नेपाली सिने जगतको तत्कालीन समयमा ब्ल्याक ब्युटि उपमाबाट परिचित अभिनेत्री हुन् ऋचा घिमिरे । २ दर्जन चलचित्र र थुप्रै टेलिचलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री ऋचाका छोडि गए पाप लाग्ला, गिरफ्तार, फर्ज, फैसला लगायत थुप्रै चलचित्र हिट लिस्टमा पर्छन् । तर दुर्भाग्यवश उनी अहिले नेपाली चलचित्र क्षेत्रबाट मात्र होईन नेपालबाट नै धेरै टाढा छिन् ।
विगत केहि वर्षदेखी उनी आफ्नो सपरिवार अमेरिकाको बाल्टिमोरमा बसोबास गरिरहेकी छिन् । ३ सन्तानकी आमा बनिसकेकी ऋचा अमेरिका गएपछि एकपटक पनि नेपाल फर्किएकी छैनन् । यसै सन्दर्भमा आज हामी अमेरिका भासिए पछिका उनका तितामिठा अनुभवहरु समेटिएको अनलाईन अन्तर्वार्ता पस्कदैछौँ ।
नमस्ते दिदी, अमेरिकाको बसाई के कस्तो भईरहेको छ ?
– सबै ठिकै नै छ बहिनी आजसम्म त । बसाई राम्रै छ । मेरो श्रीमान् बाहिर काम गर्नुहुन्छ । तर मेरो चाहीँ आजसम्म पनि बाहिर गएर काम गर्ने माहोल बनेको छैन । किनकी बच्चाहरु सानै छन् । त्यसमाथि पनि कोरोना भाइरसको कारण बच्चाहरुको पढाई आजभोलि अनलाईन बाट नै हुन्छ । उनीहरुलाई कोअर्डिनेट गरिरहनु पर्ने हुन्छ । त्यसैले अहिले बच्चाहरुलाई नै समय दिईरहेकी छु ।
अमेरिका लागेपछि नेपाललाई चटक्कै माया मार्नु भएको हो?
– नेपाललाई त जहाँ नै गए पनि माया मार्न सकिँदैन । नेपाल जाने समय मात्र नजुरेको हो । यसपाली बच्चाहरुको भ्याकेसनमा सबै परिवार नेपाल जाने प्लान बनाएका थियौँ तर कोरोना भाइरसले गर्दा क्यान्सिल गर्नुपर्र्यो । अब अलि पछि मात्र आउँछु ।
त्यति धेरै वर्ष नेपाली सिनेमा जगतमा बिताउनु भयो । याद त पक्कै आउँछ होला । फेरि सिनेमामा फर्कन सक्ने सम्भावना कत्तिको छ ?
– याद त धेरै आउँछ । यहाँ म लगायत थुप्रै कलाकारहरु छौँ । बेलामौकामा गेटटुगेदर गरिरहेका हुन्छौँ । हामी कलाकारहरु भेट हुँदा पनि प्राय सिनेमाकै कुरा गरिरहेका हुन्छौँ । सिनेमामै फर्किने कुरामा चाहीँ यता सबै छाडेर आउन त सक्दिन । तर अझै पनि समय मिलाएर मेकरको रुपमा आउने र आफू सुहाउँदो क्यारेक्टर भए अभिनय गर्ने सोच चाहीँ छ ।
तपाईँको समयमा र अहिलेको समयमा नेपाली चलचित्र क्षेत्रमा के भिन्नता पाउनु हुन्छ ?
– प्रविधिको सवालमा त नेपाली चलचित्रहरु पनि धेरै डेभेलप भईसक्यो । हाम्रो पालामा त्यति धेरै आधुनिक प्रविधिहरुको विकास भईसकेको थिएन । तर अरु कुराहरुमा चाहीँ खासै केहि डिफ्रेन्स पाएको छैन मैले ।
तपाईँले त निर्मात्रीको रुपमा पनि काम गरिसक्नु भएको छ । अभिनेत्री र निर्मात्रीमा चाहीँ के भिन्नता पाउनु भयो ?
