गठबन्धनले मलाई हराउन सम्पूर्ण शक्ति खर्चिएको छ : जगन्नाथ पौडेल

गठबन्धनले मलाई हराउन सम्पूर्ण शक्ति खर्चिएको छ : जगन्नाथ पौडेल


स्थानीय तहको निर्वाचन आउन अब ४ दिन मात्र बाँकी छ । मंगलबार मध्यरातिदेखि सुरु हुने शून्य समयअघि दल र तिनका उम्मेदवार मतदातालाई आफूतिर आकर्षित गर्न अन्तिम कसरतमा छन् । विशेषगरि ६ वटा महानगरमा गठबन्धन र एमाले उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । ती मध्ये पनि भरतपुर महानगरलाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् । जसले देशभर चर्चा पाएको छ । यतिमात्र होइन यो लडाईंले माओवादी केन्द्र अलि बढी तनावमा देखिन्छ । 

भरतपुर महानगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर मात्रै हैन, संघीय चुनावका लागि निर्वाचन क्षेत्र पनि हो । अर्का तर्फ छोरी रेनुलाई मेयरमा दोहोर्याउन चाहेका अध्यक्ष दाहालले रेनुको पराजयलाई आफ्नो पराजयका रुपमा लिएका छन् । भरतपुरमा पाँचदलीय गठबन्धनले रेनु दाहाल, नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । 

मुख्यरुपमा यी दुई उम्मेदवारबीच भरतपुरमा प्रतिस्पर्धा देखिन्छ तर कांग्रेसबाट असन्तुष्ट जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि भने भरतपुरको चुनावी माहोल गर्माएको छ । उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाणले खुबै प्रयास गरेका हुन् तर उनी डग्मगाएनन् । गृहमन्त्री खाण त दुई दिन भरतपुरमै बसे पनि । पौडेलको उम्मेदवारी र प्राप्त गर्ने मतले भरतपुरको मतपरिणाममा कायापलट हुन सक्छ । सायद यही कुरा बुझेर माओवादी अध्यक्ष दाहालले भरतपुरमा रेनु दाहाल पराजित भए देश दुर्घटनामा जाने चेतावनीसमेत दिए । उनको यही भनाइबाट के प्रष्ट हुन्छ भने भरतपुरमा उनको हुटहुटी कति छ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार पौडेललाई ‘भुइँकटहर’ चुनाव चिह्न दिएको छ । चितवनमा निष्ठाको राजनीति गर्ने कांग्रेस नेताका रुपमा परिचित उनै जगन्नाथ पौडेलसँग निर्वाचनका सन्दर्भमा केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरेले गरेको कुराकानी :

पार्टीले त तपाईंलाई कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरि निकालेको छ । स्वतन्त्र भएर उम्मेदवारी दिँदा साथीहरुको साथसहयोग कस्तो पाउनु भएको छ ? 

धेरै वर्ष राजनीति गरेका तथा चितवनको समाजलाई नजिकबाट बुझेका सबै पार्टीका साथीहरु तथा जनताले मलाई साथ दिनु भएको छ। मेरो यो सिद्धान्त र विचारको लडाईं हो । अहिले भएको गठबन्धन नीति र सिद्धान्त विपरित भएका कारण मलाई जनताले साथ दिनु भएको छ । मलाई पार्टीसँग सरोकार छैन । नेपाली कांग्रेसले पार्टीबाट निष्कासित गर्दासमेत मेरो यो सिद्धान्त र विचारले मलाई साथीहरुले साथ दिनु भएको छ। मैले जुन पदमा जहाँ उम्मेदवारी दिएको छु, म बाहेक कांग्रेसका अरु साथीहरुले उम्मेदवारी दिएका छैनन् । मेरो उम्मेदवारी बागी र विद्रोही केही पनि होइन यो भरतपुरबासीको लडाईं हो । चितवनका जनताले मलाई सहयोग गर्छन् भन्नेमा ढुक्क छु । मलाई नेता तथा कार्यकर्ताहरुले ज्यान दिएर समर्थन गरिरहनु भएको छ। 

पछिल्लो समय चितवनका कांग्रेस नेताहरु त गठबन्धनको पक्षमा मत माग्दैछन् नि । अब तपाईं एक्लिनु भएको हो ?

