कार्यकर्ता व्यवस्थापनमा चुनौती होइन, आकांक्षीको व्यवस्थापन कठिन हो : पुष्पा भुषाल

कार्यकर्ता व्यवस्थापनमा चुनौती होइन, आकांक्षीको व्यवस्थापन कठिन हो : पुष्पा भुषाल


स्थानीय तहको निर्वाचन आउन अब १८ दिन बाँकी छ। स्थानीय तह निर्वाचनका लागि मुलुकभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले उम्मेदवारमाथि आवश्यक जाँचबुँझपछि वैशाख १६ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । 

ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दर्ता गराएका छन् । पाँच दलीय सत्तागठबन्धनभित्र सिट बाँडफाँटमा समस्या देखिएपछि साझा उम्मेदवार चयनमा समस्या देखिएको थियो । केन्द्रको निर्णयअनुसार, उम्मेदवारी दिन कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनले आन्तरिक विवाद समाधानको प्रयास गरेको छ । यद्यपि विभिन्न स्थानीय तहमा गठबन्धनभित्रैका दलहरुले बागी उम्मेदवारी दिएका छन् ।
 
यसैबीच, निर्वाचनलाई लिएर कांग्रेसमा देखिएको फरक मत तथा कांग्रेसको आधिकारिक धारणा तथा निर्वाचनबारे कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालसँग केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले कुराकानी गरेकी छन् । 

निर्वाचन तालमेलको विषयलाई लिएर कांग्रेसभित्र फरक मत आइरहेका छन् , यसले निर्वाचनलाई असर गर्ला नि ? 

केन्द्रीय समितिले आवश्यकता र औचित्य हेरेर गठबन्धन गरेको हो । त्यो गठबन्धनलाई कसैले पनि विवादको विषय बनाउनु हुँदैन । कतिपय जिल्लाहरुमा गठबन्धन नगर्ने भनिएको छ । कतिपय स्थानमा आवश्यकता अनुसार गठबन्धन गर्ने भनिएको छ । हामीले आवश्यक भएर नै केन्द्रीयस्तरबाट गठबन्धन गरेका हौं । यसकारण गठबन्धनको निर्णयलाई इमान्दारीताका साथ पालना गर्नु आजको आवश्यकता हो । र साथीहरुले यो कुरा बुझ्नु भएको छ  । 

सरकार गठनका लागि गरिएको गठबन्धनलाई स्थानीय तहसम्मै लगेर नेतृत्वले कांग्रेस कार्यकर्ताको अपमान त गरेकाे छैन ? 

हामीले गठबन्धनलाई बचाएर पछिको दिनसम्म लैजाने सोच बनाएका छौं । गठबन्धनलाई बचाएर जनताले खोजेको परिवर्तनलाई संस्थागत गर्ने भोलिको दिनसम्म पनि गठबन्धन कायम राख्नुपर्छ भन्ने उद्देश्यले अहिले गठबन्धनको सुरुवात भएको हो । पार्र्टीहरुले आपसमा निर्णय गर्दै अब आन्तरिक नेतृत्व तयार गरेर गठबन्धन गरेको ठाउँमा उम्मेदवार राम्रो खडा गरेर कांग्रेस जिताउने अवसरका रुपमा गठबन्धनलाई लिनुपर्छ । हाम्रो यो मान्यता भयो । कांग्रेसको बढि सिट जिताउने अवसरका रुपमा यसलाई लिनुपर्छ  । हिजोका दिनमा कांग्रेसले जुनरुपमा निर्वाचनमा गयो हामीले अपेक्षा गरेको जस्तो स्थानीय सरकार, प्रदेश र केन्द्रमा हामीले अपेक्षा गरेको उम्मेदवार विजय गराउन सकेनौं । तर यो गठबन्धनबाट कांग्रेसले बढिभन्दा बढि आफ्ना सिट जिताउन सदुपयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । 

कांग्रेसको यो रणनीतिप्रति किन कार्यकर्ता र नेताहरु असन्तुष्ट छन् । यसको कारण के हो ? 

