बर्दीधारी डाक्टर हुँ, मेरा केही विशेष कर्तव्य हुन्छन्: डा. आशा सिंह (भिडियोसहित)

बर्दीधारी डाक्टर हुँ, मेरा केही विशेष कर्तव्य हुन्छन्: डा. आशा सिंह (भिडियोसहित)


एआइजीपी डा.आशा सिंह नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर हुन्। डा. सिंहको नेतृत्वमा कोभिडका बिरामीलाई निःशुल्क उपचार तथा औषधि उपलब्ध गराएर प्रहरी अस्पतालले उदाहरणीय काम गर्दै आएको छ।

प्रहरी अस्पताल प्रहरीका परिवारका लागि मात्र हो भन्ने आमसोचाइमा परिवर्तन ल्याउँदै आमजनताका लागि समेत अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिँदै आएको डा. सिंहको भनाइ छ। कोरोना महामारीका बेला प्रहरी अस्पतालले बिरामीलाई पुर्याएको सेवा, अब महामारीको तयारी र भावी योजनाबारे केन्द्रबिन्दुका लागि मनोज न्यौपानेसृजना राईले गरेको कुराकानीको सम्पादित अंशः   
   
महामारीमा प्रहरी अस्पतालले सबैलाई निःशुल्क उपचार, औषधिको व्यवस्था गर्नु आफैंमा चुनौतीपूर्ण काम हो, यस अवधिमा अस्पतालको निर्देशकको हैसियतले कसरी व्यवस्थापन गर्नुभयो?

यो सबै अस्पताल व्यवस्थापनले गर्दै भएको हो। म यस अस्पतालको लिडर भएकाले अल्छी भएर काममा खटिनँ भने मभन्दा जुनियरलाई काम गर भन्ने हैसियत पनि हुँदैन थियो। त्यसकारण म आफैं काममा खट्थे र कुनै–कुनै बेला मलाई लाग्थ्यो कि दिन र रात अझै लामो भए हुन्थ्यो। 

म २४ घन्टासम्म पनि काममा खटेको छु। कुनै–कुनै दिन त रातभरि सुत्न पाइँदैनथ्यो। हरेक दिन बिहान ९ बजे एक–एक बिरामीको अवस्था बुझ्थ्यौं। जसमा सम्पूर्ण कर्मचारी, डाक्टर, नर्स, सरसफाइकर्मी, एम्बुलेन्स, ड्राइभर सबैजना नै खट्थे। त्यहाँ एक किसिमको पारिवारिक वातावरण नै थियो। एक–अर्कालाई साथसहयोग गरिरहेका थिए।

कोरोनाको दोस्रो लहरमा धेरै सर्वसाधारणलाई सेवा दियौं र, यो कुरा बिस्तारै जनमानसमा पनि पुग्दैछ। प्रहरी अस्पतालले मात्रै  ५० हजारको हाराहारी नागरिकलाई भ्याक्सिन दिएको छ।

धेरै मान्छे भएपछि कहिलेकाही तितो–नमिठो पनि हुन्छ। तर, म निर्देशक भएको हिसाबले सबैलाई कसरी एकसाथ मिलाएर अगाडि लैजाउन सकिन्छ भनेर जहिले पनि प्रयास गर्थेँ र, एकअर्कालाई हरेक तरिकाले उत्प्रेरित गर्दै हामीले ती कठिन दिन पनि सहज तरिकाले पार गर्यौं। 

तपाईं वरिष्ठ महिला तथा स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ, महामारीको कठिन अवस्थामा ‘भाइरोलोजिस्ट’को अनुभवसमेत लिनुभयो, यसलाई कसरी ह्यान्डल गर्नुभयो ? 

