यी मुलुकका राष्ट्रिय झन्डा र निशान छापमा छाएको छ ‘एके-फोर्टी सेभेन’

यी मुलुकका राष्ट्रिय झन्डा र निशान छापमा छाएको छ ‘एके-फोर्टी सेभेन’


‘एके–फोर्टी सेभेन’धारी तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको छ। कुनै समय अलकायदाका सर्वोच्च नेता ओसामा बिन लादेनको अन्तर्वार्ता र सन्देशमा उनीसँगै देखा पर्दै आएको हतियार थियो ‘एके–फोर्टी सेभेन’। 

त्यस्तै, १९५५ देखि १९७५ बीच भएको ‘भियतनाम युद्ध’मा पनि अमेरिकी हारमा ‘एके–फोर्टी सेभेन’को महत्वपूर्ण भूमिका रहेको मानिन्छ। एसल्ट राइफल ‘एके–फोर्टी सेभेन’को अमेरिकी प्रतिद्वन्द्वी ‘एमआइ–सिक्सटिन’ पनि त्यसबेला फितलो साबित भयो।  

सन् १९४७ मा तत्कालीन सोभियत संघका हतियार डिजाइनर मिखाइल कलास्निकोभले आविष्कार गरेको हतियारलाई रुसी भाषामा ‘अभ्टोम्याट कलास्निकोभा (एके)’ नाम दिइयो। उक्त नाम र आविष्कार वर्ष (सन् १९४७)का आधारमा ‘एके–फोर्टी सेभेन’ नाम चर्चामा आएको हो। 

विद्रोहको ‘पर्याय’का रूपमा परिचित ‘एके–फोर्टी सेभेन’ यतिसम्म चर्चित छ कि यो केही मुलुकका राष्ट्रिय झन्डा र निशान छापमा छाएको छ। 

१. मोजाम्बिकको राष्ट्रिय झन्डा 


संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूमध्ये मोजाम्बिक, हाइटी, ग्वाटेमाला र बोलिभियाको राष्ट्रिय झन्डामा पुराना खालका बन्दुक छन्। तर, मोजाम्बिक मात्र यस्तो देश हो, जसको झन्डामा ‘एके–फोर्टी सेभेन’ जस्तो आधुनिक हतियार छ। कुनै समय पोर्चुगलको अधिनमा रहेको मोजाम्बिकको स्वतन्त्रताका लागि लडेको ‘मोजाम्बिकन लिबरेसन फ्रन्ट’ को झन्डामा मोजाम्बिकको हालको झन्डा आधारित छ। 

सन् २००५ मा मोजाम्बिकले शान्तिको युगमा प्रवेश गरेको भन्दै हतियार नभएको नयाँ झन्डा ल्याउन खोजेको थियो, तर, उक्त हतियार स्वतन्त्रताको प्रतीक भएको भन्दै ‘मोजाम्बिकन लिबरेसन फ्रन्ट’ नेतृत्वको सरकारले त्यस्तो प्रयासलाई अघि बढ्न दिएन।  

२. पूर्वी टिमोरको निशान छाप 


३० वर्षे द्वन्द्वपछि इन्डोनेसियाबाट स्वतन्त्र भएको पूर्वी टिमोरको निशान छापमा सन् २००७ देखि ‘एके–फोर्टी सेभेन’ रहेको छ। 

३. जिम्बावेको निशान छाप


१५ वर्षको संघर्षपछि सन् १९८० मा जिम्बावे स्वतन्त्र राज्य भयो। स्वतन्त्रतामा महत्वपूर्ण भूमिका भएको ‘एके–फोर्टी सेभेन’ जिम्बाब्वेको निशान छापमा समाविष्ट छ। 

Logo