– अभिनेत्री र निर्मात्रीमा चाहीँ धेरै नै अन्तर छ । अभिनेत्री मात्र हुँदा आफ्नो एक्टिङ र पारिश्रामिकसँग मात्र मतलब हुन्छ । तर मेकर भएपछि सबैलाई रिझाउनु बुझाउनु पर्ने हुन्छ । धेरैको वचन खेप्नु पर्ने, धेरैसँग दुश्मनी मोल्नु पर्ने हुन्छ । खासमा म अमेरिका लाग्नुको कारण पनि चलचित्र क्षेत्रमा मैले म लगायत मेरा बच्चाहरुको भविष्य राम्रो नदेखेर नै हो ।
तपाईँका त बच्चाहरु पनि सानै छन् । नेपाली परिवेशसँग घुलमिल हुने मौका नै पाएका छैनन् । नेपाली कला, संस्कृति सिकाउने गर्नुभएको छ की छैन ?
– हुन त यहाँ घरबाट एक पाईला निस्कने वित्तिकै अंग्रेजी बोलिन्छ । त्यसैले उनीहरुको सिकाई सिमीत हुन्छ । तैपनि हामी आफ्नो तर्फबाट सक्दो नेपाली सिकाईरहेका हुन्छौँ । उनीहरुले अंग्रेजीमा प्रश्न गरे पनि हामी नेपालीबाट नै उत्तर दिने गछौँ । दिनमा एक छाक हामी नेपाली खाना दाल, भात, तरकारी नै खान्छौँ । मेरो ठूलो छोरालाई त गुन्द्रुक एकदमै धेरै मन पनि पर्छ । जति पनि नेपाली चाडपर्वहरु हुन्छन्, ति सबै मनाईरहेका हुन्छौँ । हुन त नेपालमै भए जस्तो हुँदैन । त्यसमाथि उनीहरुको उमेर पनि सानै छ । तर पनि उनीहरुलाई नेपाली भाषा, खाना, चार्डबार्डहरुको बारेमा केहि हदसम्म थाहा भईसकेको छ ।
अब कोरोना कन्ट्रोल भएपछि तपाईँको जीवन कसरी अगाडि बढ्छ त?
– त्यस्तो धेरै फरक त हुँदैन । किनकी म बाहिर काम गर्दिन । तर म घरभित्रैबाट गर्न मिल्ने कामहरु गर्थेँ त्यसलाई निरन्तरता दिन्छु । जस्तो की मैले ‘ईनकमर’ नामक पोडकास्ट सञ्चालन गरिरहेकी छु । जसमा म एक देशमा जन्मेर अर्को देशमा बसोबास, व्यापार, जागिर गरिरहेका ईमिग्रेन्ट महिलाहरुलाई गेस्टको रुपमा ल्याउने गर्छु । मैले मेरा बच्चाहरुको लागि ‘वेलडन किड्स’ भन्ने युट्युब च्यानल पनि खोलेकी छु । म त्यसमा पनि भिडियोहरु हाल्ने गर्छु । त्यस्तै ग्रिनकार्डको लागि अप्लाई गर्दा नेपालबाट ल्याएका कतिपय डकुमेन्टहरु नेपालीमा हुने गर्छन् । त्यसलाई अंग्रेजीमा कन्भर्ट गनुपर्ने हुन्छ । कतिपयलाई कन्भर्ट गर्ने फुर्सद हुन्न, कतिपयलाई आईडिया हुन्न । त्यसैले म त्यो कामहरु पनि घरबाटै गरिरहेकी हुन्छु । त्यस्तै यहाँ नेपालीले अर्गनाईज गरेका कार्यक्रमहरु पनि प्रायजसो मैले होस्ट गर्ने गरेकी छु । अहिलेको लागि त्यही कामहरुलाई नै निरन्तरता दिन्छु । पछि बच्चाहरु ठूलो भएपछि अरुअरु प्लानहरु पनि बन्दै जालान् ।
प्रकाशित: २९ भदौ २०७७ १७:०८ सोमबार