मान्छे सुत्दै नसुती कति समय बाँच्न सक्छ?

मान्छे सुत्दै नसुती कति समय बाँच्न सक्छ?


मानिसले लगातार सुत्दै नसुती ११ दिन २५ मिनेटसम्म बसेको विश्व रेकर्ड रहेको छ। सो रेकर्ड सन् १९६३ मा १७ वर्षीय अमेरिकी र्यान्डी गार्डनरले बनाएका थिए। 

निद्रा बिग्रँदा हुने असरहरूबारे विस्तृत अध्ययन भएको छ। चिडचिडापन, निर्णय क्षमतामा ह्रास र कुनै एक कोणबाट मात्र सोच्न मिल्ने किसिमको मनोवैज्ञानिक जडता निद्रा बिचलित हुँदा देखा पर्ने समस्याहरू हुन्। जाँगरको कमी, उच्च रक्तचाप, मुडको विचलन, स्मरणशक्तिमा क्षय, आँखाको समस्या, बोलीको समस्या र दृष्टिभ्रम अनिद्राका अन्य केही असरहरू हुन्। 

गार्डनरले विश्व रेकर्ड बनाउँदाका प्रत्यक्षदर्शी विलियम डिमेन्टले बताएअनुसार अनिद्राका यस्ता असरमध्ये मनोवैज्ञानिक र ज्ञानेन्द्रियगत समस्या जस्ता असर उनीमा देखिएका थिए। उनले कुनै किसिमको रसायनको प्रयोग त गरेनन् तर आफूलाई सुत्न नदिन आफू वरिपरि मानिसहरू राखे। लगातार ११ दिन २५ मिनेटसम्म अनिदो बसेपछि गार्डनर १४ घण्टा सुतेका थिए। 

गार्डनरभन्दा बढी समय अनिदो रहेको घटना अहिलेसम्म पनि आधिकारिकरूपमा आएको छैन। 

अनिद्राका दीर्घकालीन असर गम्भीर हुन सक्छन्। प्रयोगशालामा अनिदो राखिएका मुसाले एक महिनाभित्र ज्यान गुमाएको पाइएको छ। साथै फेटल फेमिलियल इन्सोम्निया नामको अनिद्राको वंशाणुगत बिमारी भएका मानिसहरूले तीन महिनाको अनिद्रापछि ज्यान गुमाएको पनि पाइन्छ। 

(‘न्यु साइन्टिस्ट’बाट भावानुवाद गरिएको, फोटो सौजन्यः बीबीसी)

Logo