपाईंहरू तीनै जनाको उमेर छ। तपाईंहरू १५ औं महाधिवेशनमा सभापति बन्दा हुन्छ। १६ औं महाधिवेशनमा पनि सभापति बन्दा हुन्छ, तपाईंहरूले दुईवटा महाधिवेशन भ्याउनु हुन्छ, मैले चाहिँ १४ औं पछि १५ औं भ्याउन सक्ने अवस्था छैन। दुईचोटी हुने होइन। 

तपाईंले यसो भन्दा के भन्नुभयो उहाँहरूले?

दाइलाई मान्छु, दाइलाई सम्मान गर्छु, म हुँदा पनि सल्लाह नगरी काम गर्दिनँ भन्ने कुरा त हुन्छ नै। मैले के भनें भने, तपाईंहरू तीन जना तीन चोटी होइन, चार चोटी आपसमा बसेर कुराकानी गर्नु भए हुन्छ। त्यसमा तपाईंहरू निर्क्याेलमा पुग्नहोस्। तर, निर्क्याेलमा पुग्न सक्नु भएजस्तो लाग्दैन। मलाई पनि समावेश गर्नुहोस्, तपाईंहरू तीन जनामा ‘प्लस’ गोपालमान हुँदा चार जना भएर गरौं सल्लाह। यो पार्टीलाई चुस्तदुरुस्त बनाऔं। यो पार्टी त पुरानो पार्टी हो। ऐतिहासिक पार्टी हो। १०४ बर्से राणाशासनको अन्त्य नेपाली कांग्रेसकै लिडरसिपमा हो। ३० वर्षको पञ्चायतको अन्त्य पनि नेपाली कांग्रेसकै लिडरसिपमा हो। ज्ञानेन्द्र शासनको र गणतन्त्र ल्याउने पनि नेपाली कांग्रेसकै लिडरसिपमा भएको हो भनेर उहाँहरूलाई कुरा राखेको छु। अब, मैले एक/एक गरेर भनेको छु। मैले फेरि आफूले सक्ने सहयोग शशांकलाई पनि गरेको छु। प्रकाशजीलाई पनि गरेको छु।

उहाँहरूको प्रतिक्रिया के छ? 

बस्ने कुरा गर्ने भन्ने छ। 

कुरा सकारात्मक कि नकारात्मक छ?

नकारात्मक हुने कुरै भएन। हामीहरू सौदार्हपूर्ण वातावरणमा कुरा गर्ने भन्ने छ।

उसो भए कांग्रेसलाई थप शक्तिशाली पार्टी बनाउन तपाईंको एजेण्डाहरू के–के हुन् त?

मेरो ६ दशकको अनुभव छ। म बच्चैदेखि कांग्रेस हुँ। त्यसले गर्दाखेरी मेरो त्याग, तपस्या, बलिदान, मेरो अनुभव, साथीहरूसँगको सामिप्यता, पार्टीलाई संगठित र सबैलाई मिलाएर लैजाने एजेन्डा छ। र, २०१५ सालमा बिपीको नेतृत्वमा २०१५ सालमा चुनाव हुँदा जुन सफलता बिपीले प्राप्त गरेका थिए, त्यो अवस्थामा मैले पार्टीलाई पुर्याउने हो। पार्टीलाई चुस्तदुरुस्त बनाउने हो। पार्टीमा हिमालको पनि अटोस्, पहाडको पनि अटोस् र तराईको साथीहरू पनि अटोस्। विशेषगरेर दलित, जनजाति, महिला, पीछडिएको क्षेत्र कर्णालीदेखि लिएर सबै अटोस्। यो सबैलाई अटाउने पार्टी, सबैलाई समेट्ने पार्टी, सबैलाई सम्मान गर्ने पार्टी र सबैलाई निर्णायक तहमा पुर्याउने पार्टी बनाउने हो।

आजभन्दा ठीक १८ दिन पहिले विमलेन्द्र निधिसँग मेरै निवासमा सौहार्दपूर्ण ढंगले कुराकानी भएको थियो। प्रकाशमान सिंहजीसँग पनि कुरा भएको छ। शंशाकसँग पहिले पनि कुरा गरेको थिएँ, १/२ दिनमा फेरि कुरा गर्दैछु। यी तिनै जना मेरा शुभचिन्तक भाइहरू हुन् र नेपाली कांग्रेसका नेताहरू हुन्।

