१९ मंसिर २०७८ आइतबार

सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेद्वारी दिनुपर्छः योगेश भट्टराई (भिडियाेसहित)

चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन्। मञ्च निर्माण, प्रचारप्रसार लगायतका कामहरूलाई तीव्र बताइएको छ । यसै सन्दर्भमा महाधिवेशनको तयारी र प्रचारप्रसारबारे जानकारी लिन बुधबार चितवन आएका एमाले सचिव एवं १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईसँग न्युज कारखानाले गरेको कुराकानी :

१०औँ महाधिवेशनको तयारी कसरी हुँदैछ ?

हाम्रो तयारी राम्रोसँग भइरहेको छ। तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मान्छे आउन सक्छन्। गाडी र बाटोको पर्याप्तता छैन, तर पनि ठूलो जनपरिचालन, ठूलो प्रदर्शनसहित नेकपा एमालेको महाधिवेशन उद्घाटन हुन्छ। 

प्रतिनिधिहरूको सन्दर्भमा भन्नुपर्दा हाम्रो जम्मा प्रतिनिधिहरूको संख्या मनोनीतसहित दुई हजार २९७ हुन्छ। ती प्रतिनिधिलाई तीन दिनसम्मको लागि आवास र खानाको व्यवस्थापन गरिएको छ। होटेलसँग सम्झौता पनि भइसकेको छ। प्रतिनिधिलाई १० मंसिर बेलुकीदेखि व्यवस्थापन हुन्छ। 

१० मंसिरमा केन्द्रीय कमिटीको बैठक पनि चितवनमै हुन्छ। त्यसपछि देशभर माहोल सिर्जना भएको छ। ठाउँठाउँमा स्वागत द्वार बनेका छन्। मोटरसाइकल र्याली पनि भएका छन् । विभिन्न रचनात्मक कार्यहरू पनि स्थानीय कमिटीहरूले गरिराख्नु भएको छ। यसरी हामी तयारीको अन्तिम अवस्थामा छौँ। 

एमालेको विगतका महाधिवेशन र १०औँ महाधिवेशनमा खास के फरक छ?

आज नेकपा एमाले कसको निरन्तरता हो? कसको लिगेसी यसले बोकेको छ ? भन्ने कुरा कतिपयले बहस गरिरहेका छन्। हामीले भनेका छौँ, नेकपा एमाले २००६ सालमा स्थापित भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो। त्यसका संस्थापक पुष्पलाल, पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । उहाँको विचार, उहाँको उत्तराधिकारी पार्टी नेकपा एमाले हो।

अर्काे कुरा, नेपालमा विश्व कम्युनिष्ट आन्दोलनको विभाजनसँगै ३० को दशकबाट दुईवटा कम्युनिष्टका धार आए। एउटा झापा आन्दोलनसँग कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै २०४७ सालबाट हामी अगाडि आयौँ। एउटा त्यो धार हो । त्यसले एउटा मूलतः शान्तिपूर्ण जनसंघर्षमा आफूलाई अगाडि बढायो। 

अर्काे ३० को दशकदेखि नै चौथो महाधिवेशन, मसाल, एकता केन्द्र हुँदै माओवादीसम्मको धार छ। त्यो धारले विगतमा सशस्त्र संघर्षको नीति लियो। त्यो धारका कतिपय पार्टीले त्यो नीति परिवर्तन गरिसके । खासगरी प्रचण्ड नेतृत्वले त्यो नीति छोडिसके। त्यसो हुँदा ३ जेठ २०७५ मा प्रचण्ड नेतृत्वको पार्टीसँग पनि हाम्रो पार्टी एकता भयो। 

किनभने उहाँहरू पनि शान्तिपूर्ण बाटोमा, वैधानिक बाटोबाट नै समाजवादसम्म पुग्ने लक्ष्य लिएर आउनुभयो। त्यसकारण नेकपा एमालेले १०औँ महाधिवेशनबाट यो कुरा अझ स्पष्ट गर्न चाहन्छ कि हामी पुष्पलालले गठन गरेको कम्युनिष्ट पार्टीको पनि निरन्तरता हौँ भने ३ जेठ २०७५ को पार्टी एकतापछिको पनि हामी निरन्तरता हो। 

त्यसो हुनाले आजको दिनमा नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति हो। मूलधार हो। प्रमुख दल हो भन्ने कुरा यो महाधिवेशनबाट स्पष्ट गर्न चाहन्छौँ। अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढंगबाट महत्वपूर्ण योगदान गर्ने नेता हुनुहुन्छ। 

