बालबालिकाको प्रश्न : प्रधानमन्त्री बन्छु भन्ने सोच्नुभएको थियो ? (भिडियो सहित)

बालबालिकाको प्रश्न : प्रधानमन्त्री बन्छु भन्ने सोच्नुभएको थियो ? (भिडियो सहित)


काठमाडौं ।

“हजुर, जस्ता प्रश्नको पनि उत्तर सामान्य ढङ्गबाट दिनुहुन्छ, यहाँले जस्तो अथाह ज्ञान पाउन हामीले कसरी पढ्ने होला ?”, जेभियर्स इन्टरनेशनल स्कुलका छात्र प्रज्ञान बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा सामान्य लाग्ने गम्भीर प्रश्न राखे ।

प्रश्न खस्ने बित्तिकै नेपाल प्रज्ञा प्रतिष्ठानको खचाखच हल पररर… तालीले गुञ्जियो । अच्चम्मको प्रश्न सुनेर स्वयं बालबालिका मुखामुख गरेर हाँसे । बालबालिकाको नजिकै थिए , प्रधानमन्त्री केपी शर्मा ओली । उनी पनि प्रश्न सुनेर छक्क परे । अनि मन्द मुस्कुराउँदै जवाफ दिए ।

“ज्ञान संसारमा यति धेरै छ, विश्व ज्ञानको भण्डार हो, त्यसको हामीले एउटा सानो अंश मात्रै प्राप्त गर्न सक्छौँ, भाइबहिनीहरुलाई जुन मसँग अथाह ज्ञानको भण्डार छ भन्ने लागेको छ, त्यो साँचो होइन”, उनीहरुको जिज्ञासा मेटाउँदै प्रधानमन्त्रीले थपे, “विश्वमा ज्ञानको भण्डार अथाह भएकाले आफूलाई चाहिने र विषयगत ज्ञान प्राप्त गर्नुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम थियो । चिटिक्क सजाइएको प्रतिष्ठानको हलमा प्रधानमन्त्री ओली स्काउटको पोसाकमा थिए । बालबालिका पनि स्काउट पोसाकमै थिए ।

उक्त कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न तेर्साए । प्रफुल्लित देखिएका प्रधानमन्त्री ओलीले पनि सहज र सरल रुपमा जिज्ञासा मेटाइदिए । बालबालिकासँग सवालजवाफ गर्न पाउँदा प्रधानमन्त्रीको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । प्रधानमन्त्रीसँग जिज्ञासा राखेर नजिकबाट नियाँल्न पाउँदा बालबालिकाहरु खुशी नहुने कुरै भएन ।
हेरौं यो भिडियोमा :

 

Logo