पार्टीलाई चुस्त दुरुस्त र अनुशासित बनाउने हो। अनुशासनमा नरहनेलाई पार्टीमा रहने अधिकार छैन। कांग्रेसको झन्डा ओड्ने, कांग्रेसको झन्डा लिएर हिँड्ने अनि विपक्षमा सहयोग गर्ने, लुकिछिपी विपक्षमा भोट हाल्ने, सूर्यमा भोट हाल्ने, हँसिया हथौडामा भोट हाल्ने अनि कांग्रेस हुँ भन्नेलाई छुट दिनु हुँदैन भन्ने मेरो मान्यता हो। त्यसले गर्दाखेरी यो पार्टीमा लागेको सर्वसाधारणलाई जसको माथि पहुँज छैन, उनको त्याग, तपस्या र बलिदानको आधारमा अगाडि बढाउने हो। बिपीले भनेका थिए, ‘सुकिला मुकिलाको कब्जामा पार्टी नजाओस्।’ त्यो कब्जाबाट पार्टीलाई मुक्त गर्ने मेरो उद्देश्य हो।

कांग्रेस लोकतान्त्रिक पार्टी त हो। तर, लोकतन्त्रमा अन्तर्घात गर्ने छुट पनि हुन्छ?

त्यसलाई अन्त्य गर्ने हो। अन्तर्घात गर्नेहरूलाई प्रश्रय गर्ने काम छैन। अन्तर्घात गर्ने अनि अर्को निर्वाचनमा टिकट लिने? त्यसैलाई माफी दिने? हामीले एउटा अभ्यास गर्यौं भीष्मराज आङदेम्बेजीको नेतृत्वमा। बहुमत मिहेनत गर्नुभयो उहाँहरूले। आखिरीमा त्यत्रो मिहेनत खेर गयो। र, एनजिओ बनाउने होइन, कांग्रेसलाई पार्टी बनाउने हो। अनुशासनमा राख्ने हो। यो ‘क्याडरबेस्ड’ पार्टी हो। अहिले हाम्रो नौं लाख सक्रिय सदस्य छन्। चुनाव जित्नका लागि आफ्नो नातागोता ल्याउने होइन। ‘रियल कांग्रेस’ ल्याउने हो। ‘राइट म्यान, राइट जब’, अनि सिनियर मान्छे र योग्य मान्छे जोसुकै होस् त्यसलाई पिकअप गर्नुपर्छ।

अन्तिममा, २१ चैतमा विपद् व्यवस्थापन समिति, दोलखाले गरेको कार्यक्रममा तपाईंले संसदमा सरकार बन्ने सम्भावना गणितले देखाएन र, मध्यावधि निर्वाचनमा जानुपर्छ भन्नुभएको थियो। तर, राजनीतिक कोर्समा आएको परिवर्तनले देउवा प्रधानमन्त्री बन्न पुगे। अब, यो सरकारको मुलभूत प्राथमिकता के–के हुनुपर्छ?

यो सरकारले त महामारीसँग जुध्नुपर्छ। सबै नेपाली जनतालाई जहाँ जसरी हुन्छ, जति पैसा तिरेर हुन्छ, भ्याक्सिनको व्यवस्था गर्नुपर्छ। खाली अनुदान खोजेर होइन। किनेर २÷४ महिनामा सबैलाई भ्याक्सिन दिनुपर्छ। १३ लाख मान्छे त पहिलो डोज लगाएर दोस्रो डोज लाउन नपाएकाहरू छन्। भ्याक्सिन लगाउन नपाउँदा विदेश जान पाएका छैनन्। त्यसपछि सरकारलाई चुस्तदुरुस्त बनाउनुपर्यो। सुशासन कायम गर्नुपर्यो। शान्ति सुरक्षा कायम गर्नुपर्यो। विकास निर्माण पनि गर्नुपर्यो। तर, पहिलो कुरा नेपाली जनतालाई बचाउन सकियो भने पछि विकास निर्माण गर्नुपर्यो। र, मुलुकमा भएको नीतिगत भ्रष्टाचार, जथाभावी भएको संवैधानिक नियुक्ति खारेज गरेर सबैलाई न्याय दिनुपर्छ। यो सरकारले आफूलाई नहेरी मुलुकलाई हेरेर काम गर्नुपर्छ। राजनीति गरेको प्रधानमन्त्री हुन, मन्त्री हुन, पैसा कमाउन भनेर होइन। पैसा कमाउन भए व्यापार गरे हुन्छ। मैले पनि व्यापार गरेको भए करोडपति हुन्थेँ, अर्बपति हुन्थेँ। राजनीति गर्ने भएको हुनाले जनताको सेवक हुनुपर्छ। सेवक भएर देखाउनुपर्छ। दुःखी, दरिद्र, उत्पीडित, किसानको भलो गर्नुपर्छ। यो सरकारलाई मेरो शुभेच्छा छ। र, यही गर्छ भन्ने विश्वास छ। 
 

Skip This
Logo