इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

इटालीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा


रोम ।

इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोना भाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिएको हो ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्ष लगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए।

नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिनेछ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए ।

इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको र सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् ।

“क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लापर्वाही गर्यौँ भने महामारी झन फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भने । नयाँ प्रतिबन्धात्मक व्यवस्था डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उनले जानकारी दिए ।

Logo