को कहाँ हिँड्यो, या देखियो त्यो निर्वाचनले बताउँछ । यहाँका जनता सचेत छन् । शक्तिको भरमा यहाँका जनतालाई कसैले किन्न सक्दैन । धम्कीले डराउँने तर्सिने दिन गए । को कता खटिए भनेर ढुक्क हुने बेला छैन । म यतिमात्र भन्न सक्छु परिणाम अर्कै आउनेवाला छ । 

तपाईंलाई गठबन्धन र एमाले दुवैले विभिन्न प्रलोभन दिएर फकाए भन्ने कुरा सुनियो । जाउँजाउँ भएन ?

प्रलोभन त धेरै आएका थिए । प्रलोभन आएको साँचो हो । तर म त्यति कमजोर छैन । प्रलोभनमा फसेर महानगरबासीको भविष्यलाई अन्धकारमा लैजाने मेरो सोच छैन । यो आन्तरिक कुरा हो, नोमिनेसन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहोस् भनेर कुराहरु आए । यो भन्दा गहिराईमा गएर म जवाफ दिन सक्दिनँ । अरु कुरा जनताले अनुमान गर्ने कुरा हुन् । 

उसो भए गठबन्धन र एमालेलाई हराउन सकिन्छ ? 

होइन जगन्नाथ बलियो छ । ऊ राम्रो छ भन्ने कुरा त अस्ति बिहीबारको आमसभामा तीन जना पूर्वप्रधानमन्त्रीले भनिसक्नु भयो ।  जगन्नाथ बलियो भएकाले हाम्रो सरकारी उम्मेदवार हार्ने खतरा भयो, यसको जिम्मा स्वतन्त्र उम्मेदवारले लिनुपर्छ भनेर तोकेरै भन्नु भएको छ।

मेरो यो सिद्धान्त र विचारको लडाईं हो । अहिले भएको गठबन्धन नीति र सिद्धान्त विपरित भएका कारण मलाई जनताले साथ दिनु भएको छ । मलाई पार्टीसँग सरोकार छैन ।

उहाँहरु डराउनु स्वाभाविक हो । हाम्रो पक्षमा जनताको आकर्षण र विश्वास भएकाले गठबन्धन डराएको छ। अर्को कुरा एमालेको भयो, मेरो राजनीतिक कर्म तथा योगदानका कारण जनता मेरो पक्षमा भएकाले मैले जित्ने कुरामा कुनै शंका छैन । 

कति मतले जित्नु हुन्छ ? केही आँकलन गर्नु भएको छ ?  

मेरो जित सानदार हुनेछ । मेरो मत गठबन्धनका उम्मेदवार र एमालेको उम्मेदवारभन्दा लगभग दोब्बर नै आउँछ । यति आउँछ भनेर चाहिँ उहाँहरुको जस्तो गनेर हिसाब राखेर बस्न भ्याएको छैन । म कुराभन्दा काममा फोकस गर्ने मान्छे भएकाले झुटो बोल्ले काम गर्दिनँ । जनलहरका कारण दोब्बर मत आउँछ, जगन्नाथ जि को भनेर साथीहरुले भन्नु हुन्छ । 

तपाईंलाई भोट माग्न हिँड्न कतिको सहज वातावरण छ ?

गठबन्धनले मलाई हराउन राज्यको पूर्ण शक्ति लगाइरहेको छ । राज्य मेरो विपक्षमा लागेको छ । केहीले मेरोपछि हिँड्ने मानिसलाई धम्क्याइएको छ । काम गर्ने ठाउँमा काम गर्न भाँजो लगाइएको छ । तर पनि मेरो पक्षमा चितवनमा उर्लंदो लहर चलेको छ । जसका कारण केही मानिसहरु आरिसले जलेको अवस्था छ । यो लहरलाई विना बिघ्नबाधा परिणाममा जाँदा मेरो विजय सुनिश्चित छ । 

मतदानको दिन नजिकिँदै गर्दा पुष्पकमल दाहालले आमसभामा दिएको अभिव्यक्तिले तपाईंप्रति जनताको आकर्षणलाई असर गरेको छ कि छैन ? 

चितवनका जनता सोझा छैनन् । जसले जे भन्यो त्यही खुरुक्क मान्ने । त्यो हुँदा हुँदै पनि मानिसहरुको लहर रोकिएको छैन । केही लालायित साथीहरुलाई त्यो पछि असर परेको होला तर जनलहरमा कसैका धम्किले कोही डराउनेवाला छैनन् । जनतालाई धम्क्याएको, तर्साएको, यसो गर उसो गर रेकर्ड राख्छु भन्ने खालमा फोनहरु पनि आउँछन् रे । तर जनता म प्रति उत्साहित हुनुहुन्छ। 

अस्ती रामचन्द्र पौडेललाई भेट्दा रेनु दाहालले उम्मेदवारी फिर्ता लिए म पनि लिन्छु भन्नु भयो रे । यो साँचो हो ? 