बाहिर म एक डाक्टर हुँ र, मैले अस्पतालमा त्यो तरिकाले काम गर्छु तर, जब म घर प्रवेश गर्छु, त्यहाँ मेरो डाक्टरको भूमिका सकिन्छ। अब म त्यहाँ एक आमा, श्रीमती, बुहारी या छोरी हुन्छु। हामी एकै छिनमा आफ्नो भूमिका परिवर्तन गर्न सक्छौं। त्यो एउटा महिलामा हुने गुण हो र, मैले निर्देशक भएर अस्पतालमा पनि त्यही हिसाबले  काम गरेँ। 

म ‘भाइरोलोजिस्ट’ होइन तर, अस्पतालमा विशेषज्ञ पर्याप्त मात्रामा छन्। मैले उहाँहरूलाई उत्प्रेरित गरेँ। थकान महसुस नगरी कसरी ड्यूटी गर्ने, कसरी खुसीसाथ काममा अभिप्रेरित गर्ने भन्ने योजना बनाइयो। सिनियर तथा जुनियर डाक्टर सबैले हरेक दिन बसेर छलफल गर्थ्याैं। 

पहिलो लहरमा हामीले पिपिइ, मास्क, सेनिटाइजर पाउन पनि गाह्रो थियो। तर, दोस्रो लहरमा हामीसँग यी चीज प्रशस्त मात्रामा उपलब्ध थियो किनकि हामीले पूर्वतयारी गरेका थियौं। अक्सिजन प्लान्ट पनि पूर्वतयारीमै बनायौं तर, अवस्था यस्तो भयो कि त्यसले पनि धान्न गाह्रो पर्थ्याे। 

१० मिनेटका लागि मात्र अक्सिजन बाँकी छ, अब के गर्ने? बिरामी सिकिस्त भयो कि भनेर राति फोन आउँथ्यो। त्यसबेला म खाली खुट्टा अस्पताल दौडेकी छु। त्यतिबेला मेरो आँखाअगाडि बिरामी र बिरामीका आफन्त मात्र रोइरहेका अनि कराइरहेका दृश्य आउँथ्यो। त्यसबाट मलाई शक्ति प्राप्त हुन्थ्यो, मलाई ऊर्जा मिल्थ्यो। 

त्यहाँ म स्त्रीरोग विशेषज्ञ हो भन्ने नै भएन। खाली मेरो एउटै उद्देश्य थियो कि बिरामीलाई उचित उपचार दिनुपर्छ। अस्पताल बिरामीले भरिएका थिए, कतिपय बिरामी जीवन र मरणको बीचमा थिए। कुनै पनि व्यक्तिको जीन्दगीभन्दा ठूलो त अर्थोक हुँदैन नि? 

जीवन जिउनकै लागि हामी संघर्ष गरिरहेका छौं। मैले के गर्न सक्छु भनेर आफूलाई प्रमाणित गर्नका लागि होइन, कसैको जीवन बचाउनको लागि काम गरेँ, त्यसैले मैले जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गरेजस्तो लाग्छ। 

अन्य अस्पतालले अक्सिजन, बेड, भेन्टिलेटर, आइसियुको अभावले बिरामी फर्काए। तर, प्रहरी अस्पतालमा त्यसो हुन पाएन, अन्य अस्पतालको व्यवस्थापन किन चुस्त हुन सकेन?

पहिलो कुरा, कसैको व्यवस्थापन चुस्तदुरुस्त भएन भन्न रुचाउँदिनँ म। सबैजनाले राम्रो नै गर्न खोज्नुभएको थियो होला। तर, आफ्नो  कुरा गर्नुपर्दा म बर्दीधारी डाक्टर हुँ। त्यसैले मैले लगाएको बर्दीप्रति मेरो केही विशेष कर्तव्य हुन्छ, जसमा अनुशासन महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। जस्तैः हाम्रो जुनसुकै तहका कर्मचारीलाई ड्युटी गर भनेपछि अनुशासित भएर गर्छन्। तर, अरु ठाउँमा यस्तो कुरामा पनि कठिनाइ आउँछ कि ! 

तपाईं निर्देशकको भूमिकामा रहँदाखेरी यस महामारीले नेपाल प्रहरी अस्पतालका कर्मचारी वा संगठनमा त्यस्तो कुनै क्षति भयो, त्यस्तो कुनै तथ्यांक छ?

