२२ दिनको मन्त्री के बन्नु भनेर अफर नै त्यागेँः राजकुमार ओझा

२२ दिनको मन्त्री के बन्नु भनेर अफर नै त्यागेँः राजकुमार ओझा


प्रदेश १ सरकारले बुधबार अचानक दुई मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेको छ। आफू स्पष्ट अल्पमतमा रहेको र अहिलेको अवस्थामा पद पनि १० दिन मात्र बाँकी रहेको अवस्थामा पनि उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

अहिले प्रदेशमा एमालेको अंकगणित प्रतिकूल छ। ९३ सदस्यीय प्रदेश एक सभामा जम्मा ९० जना सांसदको मात्र मत गणना हुनेछ।

जसमध्ये नेकपा एमालेमा ३९, नेकपा एकीकृत समाजवादी पार्टीमा १०, नेपाली कांग्रेसमा २१, नेकपा माओवादी केन्द्रमा १५, जसपामा ३, संघीय लिम्बुवानमा एक र राप्रपामा एक सांसद छन्।

तर, बहुमत पुर्याउन ४७ मत आवश्यक छ। एमालेलाई बहुमत पुर्याउन अहिलेको अंकगणितमा पनि ८ सांसद आवश्यक पर्छ। जुन जसपा, राप्रपा र संघीय लिम्बुवान मिल्दा पनि अगुग हुन्छ। 

यो अवस्थामा प्रदेश एक सरकार जोगाउन एमालेले कस्तो भूमिका खेल्छ, रणनीति के तय भएको छ, अल्पमतका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न किन हतारो लगायत विषयमा एमाले सांसद प्रदेश एकका पूर्वराज्यमन्त्री राजकुमार ओझासँग केन्द्रबिन्दुकर्मी विकास आचार्यले गरेको संवादको सम्पादित अंशः 

तपाईंको पनि राज्यमन्त्रीमा नाम आएको थियो रे, किन चासो राख्नु भएन? 

राज्यमन्त्री बन्न अफर आएको थियो । मैले सुरुमै २२ दिनको मन्त्री चाहिँ खान्न भनें । राज्यमन्त्रीको जिम्मेवारी त मैले पहिला पनि लिएकै हो। यसपटक सुरुमा राज्यमन्त्री र त्यसपछि मन्त्रीका लागि कुरा भएको थियो तर, मैले मानिनँ । विश्वासको मत लिने हुँदा जाने भन्ने कुरा थियो, त्यो आधार अलि कम हुँदै गएपछि मैले जान्न भनेँ ।

भनेपनि विश्वासको मत लिने आधार छैन, तपाईंहरूको सरकार ढल्दैछ होइन त? 

होइन, सम्भावना त हरेक नै हुन्छ, सम्भावना नभएको भने होइन। अनेक सम्भावना हुन्छन् राजनीतिमा।

तपाईंहरूको होमर्वक कांग्रेस र साना दल फकाउनेमा हुँदैछ, त्यसो भए ?

नेताहरू लाग्नु भयो होला, कुरा गर्दै गर्नुभएको होला तर, त्यो विषयमा मलाई जानकारी छैन । तर, खेल्ने त संसदमा भएको दलसँगै हो नी। कोही कसैसँग बहुमत पुग्नेवाला त छैन, हुने त गठबन्धन नै होइन र? एमाले र अन्य पार्टीबीच पनि गठबन्धन हुन सक्छ।

मुख्यमन्त्री भीम आचार्यले ९ गतेभित्र विश्वासको मत लिनै पर्नेछ । गठबन्धनको तर्फबाट ९ अघिनै अविश्वासको प्रस्ताव दर्ता गरेर भएपनि मुख्यमन्त्रीलाई हटाउने योजना बनाएको पाइएको छ, आचार्यको नेतृत्व जोगाउन कस्ता रणनीति छन् तपाईंहरूको ? 

अहिले तत्काल हामी चाहिँ कसरी हुन्छ बहुमत पुर्याउने योजनामा छौं। केही साथीहरू समाजवादीमा लागेकाहरूले पनि बरु सांसद पद त्याग गर्ने, हामीले गल्ति गर्यौं भन्ने छ। हामी मुख्यमन्त्रीमा आचार्यलाई मत हाल्छौं भनिराख्नु भएको छ। ती सबै मिलाएर भएपनि सुरुमा चाहिँ विश्वासको मत लिने प्रयत्न गर्छौं।

भनेपछि समाजवादीमा खुलेका १० जना मध्येबाट पनि एमालेमा फर्किने सम्भावना छ?

सबै होइन, समाजवादीमा भएका केही साथीहरु चाहिँ हामीले गल्ति गरेछौं। भ्रममा पारिएको रहेछ। हामी एमालेमै फर्किन चाहन्छौं, भनिराख्नु भएको छ। उहाँहरूले विद्रोह गरेर भएपनि हामीलाई सहयोग गर्नुहुन्छ, त्यसो हुँदा हामी अझ सुरक्षित हुन्छौं।

नाम पनि भन्न मिल्छ उहाँहरूको? 

होइन, नाम त अहिलेनै किन भन्नु पर्यो र? केही दिनमा थाहा पाइहाल्नुहुन्छ नी । यो सम्भावनाका कारण मुख्यमन्त्री आचार्यकै नेतृत्वमा सरकार अघि बढ्ने देखिन्छ।

तपाईंलाई त्यो विश्वास थियो भने किन मन्त्री पद अफर गरिँदा पनि लिनु भएन त? कि भनाई र गराई फरक छ?

होइन मैले मान्यज्यूहरूलाई पालो दिएको हो । हामी जति हुने भैहाल्यौं। अब हाम्रो त बेला पनि छ। स्वच्छ राजनीति गर्ने हो मन्त्री त बनौंला पनि नबनौंला पनि तर, जनताको सेवा भने गर्नुपर्छ, गरिन्छ। फेरि जितेर गइन्छ मन्त्री त बनौंला न। अहिले चाहिँ त्याग गरें मैले।

Logo