आरोपित शिक्षकलाई कारवाही गरिसकेका छौं : सेन्ट लरेन्स कलेज

आरोपित शिक्षकलाई कारवाही गरिसकेका छौं : सेन्ट लरेन्स कलेज


कलेजका कोर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

आन्दोलित विद्यार्थीहरू अधिकारीलाई कारवाहीको माग गर्दै कलेज परिसरमा नारा लगाइरहेका छन् । शिक्षक अधिकारीले दुर्व्यवहार गरेको कुरा बाहिरिएपछि सोमबार कलेजले आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निस्कासन गरेको कलेज प्रशासनले जानकारी दिएको छ । अहिले विद्यार्थीहरू, पीडित, अभिभावक र कलेजका शिक्षकहरूसहित प्रहरी वृत्त गौशालामा पुगेका छन् । पीडित विद्यार्थीले उजुरी दिएपछि प्रहरीले आरोपित शिक्षक अधिकारीलाई सोधपुछका लागि बोलाएको छ ।

आफ्नो इच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै अधिकारीले यौन दुर्व्यवहार गरेको आरोप छ । सोही घटनाका विषयमा कलेजका प्रमुख पुरुषोत्तम महर्जनसँग केन्द्रबिन्दुले गरेको कुराकानी ।

तपाईँको कलेजमा अहिले विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ? घटना के हो ?

विद्यार्थीहरूले कोअर्डिनेटर सरले ‘मिस बिहेव’ गर्नुभएको र गलत ‘इन्टेनसन’ राखेर बोल्नुभएको भन्ने कुरा गर्नुभएको छ । गलत आशयले दुर्व्यवहार गरेको भन्ने कुरा विद्यार्थीहरूबीचमा भइरहेको रहेछ । हामीलाई एक हप्ता अगाडि यो कुरा जानकारीमा आएको थियो । त्यसपछि हिजो हामीले विद्यार्थीको अभिभावकसँग कुरा गर्‍यौँ ।

विद्यार्थीले शिक्षकले नै दुर्व्यवहार गरेको महसुस गरेपछि त्यस्तो शिक्षकलाई संस्थामा राख्नु हुँदैन भनेर हामीले कारबाहीको प्रक्रियामा गएका हौँ । 

हामीले त्यो शिक्षकलाई हिजो बेलुकी बसेर निर्णय गरेर कलेजबाट निस्काशन गर्‍यौँ । तर बेलुकी मात्रै निर्णय भएकाले विद्यार्थीले जानकारी पाउने कुरै भएन । त्यसैले कारवाही भएन भनेर उहाँहरूले आन्दोलन गर्नुभएको हो ।

उहाँहरूको माग के छ ?

हामीले हिजो बेलुकी मात्रै त्यो शिक्षकलाई निस्कासन गर्‍यौँ । कारबाही गरिसकेको जानकारी उहाँहरूलाई गराइसकेपछि पनि अभिभावक, विद्यार्थीहरूले उपस्थित गराएर माफी माग्नुपर्छ भन्ने माग गर्दै आउनुभएको छ । हामीले निस्काशित नै गरिसकेको शिक्षकलाई फेरि यहाँ बोलाउन मिल्दैन । बरू तपाईँहरूलाई थप न्याय आवश्यक पर्छ भने हामी सहयोग गर्छौ । कानुनी रुपमै सहयोग गर्नुपर्छ भने जाहेरी दिनुपर्छ भनेर हामी अहिले गौशाला(प्रहरी कार्यालय)मा आएका छौँ ।

अरू विद्यार्थीहरूलाई ति शिक्षकले दुर्व्यवहार गर्थे भन्ने कुरा पनि आएको छ नि ?

यो कुरा बाहिर आएपछि अरू विद्यार्थीहरूले पनि अँ हामीलाई पनि त्यस्तो नजरले, अलि गलत तरिकाले बोल्ने गर्नुहुन्थ्यो भन्नुभएको छ । अहिलेसम्म आएका कुरा मौखिक रुपमा गलत व्यवहार गरेको कुरा आएको छ । एउटा विद्यार्थीले चैँ मलाई हातमा समात्नुभयो भन्नेसम्मको कुरा हो ।

यहाँ अहिले नारा जुलुस गर्दा बलात्कारका कुरा गरिएका छन् । त्यस्तो हुँदै होइन । बच्चाले त्यसरी उजुरी दिएका पनि छैनन् । बच्चाको अभिभावकसँग हिजो हामी बसेका पनि छौ । आज पनि अभिभावकसहित बसेर अहिले हामी कुरा गर्दैछौँ ।

तपाईँको संस्थाले आरोपित शिक्षक अधिकारीलाई कारबाही गरेको बताउनुभयो । कस्तो खालको कारबाही गर्नुभयो ?

बच्चाहरूले आफूलाई दुर्व्यवहार भएको महसुस गर्छन् र असुरक्षित ठान्छन् भने त हामीले त्यस्ता शिक्षकलाई राख्ने कुरै भएन । हाम्रो शैक्षिक संस्था हो ।

हाम्रो लागि त विद्यार्थी नै पहिला हुन् । विद्यार्थीहरू हाम्रा बाबु नानीहरू हुन् । हामीले उनीहरूको मागअनुसार आरोपित शिक्षकलाई निस्काशित गरेका हौँ ।

संस्थाका हिसाबले पीडितलाई न्याय दिलाउन तपाईँहरूको कस्तो भूमिका हुन्छ ?

अहिले हामी प्रहरीकहाँ आइसकेका छौ । घटना के हो भन्ने कुरा अब पुष्टि होला । आरोप मात्रै आउँदा पनि हामी संवेदनशील हुनुपर्छ भनेर हामीले कारबाही गरिहाल्यौँ । यो घटनालाई अनुसन्धान गर्नका लागि उजुरी दिएरै जानुपर्छ भनेर अहिले हामी गौशालामा आएका छौ ।

तर अहिले नारा लाइरहेका बलात्कारका कुरा भने होइन । त्यो त गहन फौजदारी मुद्दा हुन्छ । र अहिलेपनि हामीले केश हेरेर प्रहरीले के भन्नुहुन्छ । त्यसमा हामी साथ दिन तयार छौ । संस्थाले कुनैपनि शिक्षक कर्मचारीलाई बचाउन खोजेको छैन । संस्थाले तत्काल निस्काशन पनि गरिसकेको छ । तर उहाँलाई थप कारबाही गर्ने निकाय हामी हौइनौ । त्यही भएर सम्बन्धित निकायमा जानुपर्छ भनेर हामी यहाँ (प्रहरी प्रशासन) आएका छौँ।

Logo