केन्द्रले आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्नु भनेको छ । कुनै निर्णय थोपरेको होइन । यो बहस र छलफलको विषय बनेको थियो । असन्तुष्टिका कुराहरुमा जिल्ला स्तरियरुपमै  गठबन्धनको अधिकार दिएको छ । सो कुरामा जिल्लाबाटै प्रक्रिया अगाडि बढ्ने भनेर जिल्ला कमिटीले निर्णय गरेको छ । केन्द्रबाट निर्णय गरेको हकमा केही असन्तुष्टिका स्वरहरु सुनिएका भएपनि अब निर्वाचनमा त्यो गठबन्धनको मूल्य मान्यता राख्नका लागि सहयोग गर्नुपर्छ । हाम्रो उद्देश्य भनेको गठबन्धन टिकाउने हो । पार्टीभित्र असन्तुष्टि हुन्छ, उम्मेदवारप्रति हुन्छ तर उम्मेदवारी दर्ता भएपछि सो निर्णयमा कुनै पनि किसिमको नकारात्मक सन्देश नगइकन गठबन्धन जोगाउनु पर्छ । जिल्लास्तरिय गठबन्धनमा त जिल्लाले गरेको गठबन्धन आवश्यता अनुसार गर्छ, नभए सिङ्गल लड्न जिल्लाले निर्णय गर्ने हो । गठबन्धनलाई असर तथा बाधा गर्नु हुँदैन भन्ने केन्द्रने निर्देशनसमेत दिएको अवस्था छ । 

जिल्लाले गरेको निर्णयको असर केन्द्रमा पर्ला नि ? 

जिल्लास्तरिय अधिकार दिएका कारण केन्द्रमा यसले असर गर्दैन । गठबन्धनअनुसार कतिपय जिल्लामा निर्णय भएन । जिल्लाले जुन निर्णय गर्ने अधिकार प्राप्त गरेको छ । कतिपय जिल्लाहरुमा गठबन्धन नगरिकन निर्वाचन हुँदैछन् । केन्द्रले कम्तिमा गठबन्धन गर्दा कांग्रेसले विगतको निर्वाचनभन्दा राम्रो पोजिसन आउनसक्ने सम्भावना रहन्छ भन्ने किसिमले गठबन्धनलाई जिल्लाले अगाडि बढाउनु पर्छ भनिएको छ । तर कतिपय जिल्लामा त्यो गठबन्धन भएको छैन । सकभर मिलाएर जान सम्बन्धित क्षेत्रलाई अनुरोध गरिएको छ । र केही ठाउँमा आएका विवादलाई मिलाउने निरन्तर प्रयासहरु भएका पनि छन् । जहाँसम्म बागी उम्मेदवारको कुरा आयो, उसलाई साथिहरुले फिर्ता लिनुहुनेछ भन्ने लागेको छ  । 

कांग्रेसले क्षमताभन्दा धेरै आकांक्षा देखायो भन्ने गठबन्धनका अन्य दलहरुले आरोप लगाएका छन्, यो साँचो हो ? 

कांग्रेस ठूलो पार्टी हो । यसले अपेक्षा धेरै लिनु, धेरै आकांक्षा लिनु स्वाभाविक हो । यसले उम्मेदवारी धेरै राख्नु नौलो कुरा होइन । तर के हो भने उपयुक्त उम्मेदवारलाई दिएर न्युनतम विवादलाई व्यवस्थापन गर्न सहज हुन्छ । विवाद भएको ठाउँमा पार्टी संगठन, वडा संगठन तथा क्षेत्रिय संगठनको नेतृत्वले भूमिका बढि खेल्नुपर्छ । कहाँ कुन दललाई उम्मेदवारी बनाउँदा ठिक हुन्छ, त्यसको निर्णय गर्दा सिट बाँडफाँट गर्दा आवश्यताअनुसार मिलाएर जान र लैजान सक्नुपर्छ । 

