‘भ्रष्टाचार नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायको प्रयत्न जरुरी’ -प्रमुख आयुक्त राई

‘भ्रष्टाचार नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायको प्रयत्न जरुरी’ -प्रमुख आयुक्त राई


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धका राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा तथा कार्यान्वयन मूल्याङ्कनमा सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगले आयोजना गरेको कार्यक्रममा आयुक्त राईले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेकामा जोड दिए । उनले  यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक समुदाय सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने विश्वास र दृढताका साथ सम्पूर्ण सरोकारवालाबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरे ।

प्रमुख आयुक्त राईले आयोगले भ्रष्टाचारयुक्त कार्यको अनुसन्धान र अभियोजनलाई अझ बढी प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको जानकारी दिए । 

“भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउनुको साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ । सार्वजनिक निकायमा संस्थागत सदाचारिता अभिवृद्धि गर्ने र भ्रष्टाचारका उजुरीउपर तथ्य र प्रमाणका आधारमा वस्तुगत, दक्षतापूर्ण एवं प्रभावकारी अनुसन्धान एवं अभियोजन गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न आयोग प्रतिबद्ध रहँदै आएको छ”, उनले भने ।

Logo