खासमा मैले मलाई मात्र उम्मेदवारी फिर्ता ले तपाईंहरु किन भन्नु हुन्छ ? तपाईंहरुले रेनु जीलाई भन्नुहोस् । उनलाई बचाउनका लागि मलाई फिर्ता लिन भन्ने ? यो न्यायोचित भयो ? यो कुनै हिसाबले न्यायोचित हुँदैन । जनताले यो मान्दैनन्, उनीहरुलाई म धोका दिन चाहान्नँ भनेको थिएँ ।

चितवनका जनता सोझा छैनन् । जसले जे भन्यो त्यही खुरुक्क मान्ने । त्यो हुँदा हुँदै पनि मानिसहरुको लहर रोकिएको छैन । केही लालायित साथीहरुलाई त्यो पछि असर परेको होला तर जनलहरमा कसैका धम्किले कोही डराउनेवाला छैनन् ।

तपाईंलाई भरतपुरका जनताले किन भोट दिने ? 

म यहाँको माटोमा हुर्किएको मानिस हुँ । म जनताको आन्दोलनमा अग्रस्थानमा भएर काम गरेको छु । जनताका लागि लड्दा जेल नेलसमेत भोगेको छु । मैले वकालत गरेर सेवा दिएको छु । म कलेजको प्रोफेसर भएर युवा, विद्यार्थी तथा अभिभावकको समस्यामा नजिक रहेर काम गरेको छु । मानव अधिकारका लागि थुपै वर्ष काम गरेको छु । म भरतपुर नगरको उपप्रमुख भएर पनि काम गरेको छु । अहिले महानगर चलाउने मानिस सिँहदरबार चलाउने जस्तै हैसियत राख्नु पर्छ । त्यो म सँग छ । यो चलाउन विभिन्न भूमीकामा मानिसले विज्ञता हासिल गरेको हुनुपर्छ । जो म सँग छ । सो कारण आम मानिसको सल्लाह सुझाव तथा झुकाव म प्रति लक्षित छ । मेरो अनुचित फाइदा बेफाइदा लिन्नँ । भ्रष्टाचार गर्दिनँ । कुनै विवादका कारण झुकेर हिँड्नु नपरेका कारण सर्वसाधारण म देखि खुसी हुनुभएको छ । सो कारण म स्वतन्त्र उम्मेदवार भएकाले मेरो नोमिनेसनमा जाँदा पनि मानिसको लहरले खुट्टा टेक्ने ठाउँ थिएन ।  

तपाईंका पछि कस्ता मतदाता छन् ?

मेरो पक्षमा सबै खालका मतदाता छन् । विशेषगरि युवा तथा वृद्ध वृद्धा बढि हुनुहुन्छ । अर्का कुरा मेरा पछि माओवादीका साथीहरु, कांग्रेसका साथीहरु, एमालेका साथीहरु तथा अन्य पार्टीका समेत सक्रिय साथीहरु हुनुहुन्छ । म दुनियाँले पत्याएको मान्छे भएको हुनाले मेरा पक्षमा सबै हुनुहुन्छ । 

उहाँहरुको अपेक्षा के रहेछ ?

उहाँहरुले भन्नु हुन्छ, तपाईंले यो संकटमा देश बर्वादी हुनबाट बचाउनु भएको छ । हाम्रो पूर्ण साथ तपाईंलाई छ । तपाईंका कारणले हाम्रो भविष्य सुरक्षित भएको अनुभव हुन्छ भन्नु भएको छ । मलाई उहाँहरुले अगाडि बढ्नुहोस् भन्नु हुन्छ । 

जितेपछि भरतपुरलाई कस्तो बनाउने कल्पना गर्नु भएको छ ? 

भरतपुर देशकै नमुना शहर भएकाले यसलाई व्यवस्थित गर्नुपर्छ । शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार गर्नुपर्छ , प्रशासनलाई व्यवस्थित बनाउने, भ्रष्टाचार निर्मुल गर्ने, करको दायरा बढाउनु पर्छ, जनताको दुःखलाई अन्त्यका लागि जुट्नु पर्छ । सुविधा बढाउनु पर्छ भन्ने गुरु योजना बनाएको छु। 

Skip This
Logo