छ। पहिलो लहर आउँदाखेरि २०७६ साल चैत ११ गतेदेखि लकडाउन सुरु भयो। त्यसपछि जेठ ३० गतेसम्म ३ जनामात्र संक्रमित अस्पतालमा आए। त्यसपछि साउन दोस्रो हप्तादेखि एकदमै धेरै संक्रमित बिरामी आउन थाले।

त्यो बेलामा लगभग सय जनाभन्दा बढी हाम्रा कर्मचारी संक्रमित भएका थिए। हामीले दोस्रो लहर आउनुभन्दा अगाडि भ्याक्सिन लगायौं। भ्याक्सिनको प्रभावले गर्दा संक्रमितको संख्यामा एकदमै ह्रास आयो। र, त्यो घटेर ५० जना जति मात्र हाम्रा कर्मचारी संक्रमित भए। 

भिडियाे

हामीले दुई सयभन्दा बढी बिरामीको उपचार गर्यौं। आइसियु र एचडियु सधैं भरिभराउ भए। तर, हामी निरन्तर सेवामा रह्यौं। गम्भीर अवस्थामा त कोही बिरामी गएनन्। तर, प्रहरी संगठनबाट हाम्रा दुईजना होनाहार जवान गुमाउनुपर्यो। अहिलेसम्म हाम्रो अस्पतालमा नागरिक, प्रहरी, भुतपूर्व प्रहरी गरी १ सय ७५ जना गुमाइसकेका छौं भने मुलुकभरिबाट १७ जना प्रहरी जवान गुमाएका छौं। 

नेपाल प्रहरी अस्पतालको अहिलेको परिदृश्य कस्तो छ? 

साउनको पहिलो हप्तादेखि जब निषेधाज्ञा खुकुलो भयो, त्यसपछि फेरि संक्रमितको संख्या बिस्तारै बढिरहेको अवस्था छ। 

विशेषज्ञहरुले तेस्रो लहर आउनसक्ने सम्भावना छ भनिरहँदा हामी पूर्वतयारीमा लागिसकेका छौं। अहिले हामीसँग एउटा अक्सिजन प्लान्ट छ, यसैबीच हामी अर्को प्लान्ट स्थापना गर्ने तयारीमा जुटेका छौं। यस्तै, एचडियु ५० वटा थपेका छौं र, आइसियु १० वटा थपेका छौं। 

हरेक बेडलाई आइसियु बनाउन त सक्दैनौं तर, भएका स्रोत साधनको कसरी उचित व्यवस्थापन गर्न सकिन्छ भनेर अहिले हामी लागिरहेका छौं। यति ग¥यौ भने तेस्रो लहर आए पनि सामना गरौंला भन्ने छ। 

पहिलो लहरमा हामीले पिपिइ, मास्क, सेनिटाइजर पाउन पनि गाह्रो थियो। तर, दोस्रो लहरमा हामीसँग यी चीज प्रशस्त मात्रामा उपलब्ध थियो किनकि हामीले पूर्वतयारी गरेका थियौं।

हामीसँग २० वटा भेन्टिलेटर थियो, जसमा १० वटा थप गरेका छौं। यस्तै एचडियु ८० वटा थियो, जसमा ५० वटा थप्न गइरहेका छौं। अब २ सयको हाराहारीमा एचडियु र आइसियु बेड हुनेछ। हाम्रो ३ सय बेड क्षमता भएको अस्पताल हो। त्यसकारण आवश्यक परेको खण्डमा ५ सयसम्म पनि बढाएर सेवा प्रदान दिन सक्छौं। हरेक कुरा पर्फेट होला त म भन्दिनँ। फेरि महामारीलाई सामना गर्न हरेक कुरा पर्फेट हुन पनि कसरी सकिन्छ त? 

सर्वसाधारणको बुझाइ प्रहरी अस्पताल प्रहरीका लागि मात्रै भन्ने छ, यो अस्पताल आमनागरिकका लागि पनि हो भन्ने बुझाइ बाहिर जान आवश्यक होला ? 

कोरोनाको दोस्रो लहरमा धेरै सर्वसाधारणलाई सेवा दियौं र, यो कुरा बिस्तारै जनमानसमा पनि पुग्दैछ। प्रहरी अस्पतालले मात्रै  ५० हजारको हाराहारी नागरिकलाई भ्याक्सिन दिएको छ। यति धेरै मानिसले प्रहरी अस्पताल देख्नु भएको छ भनेपछि अब त्यो मुस्किल केही हदसम्म हट्यो कि भन्ने लागेको छ। त्यही पनि आमनागरिकमा त्यस्तो खालको भ्रम छ भने यो अस्पताल सर्वसाधारणका लागि हो। प्रहरी लक्षित त हो नै, तर हाम्रो सेवा सर्वसाधारणका लागि पनि खुला गरिसकेका छौं। त्यसैले आएर मज्जाले सेवा लिन सक्नुहुन्छ।
 
यदि तेस्रो लहर आयो भने बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ, मेडिकल क्षेत्रले यसलाई कसरी नियालिरहेको छ? 