पुष्पलाल, लोकप्रिय सरकारको थालनी गर्ने मनमोहन अधिकारी र जनताको बहुदलिय जनवाद जस्तो विचार बोकेर नेपाली जनतामा लोकप्रिय नेता हुने मदन भण्डारी। उहाँहरू लगायत हिजोका अघिल्लो पुस्ता जसले नेपाली नेपालको कम्युनिष्ट आन्दोलनको निर्माणमा योगदान पुर्याउनुभयो। त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ।

महाधिवेशनको मुखमा आइपुग्दा पनि उम्मेदवारी घोषणाको सरगर्मी नै देखिँदैन। एमाले कतै प्रजातान्त्रिक प्रणाली छोडेर टीका लगाउने प्रथामा गएको त हैन ?

एमालेजस्तो लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टीमा टीका लगाएर नेतृत्वमा आउने सम्भावना त शून्य प्रतिशत पनि छैन । प्रतिस्पर्धा हुन्छ। बाकसमा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि,  योग्यता क्षमताले नेतृत्वमा आउने भन्ने प्रश्न महत्वपूर्ण छ।

प्रतिस्पर्धाका विभिन्न उपायहरू हुन्छन्। तर, एमालेमा कसैले तानेर माथि ल्याउने र कसैले ठेल्दिएर माथि ल्याउने कुरा एमालेमा हुँदैन। त्यो नचिताए पनि हुन्छ। त्यसरी पार्टी चल्दा पनि चल्दैन र एमाले जाँदा पनि जाँदैन। 

त्यसरी एमाले गएको भएदेखि अरू कम्युनिष्ट पार्टीहरू क्रमशः सकिँदै गए, उनीहरूको अस्तित्व विलीन हुँदै गयो। एमाले त्यस्तै हुने थियो । तर, एमाले आज जनताको बीचमा लोकप्रिय मात्र छैन, सरकार चलाएको छ । अन्तर्राष्ट्रिय लेभलमा यति ठूलो सम्बन्ध विस्तार गरेको छ। यो पार्टीमा नेतृत्व विकासको काम पनि प्रतिस्पर्धाबाट हुन्छ। त्यो मर्यादित र स्वस्थ हुन्छ।

अध्यक्षमा भीम रावलबाहेक अरूको उम्मेदवारी घोषणा भएको छैन। यसको मतलब अब उहाँ नै सर्वसम्मत भन्ने हो ?

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गरौँ भन्ने सोच बोकेको छ। पार्टी अध्यक्षको पनि मुड पुनः नेतृत्वमा आउने देखेको छु । सहमतिमा पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुला छ। त्यो अवस्थामा दुई जना मात्र होइन, दर्जनौँ नेताहरूलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्छु ।

यत्रो पार्टीमा अध्यक्ष बन्छु भनेर दावा पेस गर्न आउनुपर्यो । ५०औँ वर्ष राजनीति गरेको हुँ भन्ने नेताहरूले अध्यक्ष हुन्छु, देश चलाउँछु भनेर दावा पेस गर्न आउनुपर्यो नि ! त्यो क्रममा यदि कोही नेताको नाममा सर्वसम्मत भएछ भने अरुले त्याग गर्न पनि सक्नुपर्‍यो।

चुनाव नै भयो भने त माओवादीबाट आउने नेताहरूलाई सकस पर्छ भनिन्छ नि ?

यस्तै कुरा २०४९ सालको पाँचौँ महाधिवेशनमा पनि उठेको थियो। तत्कालीन मार्क्सवादीबाट आएकाहरू सबै हार्छन् कि भन्ने तत्कालीन मालेबाट आएकाहरूमा बहस थियो। तर, मार्क्सवादीबाट आउनु भएका मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमणि अधिकारी वरिष्ठ नेता हुनुभयो। सहाना प्रधान, कमल कोइरालालगायतका दर्जनौँ नेताहरू ससम्मान नेकपा एमालेको नेता हुनुभयो। नेकपा एमालेभित्र के विशेषता छ भने यसले सबैलाई समेट्छ । यसले कसैलाई पनि टाढा लेखेट्दैन। सबैलाई समेट्न सक्ने समुद्र हो। तर, कहिलेकाहीँ छाल आउन सक्छ, सबैलाई अटाउने प्रयास गर्नुपर्छ।

केन्द्रबिन्दु संवाद राजनीति

प्रकाशित: ९ मंसिर २०७८ ११:४५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी