आख्यानकार रमेश विकलका नाममा स्थापित पुरस्कार घोषणा

आख्यानकार रमेश विकलका नाममा स्थापित पुरस्कार घोषणा


काठमाडौं ।

नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलका स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाको नाम सार्वजनिक गरिएको हो । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन् ।

समितिको सिफारिस अनुसार विकल वाङ्मय साहित्य पुरस्कार वरिष्ठ भाषा सेवी शान्तदास मानन्धरलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए। यो पुरस्कारको राशि रु ३० हजार रहेको छ । यसैगरी रु २० हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिने जनाइएको छ ।

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिनेछ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशि रु १० हजार रहेको छ । यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव चालिसेले बताए ।

Skip This
Logo