एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कसैसँग छैन : योगेश भट्टराई

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कसैसँग छैन : योगेश भट्टराई


स्थानीय तहको निर्वाचन आउन अब २० दिन मात्र बाँकी छ । मिति नजिकिएसँगै फेरि एकपटक चुनावी सरगर्मी बढेको छ। विभिन्न पार्टीका नेताहरु निर्वाचन लक्षित कार्यक्रम लिएर यतिबेला गाउँगाउँमा छन् । एकातिर पाँच दलीय गठबन्धन त अर्का तर्फ साना दललाई साथ लिएर एमालेको चुनावी प्रचारप्रसार, स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ । 

नेकपा एमालेलाई पार्टी विभाजनको असर यो निर्वाचनमा देखिने पक्का छ । पाँच दलीय गठबन्धनसँग २०७४ सालको निर्वाचनमा एमालेले जितेको सिटको आधा हिस्सामा आफ्नो अधिकार रहेको बताउँदै आएको नेकपा एकीकृत समाजवादीको उम्मेदवारीले एमालेको जितमा असर पर्ने राजनीतिकवृत्तमा चर्चा छ। तर एमाले नेताहरु सो मान्न तयार छैनन्। पाँच दलीय गठबन्धनबाट नडराएको एमाले निर्वाचनबाट पहिलो दल बन्ने दाबी गरिरहेको छ।   

यसैबीच, नेकपा एमालेको निर्वाचन लक्षित कार्यक्रम तथा पछिल्लो राजनीतिक गतिविधिबारे केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले एमाले सचिव एवं सांसद योगेश भट्टराईसँग कुराकानी गरेकी छन् । 

कम्युनिस्ट पार्टी र हिन्दूवादी पार्टी राप्रपा नेपालबीच चुनावी तालमेल भएको छ । स्थानीय तहको निर्वाचनसम्म मात्र हो की यो सहकार्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मै पुर्याउने योजनामा हो एमाले ?  

उहाँहरु हामीलाई रोजेर आउनु भएको हो । अर्को कुरा एमाले र राप्रपा नेपालको देशभरि सिट बाँडफाँट हुने होइन । यो हाम्रो तालमेल निर्वाचनका लागि मात्र हो । उहाँहरुको राम्रो भएको केही निश्चित ठाउँमा सिट बाँडिन्छ । त्यो भनेको एक,दुई प्रतिशत मात्र हो । आमरुपमा नेकपा एमाले एक्लै लड्छ । देशभरिका दुई,चार ठाउँ कुनै पार्टीसँग तालमेल भएपनि यो नेकपा एमालेको विचार सिद्धान्त नीतिसँग केही असर पार्दैन । यो अंश मात्र हो मूल हिस्सा होइन । सीमित ठाउँमा मात्र आवश्यकता अनुसार मिलेर जाने कुरा हो । उहाँहरू आफैंले हाम्रो चिन्हबाट लड्छु भनेपछि हामीलाई सहज लाग्यो र हामीले सहमति जनाएका हौं। उहाँहरूले हाम्रो नेतृत्वलाई मान्नु भएको छ । 

अहिले पाँच दलीय गठबन्धन बलियो देखिएको छ। एमालेले पाँच दलीय गठबन्धनको सामना गर्न सक्ला त ?  

यो बहुदलीय व्यवस्था भनेको मिलिजुली खाने व्यवस्था होइन । यो भनेको प्रतिस्पर्धाबाट जनताको मन जितेर जाने अनि शासनसत्ता चलाउने व्यवस्था हो । यो कुरा आममतदाताले बुझेका छन् । गठबन्धन गरेर मिलिजुली खाने बहुदलीय व्यवस्थाको चरित्र होइन । प्रतिस्पर्धामा कुन पार्टी माथि छ जनताले उसैलाई छान्ने हो । यो गठबन्धनलाई जनताले अस्वीकार गर्नेछन् र कतिपय ठाउँमा त जनताले अहिले नै यो व्यवस्थाप्रति कटाक्ष व्यक्त गरिरहेका छन् । जनतालाई थाहा छ यसले व्यवस्था बलियो बनाउँदैन । 

मिलिजुली बस्ने, बाँडीचुडी खाने, राज्य व्यवस्था लुट्ने, त्यो ढङ्गको गठबन्धनबाट जनता निराश छन्। त्यसलाई मतदाताले निर्वाचनमा देखाउने छन् । गठबन्धन भनेको त्यो ढङ्गको होइन, कहिलेकाहीँ तालमेल हुन सक्छ। अहिलेको गठबन्धनका पार्टीको के विचार के सिद्धान्त तथा के कार्यक्रम मिलेको छ र ? माओवादी, कांग्रेस र समाजवादीको सिद्धान्त र कार्यक्रम कहाँ मिलेको छ ? यो त सिमित नेताको स्वार्थको गठबन्धन हो । यो गठबन्धन मतदाताले मान्न तयार हुँदैनन् र हाम्रो पक्षमा मतदाताहरु आकर्षित हुनुभएको छ ।  

नेकपा एमालेलाई किन जनताले भोट दिने नि ? यसको मुल एजेण्डा चाहिँ के हो ? 