गठबन्धनलाई मार पर्ने निर्णय नगर्ने हामीले भनेका छौं । कांग्रेसको कार्यकर्ता व्यवस्थापन गर्ने कुरा चुनौती भएको भन्ने बुझाई रहेको रहेछ तर खास यस्तो होइन, ठूलो पार्टी भएकाले केही चुनौती त पक्का भएको हो तर यसका कारण केन्द्रले गरेको निर्णय नमान्ने भन्ने कोही हुनुहुन्न । पार्टीले गरेको निर्णय सबैले मान्नु हुनेछ भन्ने विश्वास लिएको छु । 

कांग्रेस ठूलो पार्टी भनेर दावा गरिरहनु भएको छ । यदि ठूलो पार्टी हो भने गठबन्धन जरुरी छ र ? 

मन मिले देशको आवश्यकता भए गठबन्धन गर्नु स्वाभाविक हो । निर्वाचनले संविधानसभा बनायो । जनताले नेतालाई मत दिएर संविधान बनाउन पठाए । संविधानको पालना चाहिँ एमाले सरकारले इमान्दारिपूर्वक गर्न सकेन । नेपाली जनता पटक पटक राजनीतिक परिवर्तन बचाउँन लडे । राजनीतिक परिवर्तनका लागि लडेर परिवर्तन त भयो तर त्यो परिवर्तनलाई बचाउन एमालेले सकेन र सरकार ढल्यो । त्यो प्रहार बचाउन पनि गठबन्धन गर्नु आवश्यकता भयो । 

अहिलेको उद्देश्य भनेको आम जनताले खोजेको समावेशी लोकतन्त्रको कुरा, आर्थिक सामाजिक समृद्धिको कुरा, रुपान्तरणको कुरा, विसङ्गति असमानता हटाउने कुरा, अधिकार सुनिश्चित गर्ने कुराहरु छन् । समृद्धि देश बनाउने नयाँ पुस्ताको चाहाना तथा राजनीतिक रणनीतिलाई जोगाउन हामी एक भएका थियौं । परिवर्तनलाई नै पटक पटक प्रहार एमाले पार्टीबाट भएपछि यसको आवश्यकता भयो । अहिले गठबन्धन कम्तिमा हामीले प्राप्त गरेको राजनीतिक परिवर्तनको लडाईं लड्न नपरोस्  भनेर यसलाई संस्थागतरुपले कार्यान्वयन गर्नको लागि पनि अबका तीन तहकै सरकारमा गठबन्धनको आवश्यकता छ भनेर पनि यो गठबन्धन भएको हो । हामीले गठबन्धनका माध्यमबाट देशको राजनीतिलाई एउटा शिक्षा तथा निकाश दिने काम गरेका छौं । यसको स्पीड तथा गाँठोलाई हामीले जोगाएर लैजानु पर्ने आवश्यकता छ । 

मतपत्रमा भएको अलग अलग चुनाव चिन्हले गठबन्धनमा असर गर्ला नि ?  

समस्या त आउँछन् । २०७४ को स्थानीय तहमा पनि यस्ता केही ठाउँ गरिएको तालमेलमा असर त देखिएको थियो । अहिलेको चुनाव चिन्ह कसरी लड्ने भनेर गठबन्धनभित्र छलफल भइरहेको छ । मतदाता नझुक्किने गरि भोट गर्ने वातावरण सिर्जना गर्न लागेका छौं । त्यो अनुसार निर्वाचन आयोगमा कुराहरु लिखितरुपमा दर्ता गराएका छौं । आयोगले एउटा चुनाव चिन्हबाट लड्न नहुने कानुन भएको कुरा अगाडि बढाएको छ । मिलेन भने हामी मतदाता शिक्षा कार्यक्रमलाई व्यापकरुपमा घर घरमा पुर्याउँछौं । यसले खासै असर गर्दैन भन्ने मैले बुझेको छु । स्थानीय चुनाव भनेको घर घरको जानकार व्यक्तिले नजान्नेको भोट लगाउन पाउने अधिकार पनि भएको हो । यसमा धेरै झुक्किने सम्भावना छैन । हामी यसमा गम्भीर भएर सोचिरहेका छौं ।

Skip This
Logo