पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरिले भण्डारी नेकपाको पूर्व नेत्री भएकाले फेरि सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् । 

उनले भने, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्व नेता हो । हाम्रो पार्टीको उहाँले अहिले फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानूनले पनि रोक्दैन् संविधानले पनि रोक्दैन् । पार्टीको विद्यानले पनि रोक्दैन । आउने कि नआउने भन्ने बारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’

त्यस्तै, प्रमुख सचेतक गिरिले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपालले आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दे  हिँडेको उनको दाबी छ । 

उनले भने, ‘आफ्नै पार्टीको नेतालाई अध्यक्षबाट फाल्ने संसदीय दलको नेताबाट फाल्ने, पार्टी सदस्यबाट पनि हटाउने आफ्नो सत्ता गिराउन अरु सत्तासँग सहमति गर्ने हस्तक्षप गर्ने अनेक खेल भएका थिए । त्यसले पार्टी फेरी एक भएर जान सकेन त्यो पछि निर्माण गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको थियो । आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दै हिँडे त्यसैले नेकपा एकठाउँमा आउन सकेन । यसको जिम्मेवार प्रचण्ड र माधव नेपाललगायतको नेता हो ।’ 

Logo