जङ्गली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु


चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएकी थिइन् । घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । उक्त शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो ।रासस

Logo