‘राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु’ : प्रधानमन्त्री

‘राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु’ : प्रधानमन्त्री


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनु अघि प्रतिनिधिसभा बैठकमा उनले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताए ।

सरकारले नेपालको नयाँ नक्शा अनुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए । प्रधानमन्त्री ओलीले भने,, “दलीय व्यवस्थामा यस्ता एकता कहिले कहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।”

उनले संसद भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे । यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उनले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनु नपर्ने बताए।

Logo