हाम्रो एजेण्डा स्थानीय सरकार बलियो बनाउने, ऐन कानुन बलियो बनाउने, स्थानीय सरकार साधन स्रोतले सम्पन्न गर्ने, स्थानीय सरकारलाई जनशक्ति पर्याप्त दिने, विकास निर्माण गर्ने, रोजगारलाई प्राथमिकता दिने, पुर्वाधार विकास गर्ने, जनताको आर्थिकस्तर सुधार गर्ने तथा प्राथमिकता रहेका काम गर्ने, स्थानीय तहलाई उत्पादनशील काममा परिचालन गर्ने, कृषि, खाद्यान्य, पर्यटन, सडक, जनस्रोतमा लगानी गर्ने नेकपा एमालेले जसरी अन्तर्राष्ट्रिय मुद्दाहरुलाई उठाउने काम गरेको छ, चाहे त्यो नाकाबन्दीको बेला होस् या चुच्चे नक्सा प्रकाशन गर्ने बेलामा नेपालले राष्ट्रिय स्वाभिमानलाई मुलुकको उचाइमा लैजाने काम गरेको छ ।

मिलिजुली बस्ने, बाँडीचुडी खाने, राज्य व्यवस्था लुट्ने, त्यो ढङ्गको गठबन्धनबाट जनता निराश छन्। त्यसलाई मतदाताले निर्वाचनमा देखाउने छन् । गठबन्धन भनेको त्यो ढङ्गको होइन, कहिलेकाहीँ तालमेल हुन सक्छ। अहिलेको गठबन्धनका पार्टीको के विचार के सिद्धान्त तथा के कार्यक्रम मिलेको छ र ?

संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतन्त्रलाई बलियो बनाउने हाम्रो मूल मान्यता हो र यसलाई हामीले पालना गरेका छौं । जनताले हामी सरकारमा रहेका बेला गरेका कामलाई हेरिरहनु भएको छ, सो कारण एमालेलाई रोज्न उहाँहरु तयार हुनुहुन्छ । 

अहिले एमाले फुटेको अवस्था छ। स्थानीय तहको निर्वाचनमा एमालेलाई जित्न त धेरै गाह्रो छ नि ? 

एमालेलाई गाह्रो छैन । देशमा एमाले बहुमतसहितको पहिलो दल बन्ने छ । गएको संसदीय निर्वाचनमा हामीले समानुपातिकमा ३२ लाख मत ल्याएका थियौं । अहिले ३६ लाख नयाँ मतदाता छन् । ३६ लाख मध्येबाट एमालेका २० लाख चोखो मतदाता हुन् । सो मत अन्त जाँदैन । नेकपाको विभाजन भएपछि माओवादीमा भएका केही साथीहरु एमालेमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा हामीलाई जित्न धेरै गाह्रो भएको थियो । अहिले मधेश प्रदेशबाट हाम्रोमा प्रवेश गर्नेहरु धेरै हुनुहुन्छ । त्यहाँ हाम्रो मत उल्लेख्य ढंगले बढेको छ । अहिले समग्रमा हेर्ने हो भने एमालेको मत ५० लाखभन्दा बढि छ । एक दुई हजार यताउता भयो होला तर पनि अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेको जनलहर बाक्लो भएका कारण कारण हामी देशको पहिलो तथा बहुमतसहितको पार्टी बन्न कहिँबाट रोक छैन । अर्काे कुरा अहिले बिना गठबन्धन एउटा पार्टीमा हाम्रो जति मत अरु कसैको छैन । त्यो निर्वाचन परिणामले समेत देखाउनेछ । 

तपाईंले भनेका सबै मतदाताले एमालेलाई मत देलान् त ? 

अहिले एमालेनै सबैभन्दा बलियो पार्टी हो, यो सँग अरु कसैले एक्लै प्रतिस्पर्धा गर्न सक्दैन् । यसको प्रभाव देशभरि छ । विकास तथा निकाशमा अगाडि भएको पार्टी भएको नाताले भोट आउँछ । बालबालिकादेखि बृद्ध बृद्धासम्म राज्यको तर्फबाट नेत्तृत्व गर्न सक्ने पार्टी एमाले भएका कारण मुलुकको राष्ट्रिय स्वाभिमान तथा आफ्नो छवि माथि लैजान सक्ने पार्टी भएका कारण यो तहको नेतृत्व आज आएर अन्य पार्टीसँग छैन । हाम्रो मुख्य प्रतिद्वन्द्वी पार्टी नेपाली कांग्रेस हो । कांग्रेस आफैंमा सिद्धान्तबिहिन भएको छ । 

कांग्रेसले आफ्नै निती तथा सिद्धान्त बिर्सिएर हिँडेको अवस्था छ । कता जाने, के गर्ने यसको दिशा पनि राम्रो देखिएको छैन् । यसको नेतृत्वमा पनि प्रभावकारी छैन, यस कारण नेकपा एमाले एउटा सबल पार्टी हो। लोकत्रान्त्रिक मुलुकमा बलियो पार्टी चाहिने हुन्छ । बलियो मुलुक बनाउने पार्टी नै एमाले भएका कारण हामीलाई मत आउँछ। जहाँसम्म मधेश प्रदेशको कुरा भयो सो स्थानमा पनि पार्टी प्रवेश गर्नेको ओइरो भएका कारण हामीलाई धेरै सहज भएको छ। 

 

Logo