सभामुखले पेलेरै जान्छु भन्ने सोच्नु भएको होला, एमालेले त्यो हुन दिँदैनः विशाल भट्टराई

सभामुखले पेलेरै जान्छु भन्ने सोच्नु भएको होला, एमालेले त्यो हुन दिँदैनः विशाल भट्टराई


सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको पहिलो बैठक नेकपा एमालेले विरोध गरेपछि १५ मिनेट रोके र एमालेका प्रमुख सचेतकसहितको टोलीसँग वार्तामा बसेका थिए। नेकपा एमालेसँगको छलफल सकेर पुनः बैठक सुचारु भयो तर एमालेको अवरोध भने कायमै रह्यो।

एमालेले संसद अवरोध कायम राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगन गरे। सभामुख र एमालेबीच छलफल हुँदा पनि किन एमालेले संसद् चल्न दिएन र सभामुखले किन बैठक अवरुद्ध गरे यतिखेर यो चासोको विषय रहेको छ।

सभामुख सापकोटासँग एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारी छलफलमा थिए। सभामुख सापकोटासँग के कुरा भयो? छलफलपछि पनि किन संसद चल्न दिनुभएन भनेर एमालेका प्रमुख सचेतक विशाल भट्टराईसँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको कुराकानीको सम्पादित अंशः 

सभामुख अग्निप्रसाद सापकोटासँग छलफलमा रहनु भयो के कुरा गर्नु भयो? छलफल पछि पनि किन संसद् चल्न दिनु भएन?

मुख्य कुरा त सभामुखले नेकपा एमालेसँग संवाद गर्नै चाहनु भएको थिएन । म पेलेरै जान्छु भन्ने सोच्नु भएको थियो उहाँले। तर, नेकपा एमाले जस्तो संसदको ठूलो पार्टीका लागि पेलेरै जाने कुरा त्यो सम्भव नै थिएन र छैन पनि।

त्यसकारण उहाँले संवाद गर्न खोज्नु भयो नेकपा एमालेसँग। उहाँले आग्रह गरेपछि तपाईंसँग चाहिँ छलफल गर्न सक्छौं, भन्यौं र केही समय उहाँसँग संवादमा रह्यौं।

के-के कुरा राख्नु भयो त? 

हामीले दुईवटा कुरा राख्यौं । एक, नेकपा एमाले विभाजनको तपाईं मतियार नै हो, तर जुन मात्रामा पार्टी फुटाउन खोज्नु भएको थियो त्यो सक्नु भएन। त्यो हिसावमा तपाईं मतियार हो भन्यौं।

अर्को चाहिँ तपाईंहरूले सोच्नुभएको होला नेकपा एमाले हच्किन्छ भनेर तर, एमाले सडक, सदन जहाँ पनि आफ्नो कुरा र आवाज उठाईरहन्छ र बोलिरहन्छ भन्यौं। छिटो समस्या समाधान गर्नुहोस् भनेर भन्यौं।

उहाँको जवाफ के थियो त?

सभामुखले छिटो उच्चस्तरीय संवाद गर्छु भन्नुभयो। त्यो कहिले गर्नु हुन्छ थाहा भएन। त्यही भएर दोस्रो बैठकमा पनि हामीले विरोध गर्यौं।

अबको रणनीति के हो त एमालेको ? 

सभामुखले उचित र वस्तुसम्मत जफाव नदिँदासम्म यही प्रकृया जारी रहन्छ। हामी विरोध गर्न छोड्दैनौं। सडक, सदन जहाँ हुन्छ, हामी विरोध गरिरहन्छौं।

माग चाहिँ तपाईंहरूको के हो खास? 

हाम्रो माग भन्दा पनि कुरा विधि र पद्धतिको हो । संविधान र नियम कानूनको हो।
हामीले गरेको १४ जना संसद् कारवाही गरेपछि उहाँले तुरुन्त कारवाही गर्नुपथ्र्यो किन गर्नुभएन?

गैरसंसदलाई राखेर बैठक कसरी चल्छ? एमाले पार्टी फुटाउन उहाँले जुन भूमिका खेल्नु भयो, त्यसको विरोध गरेका हौं, कुरा यति हो।

Logo