बालबालिकालाई यसले प्रभावित बनाउछ भन्नुको कारण उनीहरूले भ्याक्सिन नलगाएकाले गर्दा हुनसक्छ। अहिलेसम्म यो भाइरससँग लड्नसक्ने कुनै पनि औषधी आएको छैन। तर, अहिले यसबाट लड्न र सुरक्षित रहन भ्याक्सिन नै हो। दोस्रो लहरमा आएका विभिन्न भेरियन्टहरु पहिलेको भन्दा धेरै फरक भए पनि जो भ्याक्सिन लगाएका व्यक्ति थिए, उनीहरू सिकिस्त भएर भेन्टिलेटर, आइसियुमा पुग्ने अवस्था देखिएन। संक्रमित भए पनि सामान्य अवस्थामै रहे। 

त्यसकारण तेस्रो लहरको प्रक्षेपणमा बालबालिका धेरै प्रभावित हुन्छन् भनिएको छ। १८ वर्षमुनिका लागि भ्याक्सिन उपलब्ध छैन। बालबालिकाको हकमा उनीहरूको रोगसँग लड्ने क्षमता राम्रो हुन्छ । 

अहिले नेपालमा नयाँ भेरियन्ट डेल्टा र डेल्टा प्लस फैलिएको सूचना नेपाल सरकारले जारी गरेको छ, अबको तयारी र अभ्यास के हुनुपर्छ जस्तो लाग्छ? 

भाइरस यति अप्रत्यासित छ, हरेक पल, हरेक चोटी यो भाइरसको नयाँ भेरियन्ट आइरहन्छ। हरेक भेरियन्टविरुद्ध भ्याक्सिन बनाउन आवश्यक छ। अहिलेको भ्याक्सिन कुन कति प्रतिशत प्रभावकारी छन् भन्ने अहिले पनि अध्ययनकै चरणमा छ। तर, सामान्यतया हामीले यो भाइरस हो भन्ने बुझ्नुपर्छ, जुन हरेक क्षण बदलिँदो छ। त्यसकारण भ्याक्सिनले हामीलाई शतप्रतिशत सुरक्षित राख्छ भन्ने भ्रममा हामी पर्नुहुँदैन। 

आजको दिनसम्म पनि हाम्रो सामाजिक उत्तरदायित्व छ, मास्क लगाउने, हात धुने, सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्ने, भिडभाड नगर्ने। अहिले पनि बच्ने भनेकै स्वास्थ्य मापदण्ड अपनाउनु हो। सरकारले सधैंभरि लकडाउन गर्दा हरेक क्षेत्रमा असर परिरहेको छ। 

भ्याक्सिन भनेको दोस्रो  प्रोटेक्सन हो र, पहिलो प्रोटेक्सन अहिले पनि सेल्फ प्रोटेक्सन नै हो र, कोरोनाबाट त्यसले नै प्रोटेक्ट गर्नेछ।
 
स्वास्थ्यसँग जोडिएका संघसंस्था वा व्यक्तिहरुलाई प्रहरी अस्पतालको निर्देशकको हैसियतले के सुझाव दिनुहुन्छ ? 

स्वास्थ्य क्षेत्रका लागि यो एउटा चुनौती छ, किनकि यसअघि कहिल्यै फेस नगरेको चुनौती हाम्रो अगाडि आइपर्याे। तसर्थ, त्यसका लागि हामीले पूर्वतयारी गरौं। आफ्नो संस्थामा काम गर्नेहरुलाई उत्प्रेरित गरौं र सामूहिक कार्यशैलीको विकास गरौं। कुनै दिन हामी यो चुनौतीबाट निस्किन्छौं भन्ने सोच राखौं।

नआत्तिकन पाएको जिन्दगीलाई सदुपयोग गरौं। समुदायलाई कति दिन सकिन्छ त्यो योगदान दिऔं। कति पैसा कमाएँ, कति पावर छ भन्दा पनि आफ्नो कारणले एकजनाको पनि आँसु हाँसोमा परिणत भएको छ भने त्यसलाई सफल मान्नुपर्छ। 

Logo