शुन्य समयमा लोकसेवाको विज्ञापनदेखि भूतसम्मका कुरा

शुन्य समयमा लोकसेवाको विज्ञापनदेखि भूतसम्मका कुरा


प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेका छन् । प्रदेश र स्थानीय तहको कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नै पदपूर्ति गर्ने व्यवस्था गर्न माग गर्दै सांसदहरूले सरकारले संविधानको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

समाजवादी पार्टी नेपालका रामसहायप्रसाद साहले आयोगको उत्तरदायित्व र विश्वसनीयतामाथि प्रश्न उठेको बताए । सांसद राजेन्द्र महतोले संघीयताको मर्म र भावनाविपरीत उक्त विज्ञापन खुलाएको भन्दै लोकसेवा आयोग संघीय सरकारको चर्को आलोचना गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदै गएको बताए।  सांसद मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपूर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षीत गर्न सकेन भन्ने जनगुनासो रहेको भन्दै सम्बन्धीत निकायको ध्यानआकृष्ट गराएका थिए ।

सांसद यज्ञबहादुर बोगटी जेठ १० गते अछामको ढकारी गाउँपालिका ४ बलातामा आगलागीबाट ७ वटा घरपूर्ण रूपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सीको क्षति भएको भन्दै तत्काल पीडितलाई राहतको व्यवस्था गर्न माग गरेका थिए। नेकपाका सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भूपु गोर्खा सैनिकले वर्षौं देखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरेका थिए।

सासद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनियाँ महिलाको मृत्यु भएको र सो को छानबिनका लागि हुम्लाका तेजबहादु थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले विगत तीन दशक देखि बेलायती भूतपूर्व सैनिक समान कामको समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्‍याउने विषयमा उचित पहल गर्न माग गरेका थिए।

सांसद लक्ष्मणलाल कर्णले वीरगञ्जमा उच्च अदालतको भवन निर्माण तत्काल सुरु गर्न सरकारसँग माग गरेका थिए। उच्च अदालत भवन निर्माणका लागि सर्वोच्च अदालतले ७ बिघा जग्गाको माग गरेको फाइल उद्योग मन्त्रालयले थन्काएर राखेको दाबी उनले गरेका थिए। उच्च अदालतको भवन बनाउन सर्वोच्च अदालत तयार भइरहेको अवस्थामा भवन निर्माण सम्बन्धी फाइल मन्त्रालयमा अड्काउने काम भएको भन्दै उनले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद महेश बस्नेतले मुलुक धर्मनिरपेक्ष राष्ट्र भइसकेकाले आफूमा निहीत क्रिश्चियन धर्म विरोधी भूतलाई हटाउन सांसदहरूलाई आग्रह गरेका थिए ।

Logo